नेपालगन्ज उपमहानगरपालिका, ‘धनाढ्य’ बीच रस्साकस्सी

कलेन्द्र सेजुवाल

नेपालगन्ज-नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरमा मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ। ‘हामी त त्यत्तिकै राजनीति गरिरहेका रहेछौं।’ उनको यो भनाइले पछिल्लो समय चुनावमा आर्थिक हैसियत कत्तिको प्रभावी बन्दैछ भन्ने देखाउँछ ।

आर्थिक हैसियत कमजोर भएकै कारण आफू टिकट पाउनबाट वञ्चित भएको ती नेताको विश्लेषण छ ।      उनको यो विश्लेषणलाई पुष्टि गर्न आधार प्रमुख चार दलका उम्मेदवारको आर्थिक ‘अनुहार’ पर्याप्त पनि छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका मेयर उम्मेदवारसँग बलियो आर्थिक हैसियत जोडिएको छ । चुनाव जित्न उम्मेदवारको आर्थिक पक्ष बलियो हुनैपर्ने मापदण्डलाई भित्री आधार बनाउँदै सम्बद्ध दलले टिकट थमाएको स्थानीय बुद्धिजीवी बताउँछन् ।

डा. सुरेशकुमार कनोडिया नेपाली कांग्रेसको तर्पmबाट मेयरका उम्मेदवार हुन् । ३४ वर्षदेखि चिकित्सा क्षेत्रमा संलग्न उनको स्वामित्वमा नेपालगन्ज मेडिकल कलेज छ । पार्टीको महाधिवेशन प्रतिनिधि रहेका कनोडियाले टिकट पाउनुमा मेडिकल कलेजमार्पmत जनतासँग स्थापित उनको सम्बन्ध र बलियो आर्थिक हैसियत प्रमुख कारण हो । यो तथ्यलाई उनी स्वयं स्विकार्छन् । ‘मैले दुई नम्बरी धन्दा गरेर पैसा कमाएको छैन, ३४ वर्षदेखि निरन्तर जनताको सेवा गरिरहेको छु,’ उनले भने, ‘यही कुरा हेरेर पार्टीले मलाई पत्यायो, अब जनताले मेरो सेवाको मूल्यांकन गर्नेछन् ।’ २०५४ सालमा स्थापना गरेको नेपालगन्ज मेडिकल कलेजबाट हालसम्म एक हजार सात सय चिकित्सक उत्पादन भएकामा दुई सय त बाँकेकै रहेको उनी बताउँछन् ।

माओवादी केन्द्रका मेयर उम्मेदवार दामोदर आचार्य नेपालगन्जका ‘नवधनाढ्य’ हुन् । करिब दुई दशकयता उनको आर्थिक हैसियत निरन्तर उकालो लागिरहेको छ । नेपालगन्जमा आचार्य इम्पोरियम खोलेका उनलाई माओवादी केन्द्रले ‘चुनावी रणनीति बुझेको र पैसा पनि खर्च गर्नसक्ने’ विश्वासका आधारमा टिकट दिएको बताइन्छ । आचार्य भने आफ्नो आर्थिक हैसियत राम्रो भए पनि चुनावमा आर्थिक पक्षलाई त्यति महŒव नदिएको बताउँछन् । ‘चुनाव जित्न आर्थिक पक्षभन्दा राजनीतिक समर्पण प्रमुख हो,’ उनी भन्छन्, ‘त्यसैले मैले पार्टीको अनुशासनमा बसेर न्यूनतम खर्चमा चुनावी अभियान चलाइरहेको छु ।’

राप्रपाका मेयर उम्मेदवार धबलशमशेर राणा नेपालगन्जको पूर्वमेयर हुनुका साथै प्रतिष्ठित व्यवसायीसमेत हुन् । उनको नाममा नेपालगन्जमा होटल बाटिका छ । पुख्र्यौली खानदानी परिवारका राणाको सीतापुरमा आँप बगैंचा छ भने निजी विद्यालयमा पनि लगानी छ । राणा भने खेत बेचेर चुनाव नलड्ने बताउँछन् । ‘भोट किनेर जित्न सकिन्न, म त्यो मान्यता पनि राख्दिनँ,’ उनले भने, ‘मैले साथीभाइसँग ‘सहयोग’ मागेरै चुनाव खर्च व्यवस्थापन गरिरहेको छु।’

एमालेको तर्फबाट मेयर उम्मेदवार समसुद्दिन सिद्धिकी प्रत्यक्ष रुपमा व्यापार–व्यवसायमा संलग्न नभए पनि पारिवारिक आर्थिक हैसियत बलियो भएका व्यक्ति हुन् । समसुद्दिननिकटका अनुसार भारत, लखनउमा ठेक्कापट्टामा संलग्न उनका भाइ पप्पु र भारतमै रहेका ससुराली खलक उनको चुनावी अभियानका भरपर्दा सारथि हुन् । ‘म धेरै धनाढ्य होइन, मेरो आर्थिक हैसियत मध्यम खालको हो,’ उनी भन्छन्, ‘तर म चुनाव जित्नका लागि पैसाको खोलो बगाउनेवाला छैन ।’ हालसम्म कसैसँग चन्दा नउठाएको र घरबाटै चुनावी खर्च बेहोरिरहेको उनले बताए ।

नेपालगन्जको राजनीतिलाई नजिकबाट नियालिरहेका वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य यहाँको ‘अस्थिर’ भोटलाई आकर्षित गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलले आर्थिक पक्षलाई प्राथमिकता दिएको हुन सक्ने बताउँछन् । उनका अनुसार ६२ हजार पाँच सय मतदाता रहेको नेपालगन्ज उपमहानगरपालिकामा झन्डै ४० प्रतिशत ‘नन–पोलिटिकल’ भोट छन् । ‘चुनावको बेला यिनै भोट भावनामा बग्दा परिणाम प्रभावित हुनेगर्छ,’ कर्माचार्य भन्छन्, ‘त्यसैले राजनीतिक दलले ढुलमुले भोट आकर्षित गर्नसक्ने उम्मेदवार छानेका हुन सक्छन् ।’

लामो समयदेखि नेपालगन्जको राजनीतिमा अभ्यस्त एमालेका उपमहानगर सचिव दत्तप्रसाद आचार्य पनि यहाँको निर्वाचनमा  राजनीतिकभन्दा भावनात्मक सम्बन्ध हावी हुने गरेको बताउँछन् । ‘अहिले मैदानमा उत्रिएका प्रमुख दलका सबै उम्मेदवारमा परिणाम प्रभावित गर्ने हैसियत देखिन्छ,’ उनी भन्छन्, ‘जसले बढी गर्न सक्यो, उसैले नतिजा पोल्टामा पार्छ ।’


Facebook Comment


No ads found for this position