नेपाल घुम्न आउने पर्यटकको बसाइ अवधि घट्याे, यस्ताे छ तालिका

केदार दाहाल नेपाल घुम्न आउने पर्यटकको नेपाल बसाइ अवधि घटेको छ । पछिल्लो तीन वर्षको तथ्यांकमा भन्दा सन् २०१७ मा बसाइ अवधि घटेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा एक पर्यटक जम्मा १२.६ दिन नेपाल बसेर फर्केका छन् ।
सन् २०१७ मा अहिलेसम्मकै बढी ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिएका थिए । तर, बसाइ अवधि भने घटेको हो, जुन ३ वर्षयताकै कम हो । सन् २००९ मा पर्यटकको बसाइ अवधि ११.३२ दिन थियो ।
सन् २०१६ मा पर्यटकको बसाइ अवधि १३.४ दिन रहेको थियो । उक्त वर्ष ७ लाख ५३ हजार २ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१५ मा बसाइ अवधि १३.१६ दिन थियो । भूकम्पका कारण पर्यटक आगमनमै गिरावट आएको उक्त वर्षसमेत बसाइ अवधि बढेकोमा यसवर्ष भने घटेको हो ।
उक्त वर्ष ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१४ मा १२.४४ दिन पर्यटक नेपाल बसेका थिए भने ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
नयाँ गन्तव्य र प्रडक्टको विकासमा चुक्दै जाँदा पर्यटकहरूको बसाइ अवधि नलम्बिएको बताउँछन् होटल संघ नेपाल (हान) का महासचिव विनायक शाह । “पर्यटकलाई नयाँ कुराहरू देखाएर नेपालमा राख्न सकेका छैनौं, जसका कारण पर्यटक बस्ने अवधि घटेको हो,” शाहले भने ।
नेपालका खासगरी काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा मात्रै बढी पर्यटक जाने गरेका छन् । नेपालमा अन्य भागमा पूर्वाधार खडा गर्न नसक्दा पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकिएको हो ।
सन २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ११.४६ प्रतिशतले बढी हो ।
गत वर्ष तीन महिनामा दुई लाख ५३ हजार नौ सय ८४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यही वृद्धिदर कायम रहे सन् २०१८ को अन्त्यसम्ममा ११ लाख पर्यटक हाराहरी नेपाल भित्रिने अनुमान छ ।साभार काराेबार


Facebook Comment


No ads found for this position