नक्कली डाक्टरद्वारा काउन्सिल पदाधिकारी र कर्मचारीलाई धम्की

डिल्ली पाण्डे

साउन १० ,आफूहरुको भविष्य बर्बाद पारिदिएको भन्दै नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरूले मेडिकल काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई धम्की दिन थालेका छन् ।

doctor-finalप्रहरी कारबाहीमा परेका नक्कली डाक्टरले नेपाल मेडिकल काउन्सिलमै पुगेर पदाधिकारी र कर्मचारीलाई धम्क्याएको स्रोतले जानकारी दियो । “हाम्रो करिअर डामाडोल बनाइदिने तिमीहरू नै होइनौ ? हामी छोड्नेवाला छैनौं’ भनेर धम्क्याइरहेका छन्,” काउन्सिलका एक कर्मचारीले भने ।

स्रोतका अनुसार नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी डाक्टर बनेका प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सकसमेत रहेका डा. बुद्धिमान श्रेष्ठले यसको नेतृत्व लिइरहेका छन् । कारबाहीमा परेका दुई दर्जनभन्दा बढी डाक्टरले काउन्सिल पुगेर रजिष्ट्रार डा. दीलिप शर्मा र अन्य पदाधिकारीलाई भेटी आफूहरूको ‘करिअर ड्यामेज’ बनाइदिएको भन्दै धम्क्याएको स्रोतको दाबी छ । काउन्सिलले नै आफूहरूलाई पक्राउ गराएको भन्दै उनीहरूले पदाधिकारीसँग झगडा गरेको स्रोतले जानकारी दियो ।

आफूहरूको मुद्दा विचाराधीन रहेको भन्दै उनीहरूले काउन्सिलले दिएको दर्ता प्रमाणपत्र खारेज नगर्न माग गरेका थिए । “यतिका वर्षसम्म हामीले गुणस्तरीय सेवा दिएका हौं । तर, अहिले आएर हाम्रोे इज्जतमा दाग लगाउने काम काउन्सिलले नै ग¥यो,”  एक डाक्टरको भनाइ उद्धृत गर्दै काउन्सिल स्रोतले भन्यो, “उनीहरूले सक्कली डाक्टरको मनस्थिति कमजोर पार्ने काम गरेका छन् ।”

यसअघि नक्कली शैक्षिक योग्यता पेस गरी डाक्टर बनेका १७ जनालाई प्रहरीले मुद्दा चलाएपछि मुद्दाको किनारा नलागुन्जेलसम्म काउन्सिलले दर्ता प्रमाणपत्र खारेज गरेको थियो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका ५४ जना डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न जिल्लाबाट पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । उनीहरू धरौटीमा छुटेका छन् ।

ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले काउन्सिलका पदाधिकारीलाई धम्की दिएको बारे प्रहरीमा उजुरी भने नआएको जानकारी दिए ।


Facebook Comment


No ads found for this position