नेपालले चीनलाई दुई जोडी विश्वमै दुर्लभ एकसिंगे गैंडा उपहार

rahino listअब्दुल्लाह मियाँ

चीनलाई दुई जोडी गैंडा उपहारनेपालले छिमेकी चीनलाई विश्वमै दुर्लभ एकसिंगे गैंडा दुई जोडी उपहार दिने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो निर्णय लिएको हो ।यसअघि तत्कालीन शाहीकालीन सरकारले १६ फागुन २०६२ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैंडा उपहार दिएको थियो ।

वनमन्त्री अग्निप्रसाद सापकोटाको आग्रहअनुसार मन्त्रालयले चीनलाई दुई जोडी गैंडा उपहार दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । गत माघमा चीन भ्रमणमा गएका बेला वनमन्त्री सापकोटासँग चीनका समकक्षी ‘स्टेट फरेस्ट्री एडमनिस्ट्रेसन’का मन्त्री झाङ जियाङले उपहारस्वरूप दुई जोडी गैंडा उपहार मागेका थिए । चीनबाट फर्केलगत्तै सापकोटाले प्रधानमन्त्री केपी ओलीसमक्ष उक्त प्रस्ताव राखेका थिए । मन्त्री सापकोटाका अनुसार प्रधानमन्त्रीले त्यतिबेलै उपहार दिन सहमति जनाएका थिए ।

 नेपालमा गैंडाको संरक्षण तथा संवद्र्धनको जिम्मा लिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘एक जोडी मात्र’ दिन उपयुक्त हुने अडान लिए पनि मन्त्री सापकोटाले दुई जोडीमा अडान लिएको स्रोतको दाबी छ । विदेशी मुलुक र व्यक्तिलाई वन्यजन्तु उपहार दिनेबारे हामीकहाँ अहिलेसम्म स्पष्ट नीति छैन ।

 राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक डा.महेश्वर ढकालले भने गैंडा उपहार दिने प्रक्रिया अघि बढाउनुअघि विशेषज्ञ सम्मिलित समितिमा बृहत् छलफल भएको बताए । ‘दुर्लभ वन्यजन्तु गैंडाको संख्या बढाउने सकारात्मक मनसायले मागेकाले उपहार दिँदा नेपालको राम्रो सन्देश जाने ठहर गरियो,’ डा.ढकालले आइतबार कान्तिपुरलाई भने, ‘त्यसैअनुसार यो निर्णय भएको हो ।’ समितिमा ढकाल संयोजक छन् भने डब्लूडब्लूएफ नेपालका विज्ञहरू डा.शान्तराज ज्ञवाली, डा.कञ्चन थापा र शिवराज भट्ट, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट डा.नरेश सुवेदी तथा बीसीएनबाट डा.नरेन्द्रमान बाबु प्रधान सदस्य छन् । अन्य विषयगत विज्ञलाई पनि उक्त समितिको बैठकमा बोलाइन्छ ।

सम्भवत: चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएकै बेला ती गैंडा हस्तान्तरण गर्ने गरी मन्त्रालयले आन्तरिक तयारीसमेत गरेको स्रोतले बतायो । चितवन निकुञ्जबाट काठमाडौं ल्याएर गैंडा चीनलाई हस्तान्तरण गरिनेछ । चीन वन्यजन्तुका अंगको बेचबिखन हुने विश्वमै अग्रणी मुलुक हो । गैंडा गणना २०१५ अनुसार नेपालमा चितवन र बर्दिया निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा आरक्षमा जम्मा ५ सय ४५ गैंडा छन् ।

विगतमा आफ्नो देशमा पनि गैंडा भएको र विविध कारणले मासिएकाले फेरि गैंडाको संख्या बढाउन चाहेको भन्दै चिनियाँ वनमन्त्रीले गत माघमा चीन भ्रमणका क्रममा मन्त्री सापकोटासँग गैंडा मागेका थिए । यद्यपि नेपालबाट लगिएका गैंडा चीनको कुन क्षेत्रमा राखिनेछ भन्ने अहिले नै टुंगो लागिसकेको छैन ।

डा. ढकालका अनुसार संरक्षण शिक्षा, पर्यापर्यटन र क्याप्टिभ ब्रिडिङमा नेपाली गैंडा प्रयोग गरिनेछ । गैंडाविज्ञ डा.नरेश सुवेदीले चीनमा ‘चितवन बर्दिया जस्तो हावापानी भएका थुप्रै ठाउँ’ भएकाले त्यहाँ पनि बाँच्न सक्ने बताए । उनले भने, ‘गैंडाको जीनमै धेरै गर्मी र धेरै जाडो खप्न सक्ने क्षमता हुन्छ,’ त्यसैले त्यहाँ (चीनमा) पनि बाँच्न र प्रजनन गर्न सक्छ ।’ डा.सुवेदीले एकाध गैंडा उपहार दिँदैमा मुलुकका अरू गैंडालाई असर नपरे पनि उपहार दिइएका गैंडाबाट जन्मिएका अरू सन्तानबारे आफ्नो अधिकार सुनिश्चित गर्नु उपयुक्त हुने तर्क गरे ।

‘उपहारसँगै गैंडा संरक्षणमा पनि हातेमालो हुन सके विश्वभर सकारात्मक सन्देश जान्छ,’ उनको सुझाव छ । निकुञ्ज विभागका पूर्वमहानिर्देशक श्याम बजिमयले सम्बन्ध विस्तारका लागि मात्रै वन्यजन्तु उपहारलाई बढावा दिन नहुने टिप्पणी गरे । ‘एकतर्फी उपहारले मात्र कुनै अर्थ राख्दैन,’ उनले भने, ‘वन्यजन्तुको अपराध नियन्त्रणमा थुप्रै चुनौती रहेकाले उसले पनि वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणमा सहयोग गर्न तत्पर हुनुपर्छ ।’ हुनत, चीनले एकसिंगे गैंडा दिएबापत नेपाललाई आर्थिक सहयोग गर्ने आश्वासन गत माघमा मन्त्री सापकोटालाई चीनमै दिएको थियो ।

विगतमा सरकारले अमेरिकालाई पनि दुई पटक गरी दुई जोडी गैंडा उपहार दिएको थियो भने जर्मनलाई पनि दुई पटक एक/एकवटा गैंडा उपहार दिएको देखिन्छ । सिंगापुर, बंगलादेश, बेलायत, जापान र अस्ट्रियालाई पनि गैंडा उपहार दिइएको थियो ।

यस्तै, सरकारले घडियाल गोही, मगर गोही, हिमाली ब्वाँसो, घडियाल र मगर गोहीका अन्डा, चितुवालगायत पनि उपहार दिएको रेकर्ड छ । जीवितबाहेक मरेका वन्यजन्तुका छाला, टाउको, प्वाँखलगायत पनि सरकारले उपहार दिएको देखिन्छ ।


Facebook Comment


No ads found for this position