नाका सञ्चालन गर्न माग

काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद कृपाराम रानाले कञ्चनपुरमा हत्या–हिंसाका घटना बढेको बताउनुभयो भने ।
सांसद कृष्णभक्त पोखरेलले सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गणेशसिंह ठगुन्नाले तिङ्कर नाका सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङ जिल्ला अस्पतालको स्तरोन्नतिका निम्ति ध्यानाकर्षण गराउनुभयो ।

सांसद गौरीशङ्कर चौधरीले मुक्तकमैयाको पुनःस्थापना पूर्णरुपमा नभएको र पुनःस्थापना भएकाले पनि जग्गाधनी प्रमाणपत्र नपाएको गुनासो गर्नुभयो । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा सार्वजनिक बिदाका दिन पनि कर्मचारीको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

सांसद जमिन्द्रमान घलेले शून्य समय र विशेष समयमा उठाइएका विषय राज्यबाट सम्बोधन हुने व्यवस्थाका लागि सभामुखबाट विशेष प्रयास हुनुपर्नेमा जोड दिनुभयो । सांसद चूडामणि विकले पोखराका जनताले स्वच्छ पेयजल नपाएकाले ध्यान दिइनुपर्ने बताउनुभयो । सांसद जेबी टुहुरेले संसद्को आफ्नै भवन कहिले निर्माण हुन्छ त्यसको जवाफ तत्काल राज्यले दिनुपर्ने माग गर्नुभयो । सांसद टीकाराम चेम्जोङले धनकुटा जिल्ला अस्पतालको स्तरवृद्धि नहुँदा धनकुटावासीले सहज रुपमा स्वास्थ्यसेवा प्राप्त गर्न नसकेको बताउनुभयो ।

सांसद डिल्ली काफ्लेले उमावि शिक्षालाई निःशुल्क गर्न माग गर्नुभयो । सांसद तुलसा रानाले बिजुलीको महसुल बढाएर जनताको ढाड सेक्न पाइँदैन भन्नुभयो ।
त्यसअघि बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर आन्दोलनरत मधेसी दलका तर्फबाट सांसद उषा यादवले वार्ताको वातावरण बनाउने चेष्टा सरकारबाट नभएको आरोप लगाउँदै संविधान पुनःलेखनको माग गर्नुभयो । सङ्घीय गठबन्धनका २६ बुँदे माग पूरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिँदै उहाँले आजको बैठकको कारबाही गठबन्धन सम्बद्ध आठ दलले बहिष्कार गर्ने बताउनुभयो । उहाँको घोषणासँगै गठबन्धनमा आबद्ध दलका सांसद बैठक कक्षबाट बाहिरिनुभयो ।


Facebook Comment


No ads found for this position