देवताहरुको स्वर्ग : जुगल हिमशृंखलाको आधार शिविर (फोटो फिचर)

  ध्रुव दङ्गाल

ने–पेमासाल अर्थात देवताहरुको स्वर्ग। राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको आधार शिविर हो ने–पेमासाल। स्थानीय भाषामा ने–पेमासालको अर्थ हुन्छ, देउताहरुको तीर्थ अथवा देवताहरुको स्वर्ग। नाम जस्तै स्वर्ग छ ने–पेमासाल पनि।

वरिपरी घना जंगल र चारैतिर सेता हिमालबीच ने–पेमासाल उपत्यका अवस्थित छ। यो उपत्यकाको बीचबाट हिउँ पग्लेर बग्छ ने–पेमासाल खोला। यो खोला अहिले बह्मायणी नदीले चर्चित छ। ने–पेमासाल कसरी ब्रह्मायणी कहलियो यसको छुट्टै धार्मिक कहावत छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा अवस्थित ने–पेमासाल काठमाडौंबाट उत्तरतर्फ १ सय ४० किलोमिटर दुरीमा छ। समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा रहेको ने–पेमासाल प्राकृतिक रुपमा जति मनोरम छ, उत्तिकै पर्यटककीय र धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ।

हिन्दु र बौद्ध दुबै धर्मावलम्बीको आस्थाको पवित्र केन्द्रसमेत हो ने–पेमासाल। बौद्धधर्ममार्गी ने–पेमासाललाई गुरु पध्मसम्भवको साधनास्थल ठान्छन्। बौद्धधर्म ग्रन्थअनुसार पध्मसम्भवले आठौँ शताब्दीमा यहाँ साधना गरेका थिए। पध्मसम्भवले संसारका उत्तम १० भूमिमध्ये ने–पेमासाल पहिलो स्थानमा रहेको बताएको विभिन्न बौद्धग्रन्थमा भेटिन्छ।

    त्यसो त हिन्दु धर्मावलम्बी ने–पेमासाललाई ऋषि ब्रह्माको तपोभूमिको रुपमा व्याख्या गर्छन्। ने–पेमासालमा कठोर तपस्या गर्ने क्रममा ब्रह्माका आँखाबाट आँशुको रुपमा ब्रह्मायणी नदी उत्पत्ति भएको कथन छ। ऋषि, गुरुहरुले साधना र तपस्या गरेको स्थलको रुपमा नै ने–पेमासाललाई देवताहरुहरुको तीर्थ र स्वर्ग भनिएको हो।

ने–पेमासाल अधिकांश समय हिउँले ढाकिन्छ। यहाँबाट रसुवाको लाङटाङ हिमाल पनि देखिन्छ। जुगल हिमशृंखलामा अनगिन्ति पिक अर्थात हिमाल छन्। तर जुगल नामले चिनिने छुट्टै हिमाल भने छैन। जुगल हिमशृंखलामा विभिन्न २६ हिमाल रहेकोमा ११ पिकले आरोहण अनुमति पाएका छन्। हिमशृंखलाका याङ्री, फूर्पाघेच्यु, ग्याल्चेन लगायत आधा दर्जनभन्दा बढी हिमाल ने–पेमासालबाट हेर्न र आरोहण गर्न सकिन्छ।

गएको चैतमा मात्र पहिलो पटक जुगल हिमशृंखलाको सफल आरोहण भएको थियो। तीन आरोहीले हिमशृंखलाको ६ हजार १ सय ५१ मिटर अग्लो ग्याल्चेन हिमाल चढेका थिए। काठमाडौंबाट तीन दिनमै सस्तो र आरामदायी यात्राद्धारा जुुगलको काख ने–पेमासाल पुग्न सकिन्छ। बस यात्राद्धारा एक दिनमै जुगल गाउँपालिकाको क्याङसिङ पुगिन्छ। अन्तिम गाउँ तेम्बाथान, दीपू हुँदै दुई दिनको पैदल यात्रापछि आइपुग्छ ने–पेमासाल।

