पन्ध्र लाख पर्यटक भित्र्याउने दाबी

काठमाडौँ — विगतमा चलाइएका विभिन्न प्रवर्द्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको निष्कर्ष निकाल्दै सरकारले सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ ।

सन् १९९८ देखिको १० लाख पर्यटक पुर्‍याउने लक्ष्य सन् २०१७ मा सार्थक भएको थियो । सरकारले ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर २०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ लाई नै घुमफिर वर्ष मनाएको थियो । यसबीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए । सन् २०१५ मा गएको गोरखा भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो । सन् २०१६ मा साढे सात लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए ।वर्तमान वाम गठबन्धनले आफनो निर्वाचन घोषणापत्रमै ५० लाख पर्यटक पुर्‍याउने उल्लेख गरेको छ । गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पुर्‍याउन यस्ता अभियानले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार पदबहालीका क्रममा पहिलो नीतिगत निर्णय गर्दै सन् २०२० मा १५ लाख पर्यटक पुर्‍याउने लक्ष्यसहित प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिने बताए । उक्त निर्णयअनुसार एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारतमा केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीव्रता दिइनेछ ।पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले अभियानलाई सफल बनाउन मन्त्रालयले सम्पूर्ण ध्यान केन्द्रित गरी निजी क्षेत्रको साझेदारीलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

‘पर्यटक बढाउन मुख्य पूर्वाधार निर्माण नै हो, त्यसपछि पर्यटन प्रवद्र्धन र बजारीकरणलाई प्रभावकारी ढंगले अघि बढाइन्छ ।’मन्त्री अधिकारीको पहिलो निर्णयमा पोखरा विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम र विमानस्थलको चापलाई कम गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखरा विमानस्थललाई ‘अप्रेसन बेस’ का रूपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार विकास शीघ्र सुरु गर्ने भनिएको छ । युरोपेली संघ (ईयू) को सुरक्षा सूचीबाट सन् २०१८ भित्र हटाइसक्ने गरी आवश्यक तयारी थाल्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

मन्त्री अधिकारीले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा अहिले पर्यटन क्षेत्रको करिब सात प्रतिशत योगदान रहेको र यसलाई २५ प्रतिशत पुर्‍याउने लक्ष्यसहित पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने खाँचो औंल्याए । सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको एक महिनाभित्र ढाँचा (मोडल) यकिन गरी निर्माणकार्य शीघ्र अघि बढाउन पनि निर्देशन दिए । यता पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले पनि सरकारी घोषणाअनुरूप पर्यटक बढाउन प्रवद्र्धनात्मक अभियानलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन केन्द्रित भएर काम सुरु गरिने बताए । उनका अनुसार विदेशी पर्यटकलाई आकर्षण गर्नका लागि प्रवद्र्धनात्मक अभियानअन्तर्गत अन्तर्राष्ट्रिय विभिन्न माध्यमको प्रयोग, नयाँ स्रोत बजारको पहिचान र प्रवद्र्धन तथा छिमेकी मुलुक भारत र चीनलाई लक्षित बजारीकरणलाई तीव्रता दिइनेछ ।पर्यटकीय पूर्वाधारको मुख्य आधार निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई शीघ्र रूपमा अघि बढाउन सरकार तथा निजी क्षेत्रको विशेष चासोको विषय
बनेको छ । सरकारले पनि यी विमानस्थल निर्माणलाई उच्च प्राथमिकता राख्नु र निजी क्षेत्रले पनि पर्यटकीय पूर्वाधारमा लगानी बढाइनुले आगामी दिन थप पर्यटनमैत्री हुने विश्वास गरिएको छ ।


Facebook Comment


No ads found for this position