नारायणगढ–मुग्लिन सडकमा लक्ष्यअनुरुप काम हुन सकेन

चितवन, साउन ३० गते । जेठ महिनायता परेको निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक विस्तार कार्य प्रभावित भएको छ ।

जेठको पहिलो सातादेखि नै ठूलो पानी परेपछि ठाउँठाउँमा पहिरो खस्दा सडक विस्तारमा खट्ने मजदुर सडक खुलाउन लाग्नुपर्दा लक्ष्यअनुरुपको काम हुन नसकेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार साउन मसान्तसम्ममा ३१ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २३ दशमलव ५ प्रतिशतमात्रै काम भएको छ । जेठ मसान्तसम्ममा २१ दशमलव ४ प्रतिशत काम भएकामा गत दुई महिनामा २ दशमलव १ प्रतिशतमात्रै काम भएको उहाँले बताउनुभयो ।

जेठ र असारमा निरन्तर पहिरो खसे पनि साउन महिनामा भने ठूला पहिरा दुईपटक मात्रै खसेका थिए । यद्यपि सानातिना पहिरो खसिरहने, खाल्टाखुल्टी बढी भएकाले ठेकेदारले राखेका मजदुर कर्मचारीले विस्तारको कामभन्दा बढी ती काममा व्यस्त हुनुपर्दा लक्ष्यअनुरुप काम हुन नसकेको हो ।

वर्षात्का कारण कमजोर ठाउँमा भित्ता काट्न मिलेको छैन । अहिले दासढुङ्गाको मोडमा र जलवीरेमा मात्रै भित्ता कटानको काम भइरहेको खनालले बताउनुभयो ।
वर्षात्ले काम गर्न कठिन हुने हुँदा ठेकेदार कम्पनीहरुले मजदुर कर्मचारीसमेत न्यून मात्रामा राखेका छन् । वर्षात्पछि लगत्तै चाडबाड आउने हुँदा छठ पर्वसम्म लक्ष्यअनुरुप काम गर्न नसकिने खनालले बताउनुभयो । त्यतिबेला एकातर्फ बाटो रोकेर काम गर्न मिल्दैन भने अर्कोतर्फ मजदुर कर्मचारी बिदामा बस्ने हुँदा लक्ष्यअनुरुप काम हुन नसक्ने उहाँको भनाइ थियो । निर्माणका काम मङ्सिरदेखि वैशाखसम्म तीव्र गतिमा हुने गर्दछ ।

ठेक्का दिँदा विसं २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।
भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ ।


Facebook Comment


No ads found for this position