निर्माण क्षेत्र महँगियो

नविन अर्याल

काठमाडौः नेपालको निर्माण क्षेत्र महँगिदै गएको छ । निर्माण सामग्रीको मूल्य र मजदूरको ज्याला बढ्दै गएपछि निर्माण महँगो भएको हो । सरकारले संकलन गरेको प्रारम्भिक मूल्य सूचकांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा निर्माण क्षेत्रमा १८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस अवधिमा निर्माण सामग्रीको मूल्य १२.८ प्रतिशत र ज्याला ३०.६ प्रतिशतले बढेको देखिन्छ ।

यदि ०७१/७२ मा एउटा घर करोडमा बन्थ्यो भने ०७२/७३ मा त्यस्तै घर बनाउन एक करोड १८ लाख रुपैयाँ लागेको छ । नेपालमा निर्माण सामग्रीको मूल्यभन्दा पनि मजदुरको ज्याला वृद्धिदर उच्च छ । केन्द्रीय तथ्यांक विभागका अनुसार एउटा भवन बनाउँदा निर्माण सामग्रीमा ७०.५० प्रतिशत र ज्यालामा २९.५० प्रतिशत रकम खर्चिनुपर्छ । निर्माणमा दुई तिहाइभन्दा बढी लागत भार निर्माण सामग्रीको हुने विभागको तथ्यांकले देखाएको छ ।

मुलुकमा अहिले धमाधम विकास निर्माणको काम भइरहेको छ । सहरी विकास, सडक, घर/भवन, जलविद्युत् परियोजना, विमानस्थल, हाउजिङ, अपार्टमेन्ट निर्माण कार्यले तीव्रता पाइरहेको छ । निर्माण लागत पनि तीव्र रूपमा बढिरहेको छ । गत वर्ष विनाशकारी भूकम्प, नाकाबन्दी, मधेस आन्दोलनका कारण निर्माण सामग्रीको हाहाकार नै भयो । भूकम्प लगत्तै निर्माण सामग्रीको माग ह्वात्तै बढेपछि व्यापक कालोबजारी पनि भएको थियो । अभाव चर्किएपछि निर्माण सामग्रीको मूल्य झन्डै दोब्बर भएको थियो । तर, तथ्यांक विभागले बजारमा अनौपचारिक रूपमा बढाइएको भाउ समेटेको छैन ।

समीक्षा वर्षमा सिमेन्ट, गिटी, ढुंगा, मोटो, बालुवा, इँटा, डन्डी, आल्मुनियम, सिसा, बिटुमिन, जिंक सिट, टायल, पोलिथिन पाइप एन्ड फिटिङलगायत निर्माण सामग्रीको मूल्य बढेको छ । निर्माण क्षेत्रका इन्जिनियरदेखि पेन्टरसम्म सबैको तलब/ज्याला उच्चवृद्धि भएको छ । पछिल्लो समय मुलुकमा ‘लेबर कस्ट’ अत्यधिक महँगो भएको व्यवसायीको गुनासो छ ।

नेपालको निर्माण क्षेत्रमा कार्यरत इन्जिनियरभन्दा लेबरको ज्याला वृद्धि उच्च देखिएको छ । गत वर्ष इन्जिनियरभन्दा इलेक्ट्रिसियन र पेन्टरको तलब दोब्बर वृद्धि भएको विभागको अध्ययनले देखाउँछ । इन्जिनियरको तलब २२.४ प्रतिशतले बढ्दा इलेक्ट्रिसियनको ४३.३ प्रतिशत र पेन्टरको ४२.५ प्रतिशतले बढेको छ ।

नेपालमा माटो र बालुवा उत्खनन गर्ने स्पष्ट नीति छैन । सरकारले माटो र बालुवा उत्खननमा कडाइ गरेपछि मूल्य पनि बढ्दै गएको हो ।

ठूलो धनराशी खर्च गरी वर्षौं लगाएर पढेका इन्जिनियरभन्दा लेबर ज्याला वृद्धिमा अगाडि देखिएका छन् । विभागका अनुसार सबइन्जिनियरको तलब २५.२ प्रतिशत, सुपरभाइजरको ३२.३ प्रतिशतले वृद्धि भएको छ । डकर्मीको ज्याला ३५.६ प्रतिशतले वृद्धि हुँदा सिकर्मीको ३४.५ प्रतिशत र लेबरको २७ प्रतिशतले वृद्धि भएको देखिन्छ । तल्लो तहका सबै कर्मचारी/मजदुरको तलब वृद्धिदर इन्जिनियरभन्दा बढी छ ।

