पर्यटकीय गाउँ बनाउन कस्सिए स्थानीय

फिरफिरे (तनहुँ) — चरिरहेको बाख्रा एक्कासि हराएपछि खोज्ने क्रममा जमिनभित्रबाट कराएको सुनियो । लगातार आवाज आइरहेपछि सानो चेपबाट स्थानीय बासिन्दा डोरीको सहायताले आफैं भित्र पसे । बाख्रा त्यहीँ भेटियो । बुझ्दै जाँदा त्यो त गुफा पो रहेछ । त्यसअघि उनीहरूलाई यसको सुइँकोसम्म थिएन ।

सन् २००० मा विदेशी भूगर्भविद्सहितको टोलीले यहाँ गुफा रहेको पुष्टि गर्‍यो।त्यसयता उक्त गुफा ‘मिलेनियम’ नामबाट चिनियो। उक्त गाउँ नै गतिलो ट्रेकिङ रुट बन्न पुग्यो। स्वदेशी र विदेशी पर्यटक आउन थाले । खानेबस्नेलगायत सुविधा अभाव र सशस्त्र द्वन्द्वका कारण केही वर्षमै फेरि ओझेल पर्न गयो ।

लालप्रसाद शर्मा तनहुँ र स्याङ्जा सीमाको खोलासँगै भिरालो जमिनभित्र मन्दिर आकारको (तल फराकिलो र माथि साँघुरिँदै गएको) छ गुफा । भित्र दुइटा झरना छन् । हिउँदमा नसुक्ने र वर्षायाममा पनि ठूलो नहुने झरनाको पानी भूमिगतरूपमै खोलामा मिसिएको छ । फेद ५० मिटर लामो र त्यति नै उचाइको छ यो गुफा । भित्तामा चमेराका बथान सहजै देख्न सकिन्छ ।

झरनाको कलकलसँगै ध्यान, योगा गर्न सकिने गुफा समेटेर मिलेनियम ट्रेकमार्फत गाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने योजनामा गाउँले जुटेका छन् । यसै क्रममा फिरफिरे, घरेडी गाउँबासीले होमस्टे सञ्चालन थालेका छन् । उनीहरू समिति नै गठन गरी गुफा संरक्षण र प्रवद्र्धनमा लागेका छन् । ‘माल भएर चाल नपाएजस्तो भयो । सबै कुराको मेसो नमिल्दा समस्या भयो,’ स्थानीय नरबहादुर गुरुङले भने, ‘अब आँखा खुलेका छन् ।’ यो ठाउँ शुक्लागण्डकी नगरपालिका–१२ मा पर्छ ।

सुरुका केही वर्ष यहाँ दिनहुँजसो आन्तरिक र बाह्य पर्यटक आइरहने गरेकामा अहिले फाट्टफुट्ट मात्र आउँछन् । गतिलो पर्यटकीय ‘प्रोडक्ट’ बाट पर्याप्त फाइदा लिन नसकिएको भन्दै स्थानीय आफैं यसको प्रवद्र्धनमा कस्सिएका छन् । नगरपालिकाले पनि वातावरण र पर्यावरणमैत्री वडा बनाउने योजना अघि सारेको छ । गुफा प्रचारलगायत घरेडी गाउँमा होमस्टे व्यवस्थापनका लागि सहयोग गरिरहेको वडाध्यक्ष मनराज गुरुङले बताए । ‘शान्त र प्राकृतिक रूपले सुन्दर गाउँमा पर्यटकीय विकासका लागि केही सूचक तयार पारिएको छ,’ उनले भने, ‘विगतका कमीकमजोरी सुधारेर पर्यटकीय गन्तव्य बनाउन लागेका छौं ।’ २०५७ फागुन ७ मा गुफा पत्ता लागेपछि यसको निकै प्रचार पनि भयो । सुरुमा निकै पर्यटक आए पनि व्यवस्थापन कमजोरीले पछिल्लो समय आवागमन घटेको उनले बताए ।

