पर्यटकीय सम्भावना भएको माझीबस्ती निर्माण

आदित्य दाहाल

मेलम्ची, ३२ साउन । भूकम्पपछि मेलम्ची नगरपालिकाभित्रको पहिलो एकीकृत नमुना माझीबस्ती निर्माण भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ आरुबोटेको माझी समुदाय बर्खाकोे समयमा ओतलाग्ने नमुना भवन पाउने पहिलो समुदाय भएको छ ।

थाई नेपाली सङ्घ, थाइल्यान्डले भूकम्पपछि पिछडिएको वर्ग र भूकम्पले धेरै क्षति बनाएको स्थानको अवलोकनपश्चात् माझी बस्तीमा एकीकृत नमुना बस्ती निर्माण गर्ने लक्ष्यका साथ माझीबस्तीमा ४६ वटा भूकम्प प्रतिरोधात्मक बस्ती निर्माण गरिदिएको हो ।

असार–साउनमा अत्यधिक वर्षा हुने समयमा माझी गाउँका स्थानीयवासीले भने सजिलै आफ्नो ओतलाग्ने भवन पाएको महसुस गरेका छन् । नमुना माझी बस्तीमा ४६ घर, एक घर एक शौचालय, एक सामुदायिक भवन र खानेपानीको धारा निर्माण गरिएको स्थानीयवासी नारायणकृष्ण माझीले जानकारी दिनुभयो । उहाँले थाई नेपाली सङ्घकोे घर निर्माण कार्यले माझी बस्तीमा नयाँ किसिमको खुसी छाएको बताउनुभयो ।

अझै कतिपय स्थानमा भूकम्पपीडित टेन्टमै रहेको कुरा सुनेपनि आफूहरुले भने यस क्षेत्रमा र नगरपालिकाभित्रकै सबैभन्दा पहिले निर्माण भएको नमुना बस्तीमा बस्न पाउँदा निकै खुसी लागेको स्थानीय युवा शेरबहादुर माझीले बताउनुभयो ।

सुन्दर उक्त बस्तीको निर्माणले पर्यटकलाई समेत थप आकर्षित गर्ने र पर्यटनको प्रचुर सम्भावना रहेको छ भने नमुना बस्तीमा जानका निमित्त बनेको नवनिर्मित झोलुङ्गे पुलले पनि थप पर्यटकीय आकर्षण बढाउने विश्वास रहेको माझी बस्तीका शिक्षक पूर्ण माझीले बताउनुभयो ।

नमुना माझीबस्ती निर्माणमा सम्पूर्ण खर्च करिब रु एक करोड २० लाख लागेको थाई नेपाली सङ्घका उपाध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो । कार्कीले भूकम्पपछि पहिलो एकीकृत नमुना बस्ती निर्माण भएको आरुबोटे माझीगाउँमा पिछडिएको माझी बस्तीमा एकीकृत बस्ती निर्माणले राहत मिलेको बताउनुभयो ।

माछा मार्ने पुख्र्यौली पेसालाई अहिले पनि निरन्तरता दिँदै आएका माझी समुदायको नमुना बस्ती निर्माणपछि पनि सरकारले दिने थप सेवासुविधामा कुनै कटौती नहुने मेलम्ची नगरपालिकाका प्रमुख पूर्णप्रसाद दुलालले बताउनुभयो । नयाँ निर्माण गरिएको बस्तीका घर भूकम्प प्रतिरोधात्मक हुनुका साथै आन्तरिक र विदेशी पर्यटकलाई आकर्षित गर्ने तथा विभिन्न चलचित्रको छायाङ्कनका लागिसमेत उपयुक्त रहेका छन् ।

थाई नेपाली सङ्घ, थाइल्यान्डको सहयोगमा निर्माण गरिएको उक्त बस्तीको उद्घाटन केही महिनाअघि नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर एवम् तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले गर्नुभएको थियो । भूकम्पले माझी बस्तीका ६५ घरकटेरा ध्वस्त हुनुका साथै दुई बालबालिकासहित पाँचजनाको मृत्यु भएको थियो ।


Facebook Comment


No ads found for this position