निर्माण सामग्रीको मूल्यवृद्धि

उद्योगको उत्पादन लागत बढ्दै जाँदा निर्माण सामग्रीको मूल्य पनि उकासिँदै गइरहेको व्यवसायी बताउँछन् । यसअघि लोडसेडिङका कारण डिजेलबाट उद्योग चलाउनु पथ्र्यो । उद्योग पनि आधा क्षमतामा मात्र सञ्चालन हुँदै आएका थिए । मुलुकमा लोडसेडिङ हटेको धेरै भएको छैन । लोडसेडिङ कम भएपछि पछिल्लो समय डिजेलबाट हुने अतिरिक्त लागत कम भएको छ । व्यवसायीका अनुसार मजदुरको ज्याला, कच्चा पदार्थ, ढुवानी शुल्कलगायतमा भएको मूल्य वृद्धिले निर्माण सामग्रीको मूल्य उछालिएको हो ।

विभागका अनुसार गत आवमा समग्र निर्माण सामग्रीको मूल्यवृद्धि १२.८ प्रतिशत छ । माटोको मूल्य सबैभन्दा बढी ६०.६ प्रतिशतले बढेको छ । बालुवाको मूल्य पनि ५१.६ प्रतिशतले बढेको छ । नेपालमा माटो र बालुवा उत्खनन गर्ने स्पष्ट नीति छैन । सरकारले माटो र बालुवा उत्खननमा कडाइ गरेपछि मूल्य पनि बढ्दै गएको हो । अहिले नेपालमा विकास निर्माणमा सबैभन्दा चुनौती माटो र गिटी बालुवाको अभाव छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिरहेको स्पेनिस कम्पनी सान्जोसेले पशुपतिबाट माटो ल्याउन नपाएपछि काम अगाडि बढाएन । सरकारले ठेक्का सम्झौता रद्द गर्नुपर्‍यो । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि गिटी, बालुवाकै अभाव खेप्नुपरेको छ । भैरहवा–बुटवल ६ लेनको सडक निर्माणमा पनि कंक्रिट माटोको अभाव भएको छ । अरु थुप्रै परियोजनामा माटो, ढुंगा, गिटी, बालुवाको अभाव देखिँदै आएको छ ।
सडक कालोपत्रेका लागि आवश्य पर्ने बिटुमिनको मूल्य ३८.२ प्रतिशतले बढेको छ भने ढुंगाको मूल्य पनि ३८.९ प्रतिशतले बढेको छ । फलामे डन्डी, फलामे बिलेट, काठ, इलेक्ट्रिकल वस्तु, जीआई पाइप एन्ड फिटिङ, वायर, मार्बल, पेन्ट, इलेक्ट्रिकल वायरको मूल्य घटेको विभागले जनाएको छ । तर, भूकम्प र नाकाबन्दीका कारण उल्लेखित सामग्रीको कालोबजारी भइरहेको थियो ।

निर्माणमा सबैभन्दा बढी सिमेन्ट, इँटा, ढुंगा र कंक्रिट आवश्यक हुन्छ ।तथ्यांक विभागका अनुसार उल्लेखित वस्तुको भार ४१ प्रतिशत हुने गर्छ । गत वर्ष सबै वस्तुको मूल्य बढेको छ । सिमेन्टको मूल्य १०.४ प्रतिशतले बढेको छ । इँटाको मूल्य २२.३ प्रतिशत, ढुंगाको ३८.९ प्रतिशत र गिटीको १४.७ प्रतिशतले बढेको देखिन्छ । फलामे छड र बिलेटको मूल्य भने सात प्रतिशतले घटेको छ । काठको मूल्य सबैभन्दा धेरै घटेको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष काठको मूल्य १८ प्रतिशतले घटेको छ ।

यसैगरी, आल्मुनियमको मूल्य ४.३ प्रतिशतले बढ्दा बालुवाको मूल्य ५१.६ प्रतिशत, सिसाको २९.७ प्रतिशत, बिटुमिनको ३८.२ प्रतिशत, टायलको ९.४ प्रतिशत, जिंक सिटको १६.६ प्रतिशत, पोलिथिन पाइपको ३६ प्रतिशत, पोलिथिन पाइप एन्ड फिटिङको ३४.७ प्रतिशतले मूल्य बढेको छ ।

तथ्यांक विभागले हरेक तीन/तीन महिनामा निर्माण क्षेत्रको मूल्य सूचकांक संकलन गरेर सार्वजनिक आएको छ । यसमा निर्माण सामग्रीको मूल्य र कर्मचारी/मजदुरको ज्याला वृद्धिदर समेटिएको हुन्छ । देशका विभिन्न ठाउँमा पुगेर तथ्यांक संकलन गर्ने गरेको विभागले जनाएको छ ।


Facebook Comment


No ads found for this position