पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु

बबियाचौर, म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो । 

पर्यटक याममा दैनिक ५०० देखि ७०० जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित शौचालय नहुँदा समस्या भएको थियो । पुनहिलको सरसफाइ र पर्यटकको सहजताका लागि रु १७ लाखको लागतमा शौचालय निर्माण कार्य शुरु भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनले बताउनुभयो ।

घोडेपानीदेखि पुनहिल जाने पदमार्गको प्रवेशद्वार, नेपाल टेलिकमको टावर रहेको डाँडा र पुनहिल परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । विशिष्ट व्यक्तिसमेत आउने भएकाले उनीहरुलाई लक्षित गरेर आधुनिक शैलीको शौचालय बनाइने घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले बताउनुभयो ।

आगामी चैत महिनाअघि नै सार्वजनिक शौचालय निर्माण गरिसक्ने लक्ष्य छ । उच्च स्थानमा अवस्थित सो ठाउँमा पानीको सुविधा नभएकाले शौचालयमा प्रयोग गर्न आकाशे पानी संकलन गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

भ्रमणमा आउने पर्यटक र होटल व्यवसायीबाट सहयोग जुटाएर शौचालय निर्माण गर्न लागिएको उपाध्यक्ष पुनले बताउनुभयो । होटल व्यवस्थापन उपसमितिले यसअघि घोडेपानी र पुनहिल जाने पदमार्गमा चार वटा प्रवेशद्वार निर्माण गरेका थिए ।

यसैगरी चार किमीभन्दा बढी व्यवस्थित पदमार्ग निर्माण गरेका छन् । गुराँसे जंगलको बीचको डाँडामा अवस्थित पुनहिलबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«ेलगायत १६ वटा हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने पुनहिल अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तरगत प्रमुख पर्यटकीय गन्तव्य हो ।

घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै दृष्य अवलोकनका लागि पुनहिल जाने गर्छन् । असोज–कात्तिक–मंसिर, फागुन–चैत र वैशाख महिनामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।


Facebook Comment


No ads found for this position