नेपाल वायुसेवा निगमका जहाज थन्किए

 काठमाडौँ — चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् ।पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा सुलभ हवाई सेवा पुर्‍याउन भनी ल्याइएका जहाज ग्राउन्डेड भएका हुन् । निगमका अनुसार यी जहाज अझै कम्तीमा १० दिन उड्ने छैनन् ।निगमको अपरेसन विभाग (पाइलटहरू कार्यरत) ले बुधबार १० दिनका लागि बनाएको रोस्टर (उडान तालिका) मा क्याप्टेन अभावका कारण वाई १२ई अझै १० दिन ग्राउन्डेड हुने उल्लेख छ । निगम स्रोतले उपलब्ध गराएको उक्त रोस्टरमा वाई १२ई उडाउन निगममा भर्ती भएका पाँच पाइलटमध्ये २ जनाले बिरामी बिदा लिएको र २ जनाले राजीनामा दिएका कारण क्याप्टेन अभाव भएको उल्लेख छ । निगम व्यवस्थापनले लाइसेन्स अपडेट नगरेकाले एक पाइलट भने उडान भर्न अयोग्य छन् ।
 जहाजको कमान्डर भनिने मुख्य पाइलट (क्याप्टेन) को अभावमा १६ जना यात्रु क्षमताका चारवटै वाई १२ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् । निगमका एक इन्जिनियरका अनुसार पाँच जनामध्ये निपेन्द्र भट्टराई र सञ्जय बादे श्रेष्ठ बिरामी बिदामा छन् । चिनियाँ विमानका लागि प्रशिक्षक पाइलटका रूपमा आङनुरी शेर्पालाई मासिक साढे ५ लाख रुपैयाँ दिई करारमा नियुक्त गरिएको थियो । तर प्रशिक्षक पाइलट शेर्पा गुटबन्दीका कारण राजीनामा दिई अमेरिका लागेका छन् । अर्का पाइलट अनिशमान शाक्यले पनि राजीनामा दिएका छन् । तर, यी दुवैको राजीनामा निगम व्यवस्थापनले स्वीकृत गरिनसकेको स्रोतले बतायो ।
 अर्का पाइलट उद्धव घिमिरेको लाइसेन्स अपडेट गरिएको छैन । आठ महिनासम्म लगातार वाई १२ई उडाएका क्याप्टेन घिमिरेको लाइन्सेन्स अपडेट गर्न प्रशिक्षक पाइलटले जाँच्नुपर्छ । यो निगमको जिम्मेवारी हो । निगमले लाइसेन्स अपडेट नगरिदिएका कारण उनी कामविहीन छन् । निगम सञ्चालक समितिका एक पदाधिकारीका अनुसार अपरेसन विभागमा कार्यरत पाइलटहरूको गुटबन्दीले वाई १२ई को उडान ठप्प भएको हो । विभागका प्रमुख सुवास रिजालले एयरबसको तालिममा आफ्नो
गुटसँग नजिक रहेकालाई मात्र पठाउने गरेकोमा निगमभित्र तीव्र असन्तुष्टि छ । निगमभित्र रिजाल समूह र थकाली समूह नामका दुइटा गुट छन् ।
 रिजाल समूहको नेतृत्व अपरेसन विभागका निर्देशक रिजाल (एयरबसका पाइलट) हुन् भने थकाली समूहको नेतृत्वमा पूर्वअपरेसन विभाग प्रमुख रवीन्द्र शेरचन (बोइङका क्याप्टेन) देखिन्छन् । यी दुई समूहको गुटबन्दीका कारण निगमका जहाज नियमित छैनन् भने पाइटलहरू दुई खेमामा विभाजित छन् ।
गत साता एमाले निकट कर्मचारी युनियनसहित तीन दल निकट कर्मचारी नेताहरूले महाप्रबन्धक सुगतरत्न कंसाकार र अपरेसन विभागलाई जहाजको संख्या थपिएसँगै उडान संख्या वृद्धि गर्न र पाइलट थप्न दबाब दिएका थिए ।
 सरकारले दुर्गमका बासिन्दालाई सुलभ दरमा हवाई सेवा उपलब्ध गराउन २०७० मंसिरमा चीन सरकारसँग ६ अर्ब ६७ करोड ऋण तथा अनुदान सम्झौता गरी दुइटा एमए ६० र चारवटा वाई १२ई खरिद सम्झौता गरेको थियो । तीमध्ये २०७१ कात्तिकमा एउटा र २०७३ फागुनमा अर्काे वाई १२ई जहाज ल्याइएको थियो । सम्झौताको ४ वर्षपछि बाँकी दुई जहाज फागुन १ मा ल्याइएका थिए, जसको भन्सार शुल्कसमेत फरफारकगरिएको छैन ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position