बासलगायत पूर्वाधार विकास हुन नसक्दा पर्यटकीय गतिविधि घटेको ठहर गर्दै घरेडीवासीले होमस्टे सुरु गरेका हुन् । यसका लागि मिलेनियम पर्यटन विकास समिति र मिलेनियम होमस्टे समिति गठन गरिएको छ । सुरुमा १५ घरमा होमस्टे सञ्चालन तयारी भएको र यिनमा ६० जना अट्ने होमस्टे समिति सचिव चित्रबहादुर गुरुङले बताए । ‘पर्यटकीय गतिविधि बढाउन पूर्वाधार पहिलो सर्त रहेछ,’ उनले भने, ‘होमस्टेसँगै सांस्कृतिक टोली र संग्रहालय बनाउने योजना छ ।’

पछिल्लो समय सडक सञ्जालले जोडिएको र स्थानीयवासी पनि उत्साही भएकाले पर्यटकीय गन्तव्य बन्नेमा वडाध्यक्ष गुरुङ विश्वस्त छन् । ६६ घर रहेको गाउँमा ८ ठकुरी, ४ ब्राह्मण, ११ दलित परिवार र बाँकी सबै गुरुङ छन् । तीन सय गाउँमा होमस्टे सञ्चालन गर्ने प्रदेश सरकारको अभियानलाई यो गाउँले पनि योगदान पुर्‍याउन सक्छ । गाउँ पुग्ने पर्यटकलाई मकै र चियाले स्वागत गरिन्छ । दुई छाक खाना र खाजाको १ हजार रुपैयाँ लिइन्छ । गाउँबाट १५ मिनेट हिँडेपछि गुफा पुगिन्छ । यहाँ पुग्न पृथ्वी राजमार्गको दुलेगौंडाबाट १५ किलोमिटर जिप यात्रा वा पोखराको भरतपोखरी प्युरीदोभानबाट ३ घण्टा हिँड्नुपर्छ । दुलेगौंडाबाट सेती नदीमाथिको रक गार्डेन, ढोरबाराही मन्दिर, पुरानो दरवारको भग्नावशेष पनि हेर्न सकिन्छ । ‘डाँडाबाट हिमाल पनि हेर्न पाइन्छ,’ होमस्टे सञ्चालक लालमाया गुरुङ भन्छिन्, ‘हामीले पाहुनालाई गाउँमै उत्पादित अर्गानिक खाना दिन्छौं ।’ पाहुनाकै लागि स्थानीयले लोकल कुखुरा संरक्षण अभियान थालेका छन् । अर्गानिक तरकारी, कोदो, मकैको परिकार, दूध, दही, महलगायत खान पाइन्छ ।

यहाँ अन्यत्रभन्दा फरक खालको सालैजो–ठाडोभाका सुनाइन्छ । ‘हामीले यसको जगेर्ना गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना बनाएका छौं,’ वडाध्यक्ष गुरुङले भने, ‘प्रकृति, संस्कृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम तथा विविध जातजाति र वेशभूषाले भरिपूर्ण गाउँ पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।’ यहाँको भूगोल १२७५ मिटर उचाइमा छ । गुरुयोजना बन्दै गुफासँगै मिलेनियम ट्रेकिङ रुट विकास र प्रवद्र्धनका लागि गुरुयोजना बनाउन लागिएको यस क्षेत्रलाई चिनाउन लागिपरेका पर्यटन व्यवसायी डम्बर केसीले बताए । ‘पूर्वाधार विकास, ट्रेकिङ रुट र गाउँलाई व्यवस्थित बनाउन गुरुयोजना बनाउन लागेका हौं,’ उनले भने, ‘सडक स्तरोन्नति पनि गुरुयोजनाले समेटेको छ ।’ अहिले पनि ट्रेकिङका लागि विदेशीहरू आइरहेकाले स्थानीय उत्साही भएको गुरुयोजना निर्माण समितिका
संयोजकसमेत रहेका केसीले बताए । यहाँ दुलेगौंडा, घरेडी हुँदै कोल्माबहाकोट, राङभाङ, माझकोट, मनकामना हुँदै सिद्धार्थ राजमार्गको रामबाच्छा निस्कन सकिन्छ । यो ५ देखि ६ दिनको ट्रेकिङ रुट हो ।

तनहुँको फिरफिरे घरेडी गाउँमा२०५७ सालमा पत्ता लागेको गुफा।


Facebook Comment


No ads found for this position