नेपाली हवाई यात्रुको बिमा रकम अब १ करोड ६० लाख

काठमाडौं – हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपाली यात्रुको बिमा रकम प्रतियात्रु १ लाख ६० हजार अमेरिकी डलर (१ करोड ६० लाख रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसदले सर्वसम्मतिले पारित गरेको छ।

मन्त्रिपरिषदले गत साउन पहिलो साता यो प्रस्तावलाई संसद पठाउने निर्णय  गरेको थियो। त्यसपछि संसदमा यसबारे दफावार छलफल भएको थियो । त्यसपछि बिहीबार संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ मुलुकको हकमा स्पष्ट गरेको घोषणासहित पारित गरियोस् भनी उक्त प्रस्ताव पेस गरेका थिए।

त्यसपछि सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्तावको पक्षमा बहुमत सदस्यले हुन्छ भनेपछि सभामुख महराले उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए।

पर्यटन मन्त्री अधिकारीका अनुसार संसदबाट सर्वसम्मतिले पारित भएको यो प्रस्तावसम्बन्धी पत्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मा पठाइने छ। त्यसपछि नेपालमा ‘मोन्ट्रियल महासन्धि १९९९’ कार्यान्वयनमा आउँछ । यसका लागि अधिकतम दुई महिना लाग्ने छ।

‘मोन्ट्रियल महासन्धि कार्यान्वयनमा आउनु भनेको हवाई मार्गबाट विदेश आवागमन गर्ने प्रत्येक नेपालीको बिमा रकम अधिकतम १ करोड ६० लाख रुपैयाँसम्म पुग्नु हो,’ मन्त्री अधिकारीले नागरिकसँग भने,‘यसमा हामी लगभग सतप्रतिशत सफल भएका छौं।’

उनका अनुसार मोन्ट्रिय महासन्धिको नेपाल पक्ष राष्ट्र हुँदा नेपाललाई थप आर्थिक दायित्व बहन गर्नु नपर्ने, नेपालमा उडान गर्ने पर्यटन तथा यात्रुहरूको मनोवल उच्च हुने, हवाई उडानबाहकको दायित्वलाई  अझ बढी सुनिश्चित गर्दै यात्रुले उचित क्षतिपूर्ति पाउनेछन्। त्यसैगरी अग्रिम क्षतिपूर्ति भुक्तानी र दाबी गर्ने अधिकार क्षेत्रको छनोटजस्ता यात्रुमैत्री प्रावधानबाट हवाई यात्रुले उचित क्षतिपूर्ति पाउने देखिन्छ।

हाल हवाई मार्गबाट विदेश आवागमन गर्दा वायुसेवा कम्पनीले नेपालीको बिमा रकम प्रतियात्रु २० हजार अमेरिकी डलर (२० लाख रुपैयाँ) मात्र गरिरहेका छन् र यस्तो नियममा ६३ वर्षदेखि कुनै परिवर्तन आएको छैन। सरकारले यस्तो गम्भीर विषयमा लामो समयदेखि चासो नदिँदा नेपाली यात्रु विदेशी यात्रुको दाँजोमा विभेदको शिकार हुँदै आएका छन् ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई मार्गबाट विदेश आवागमन गर्ने नेपालीको बिमा रकम प्रतियात्रु २० हजार डलर (२० लाख रुपैयाँ) बराबर हुने भनेर सन् १९५५ मा नेपालले ‘हेग प्रोटोकल’ मा हस्ताक्षर गरेको थियो । यो प्रोटोकल १९२९ मा बनेको ‘वार्सा अभिसन्धि’ को संशोधित रूप हो । त्यसयता जहाजमा विदेश आवागमन गर्ने नेपालीको बिमा रकम २० हजार डलरबाट माथि जान सकेको छैन।

त्यसपछि पुनः सन् १९९९ मा क्यानडाको मोन्ट्रियलमा भएको ‘मोन्ट्रियल महासन्धि’ ले हवाई यात्रुको बिमा रकम वृद्धि गरी १ लाख ६० हजार डलरहाराहारी पु-याएको थियो । यो महासन्धिलाई आइकाओका १ सय ९१ सदस्य राष्ट्रमध्ये १ सय ३१ ले कार्यान्वयनमा ल्याएका छन्। नेपाल आइकाओको सदस्य भएका कारण त्यही बेला यो महासन्धि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो। तर, दक्षिण एसियामा अब बंगलादेशले मात्र यो महासन्धिलाई कार्यान्वयन नगर्नेमा परेको छ।

सन् २०१२ मा आइकाओका अध्यक्षले नेपाल भ्रमण गरेका बेला यहाँका राष्ट्रपति, प्रधानमन्त्री, पर्यटन मन्त्रीलगायत उच्च सरकारी अधिकारीलाई भेटेर मोन्ट्रियल अहासन्धि कार्यान्वयन तथा उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउन आग्रह गरेका थिए।

त्यसबेला सरकारले पुनः प्रतिबद्धता जनाएको थियो । तर, ६ वर्षपछि अहिले आएर मोन्ट्रियल महासन्धि कार्यान्वयनमा आउने अन्तिम चरणमा पुगेको हो । त्यसयता आइकाओले धेरै पटक नेपालको ध्यानाकर्षण गराएको थियो।

‘मोन्ट्रियल महासन्धि कार्यान्वयन गर्ने हाम्रो विगतकै प्रतिबद्धता हो । आइकाओको सदस्य राष्ट्र भएका कारण यात्रुको हकहितका लागि यसका नीति, नियम, सिद्धान्त पालना गर्नु कर्तव्य पनि हो,’ उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘हाम्रा वायुसेवाले विदेश उडान गर्दा त्यसमा सवार विदेशी यात्रुको बिमा डेढ करोड रुपैयाँभन्दा बढी नै हुन्छ तर नेपालीको भने उही २० लाख रुपैयाँमात्रै थियो र आज संसदबाट पारित भएपछि यस्तो असमानता हटेको छ।’

हालका लागि अन्तर्राष्ट्रिय उडानमा यो नियम कार्यान्वयन हुने निश्चित भए पनि आन्तरिक उडानमा समेत नेपाली यात्रुको बिमा रकम ७५ हजार डलर (७५ लाख रुपैयाँ) हाराहारी पु¥याउने योजना रहेको पर्यटन मन्त्री अधिकारीले जानकारी दिए । ‘हामी सम्भवतः एक वर्षभित्र यो नियमसमेत कार्यान्वयनमा ल्याउने गरी काम गरिरहेका छौं,’ उनले भने।


Facebook Comment


No ads found for this position