देशमै राम्रो आम्दानी गर्न तीन महिने तालिम,कहाँबाट कसरी लिने ?

४ साउन, काठमाडौं । हातमा सीप र दक्षता नहुँदा  बेरोजगार अथवा थोरै पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यतामा हुनुहुन्छ? त्यसो भए  एकपटक सोच्नुहोस् र तीन महिने सीपमुलक तालिम लिनुहोस् अनि देशभित्र र बाहिर पनि राम्रो आम्दानी गर्नुहोस्।
परम्परागत सीप भएकालाई बजार प्रविधिअनुसार सापेक्ष बनाउँदै रोजगार, स्वरोजगार नागरिक उत्पादन गर्ने उद्देश्यले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले तीन महिने तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ।
बजारमा माग हुने र परम्परागत सीपलाई रुपान्तरण गर्न विभिन्न क्षेत्रमा ९७ वटा विषयमा छोटो अवधिको तालिमको पाठ्यक्रम तयार पारेको सिटिइभिटीका प्रवक्ता शिवशंकर घिमिरे बताउँछन्।
working-peopleकहाँबाट लिन सकिन्छ तालिम ?
यस्ता तालिम सिटिइभिटी आफैँले सञ्चालन गर्ने नभई विभिन्न संस्थामार्फत प्रदान गर्ने गरेको छ।  ‘हामीले पाठ्यक्रम बनाउने र मूल्याकंन मात्र गर्ने हो,’ घिमिरेले भने, ‘हामीले त्यस्ता कार्यक्रम विभिन्न संघसस्था मार्फत सञ्चालन गर्छौँ।’ सिटिइभिटीले सम्बन्धन दिएका देशभरका विभिन्न ४२२ वटा संस्थामार्फत तालिम लिन सकिने प्रवक्ता घिमिरेले सेतोपटीसँग बताए।
कस्ता–कस्ता विषयमा तालिम लिन सकिन्छ ? 
बजारमा अत्याधिक माग भएका क्षेत्रमा मध्यम सीपयुक्त जनशक्ति तयार पार्ने उद्देश्यले तयार पारिएको तालिम कार्यक्रम अन्तर्गत आकर्षक विषयसहित परम्परागत सीपलाई आधुनिककीकरण गर्नेसम्मका रहेका घिमिरेको भनाइ छ।
‘जीवनमुखी र रोजगारमुलक गरी दुई भागमा वर्गीकरण गरेर हामीले तालिमको डिजाईन गरेका छौं,’ तालिम विषयका विशेषताबारे घिमिरेले भने।  मैनबत्ती बनाउनेदेखि लिएर उच्च आम्दानी हुने स्काभेटर चलाउने, वेल्डीङ गर्नेसम्मका विषयमा तालिम लिन सकिने उनले बताए।
घिमिरेका अनुसार विभिन्न क्षेत्रमा ९७ वटा तालिम पाठ्यक्रम परिषद्ले बनाएको छ जुन विभिन्न संस्थाले फरक फरक विषयमा वा सँगै तालिम दिन पनि सक्नेछन्।
शुल्क कति लाग्छ ? 
तालिमको लागि विशिष्ट शुल्क निर्धारण नगरिएको भए पनि सीप प्राप्त गरीसकेपछि हुने आम्दानीको तुलनामा महँगो नहुने प्रवक्ता घिमिरेको भनाई छ।  बजारमा प्रतिस्पर्धा हुने भएकोले शुल्क धेरै चर्को नभएको उनी बताउँछन्।
विभिन्न गैरसरकारी संस्थामार्फत विभिन्न समयमा निःशुल्क त्यस्ता तालिम दिने गरिएको र परिषद्कै आंगिक क्याम्पस तथा कार्यक्रम लागू भएका शिक्षालयबाट निःशुल्क तालिम पनि लिन सकिने परिषद्का निर्देशक रमेश कुमार बखतीले बताए।
तालिम लिएपछि रोजगारी पाइन्छ ?  
परिषद्को छोटो अवधिको तालिम लिएकामध्ये अधिकांसले रोजगारी पाएको र केही स्वरोजगार भएको तथ्यांक आफूहरुसँग रहेको प्रवक्ता घिमिरेले बताए।  ‘हामीले गरेको अध्ययन अनुसार तालिममा सहभागी भएकामध्ये ७५ प्रतिशतभन्दा धेरैले रोजगारी पाएका छन्,’ घिमिरेले भने।
 कस्तो रोजगारी पाईन्छ ? कति कमाई हुन्छ ? 
परिषद्ले गरेको अध्ययन अनुसार विषय र बजारको माग हेरी कमाई र जागिर फरक हुने गरेको छ।  स्काभेटर, वेल्डीङ, ब्याक्हो लोडर अपरेटर, मोबाइल मर्मत, औद्योगिक म्यानुफ्याक्चर अपरेटर, इलेक्ट्रसियन जस्ता तालिम लिएकाले स्वदेश तथा विदेशमा राम्रो आम्दानी गरिरहेका  सिटिइभिटीले जनाएको छ।
परिषद्का निर्देशक रमेश कुमार बखाती प्रायःजसो विषयमा तालिम गरिसकेपछि न्युनतम २०/२५ हजार रुपैयाँ स्वदेशमा नै र विदेशमा पनि अरुको तुलनामा राम्रो कमाई हुने बताउँछन्।
सरकारी जागिर पनि पाइन्छ ? 
तीन महिने तालिम लिइसकेपछि निजी क्षेत्र अथवा स्वरोजगारमात्र होइन, तालिम गरेको विषय र आफूले पास गरेको सिप परिक्षणअनुसार सरकारी जागिर पनि पाउन सकिने घिमिरेले बताए।
तालिम गरेपछि पहिलो तहको सिप परिक्षण परिक्षा दिन पाइने व्यवस्था परिषदको छ। त्यस्तै दोस्रो, तेस्रो र चौथो तहसम्मको सिप परिक्षणमा सहभागी हुन पाईन्छ जहाँ तह अनुसार सरकारी तथा अन्तराष्ट्रिय स्तरमा पनि मान्य हुने घिमिरेले बताए । ‘हामीले सिप परीक्षणको प्रमाणपत्र दिने बित्तिकै त्यसले विश्वभर मान्यता पाउँछ,’ उनले भने।


Facebook Comment


No ads found for this position