नौ अर्बका दूरसञ्चार उपकरण भित्रिए

काठमाडौं : नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार कम्पनीले गत वर्ष नौ अर्ब ४० करोड रुपैयाँका उपकरण खरिद गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले दिएको तथ्यांकअनुसार नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकसहितका इन्टरनेट सेवाप्रदायकले आव २०७३÷७४ मा मात्रै नेटवर्क विस्तार, प्रविधि तथा सेवाको गुुणस्तर सुुधार गर्न उक्त रकमबराबरका उपकरण खरिदका लागि अनुमति लिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

उनले प्राधिकरणले सिफारिस नगरेसम्म टेलिकम सेवाप्रदायकले आवश्यक उपकरण ल्याउन नपाउने उल्लेख गरे। टेलिकम तथा इन्टरनेट सेवाप्रदायकले ल्याउने यस्ता उपकरण यो क्षेत्रमा गरिएको लगानी भएको पनि उनले जानकारी दिए। प्राधिकरणको सिफारिसपछि सेवाप्रदायकले उपकरण खरिद गरी सेवा तथा गुणस्तरमा सुधार गर्ने गरेको उनले उल्लेख गरे।

गत आवमा सबैभन्दा बढी रकमको उपकरण भित्र्याउनेमा एनसेल अग्र स्थानमा छ। एनसेलले गत आवमा चार अर्बको उपकरण आयात गरेको बताइएको छ। नेपाल टेलिकमले पनि तीन अर्बको दूरसञ्चार उपकरण आयात गरेको छ। हाल दूरसञ्चार सेवामा तेस्रो प्रतिस्पर्धीको रूपमा आउन चाहेको स्मार्ट टेलिकमले दुई अर्ब आठ करोड रुपैयाँका सामान आयात गरेको छ। यो कम्पनीले चालू आवमा पनि दुई अर्बको उपकरण आयात गर्न सिफारिस माग गरेको प्राधिकरणले जानकारी दिएको छ।

गत वर्ष विभिन्न सेवाप्रदायकबाट दुई अर्ब ८२ करोड रुपैयाँबराबरका उपकरण खरिद गर्न प्राधिकरणसमक्ष सिफारिसका लागि अनुरोध गरिएको थियो। भूकम्प र नाकाबन्दीको प्रभावले अघिल्लो आवमा अन्य वर्षको तुलनामा कम उपकरण आयात भएको देखिन्छ। आव २०७१÷०७२ मा नेपाल टेलिकम, एनसेल, स्मार्ट, आईफोर टेक्नोलोजी र कन्ट्रलेसनले मात्रै तीन अर्ब ८२ करोड रुपैयाँको उपकरण आयात गरेका थिए।

स्मार्टद्वारा फोरजी चलाउन थप दुई महिना माग

गत साउन १५ गतेदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट फोरजी सेवा सञ्चालन अनुुमति पाएको स्मार्ट टेलिकमले समयमा दूरसञ्चार उपकरण नआएको र तयारी गर्दा गर्दै नभ्याएको भन्दै थप दुई महिना समय माग गरेको छ। प्राधिकरणका प्रवक्ता अर्यालले यो कम्पनीले ३५० वटा बीटीएस टावर जडान गरिसकेको, ५० वटा जडानको क्रममा रहेको र २१३ वटा जडान गर्न उपकरण ल्याउने काम भइरहको जानकारी दिए। स्मार्टले काठमाडौंमा फोरजी सेवा सञ्चालन गर्न उक्त पूर्वाधार विस्तारको कामलाई गति दिइरहकाले पनि थप समय माग गरेको स्मार्टले प्राधिकरणसमक्ष पेस गरेको लिखित आग्रहमा उल्लेख छ।

यो कम्पनीले गत वर्ष नै चार अर्ब रुपैयाँको उपकरण आयात गर्न चाहेको थियो। डाटा सेवामा टूजी सेवा प्रदान गरिरहेको यो सेवाप्रदायकले थ्रीजीमा जान उक्त रकमको उपकरण आयात गर्न अनुमति मागेको भए पनि पछिल्लो पटक नेपालमा भित्रिएको फोरजी सेवामा अपग्रेड गर्न र सो सेवाप्रदायकका लागि दुई अर्बको टेन्डर रद्द गरेर सिधै टूजीबाट फोरजीमा गएको उल्लेख छ। यो कम्पनीले फोरजी सेवाका लागि आवश्यक गृहकार्य गरिहेको जानकारी दिएको छ। फोरजी सेवाका लागि आवश्यक उपकरण ल्याउन कम्पनीले चालू आवमा अनुुमति मागेको प्राधिकरणले जनाएको छ।

दूरसञ्चार उपकरणमा लगानी

कम्पनीको नाम आव २०७३÷७४
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ३ अर्ब ११ करोड
एनसेल ४ अर्ब २ करोड
स्मार्ट टेलिकम २ अर्ब ८ करोड
मर्कन्टायल कम्युनिकेसन १७ करोड ४५ लाख
नेपाल वायरलेस ६० लाख
कन्ट्रलेसन प्रालि ३९ लाख
वल्र्ड लिंक कम्युनिकेसन १ लाख ७ हजार
कुल ९ अर्ब ४० करोड ९९ लाख
तथ्यांकः स्रोत नेपाल दूरसञ्चार प्राधिकरण


Facebook Comment


No ads found for this position