यात्रामा भेटिने कालिज, मृग, बँदेल, हिमचितुवा लगायत जंगली जनावरको बुर्कुसीले यात्रालाई थप रोमाञ्चक बनाउँछ। थकान महसुस हुनै पाउँदैन। घनाजंगल भएकाले ने–पेमासालसम्म पुग्दा हाइअल्टिच्यूडले छुँदैन। सगरमाथाको देश नेपालको राजधानीबाट नजिक रहेकाले जुगलको आधार शिविर ने–पेमासाललाई हिमाल आरोहणको तालिम केन्द्रको रुपमा विकास गर्न सकिन्छ।

जुगल यात्रा गर्न अरनिको राजमार्गको बलेफीबाट जलवीरे–ढाडे रुट पक्रनु पर्छ। ब्रह्मायणी नदीको चिसो पानीमा हुर्केका स्थानीय जातका माछा खाँदै यात्रा अघि बढाउन सकिन्छ। जलवीर, ढाडे, कात्तिके फाँट हुँदै गुण्डे, पाङगार्पु भएर गुम्बा पुगिन्छ। यहाँसम्म नियमित बस चल्छन्। आफ्नै सवारी साधन भए क्याङसिङ गाउँसम्म यात्रा सहज बनाउँछ। त्यसअघि भने मोटरबाटो छैन। बर्खाअगावै तेम्बाथानसम्म मोटरबाटो पु¥याउन गाउँपालिका कस्सिएको छ। यहाँ मोटरबाटो पुगेपछि ने–पेमासाल पुग्न एक दिनको बाटो छोट्टिन्छ।

क्याङसिङ गाउँको छुर्पी, तेम्बाथानको आलु र दीपु गाउँको अर्गानिक मुला परिकार खाँदै यात्रा अघि बढाउँदा शरीरमा उर्जा प्राप्त हुन्छ। दीपूबाट अघि बढेपछि गाउँ भेटिँदैनन्। खर्क र चौरीँ गोठ भने भेटिन्छन्। सिजनमा खर्क र चौरीगोठमै खान र बास बस्न पाइन्छ। न ठाडै उकालो न आह्रालो, तेर्सो–तेर्सै पैदल हिँडेर लाङताङ र ब्रह्मायाणी नदीको संगमस्थल पुगेपछि यात्रा थप रोमाञ्चक बन्छ। झण्डै ३ हजार मिटर उचाइबाटै हिउँ भेटिन्छ। हिउँमा खेल्दै, यात्रामा भेटिने विभिन्न गुफा र ओढार हेर्दै ने–पेमासाल पुग्दा यही नै स्वर्ग हो भन्ने भान हुन्छ। शरीर हलुका हुन्छ, मन रमाउँछ, दिमाग उत्तेजित हुन्छ। ने–पेमासालबाट चौरैतिर जता हेरे पनि हिमालको भुँडीमै समातेर काउकुति लगाउन सकिन्छ जस्तो लाग्छ।

प्रथम जुगल हिमाल आरोहणकै अवसर पारेर चैत अन्तिम साता जिल्लाका सञ्चारकर्मी पहिलो पटक ने–पेमासाल पुगेका थियौँ। मौकामा चौका हान्दै हामी जुगलको दोस्रो बेसक्याम्प बुम्बासेर्पु (४५ सय मिटर) सम्म पुग्यौँ। शृंखलाका याङ्री, फूर्पाघेच्यु लगायत हिमालको भुँडी पक्रेर काउकुती लगाउँदै मन चंगा बनाएर फर्कियौँं। यात्राका सदस्य रहेका संगीतकार चेतन सापकोटाले त ठाउँको ठाउँ गीत बनाएर सुटिङसम्म गर्न भ्याएः  सिन्धुको काखमा छ, स्वर्ग जस्तो ठाउँ
तेम्बाथानमा होमस्टे, ने–पेमासालमा क्याम्प
म पनि जाँदै छु, हेर्न त्यो सुन्दर ठाउँ
जाउँ, जाऊँ जाउँ, जाऊँ, जाउँ
जुगल हिमाल चढ्न जाउँ,
जाउँ, जाऊँ जाउँ, जाऊँ, जाउँ
जुगल हिमाल हेर्न जाउँ।

‘केबलकार पु-याउँछौँ’
होमनारायण श्रेष्ठ
अध्यक्ष, जुगल गाउँपालिका

जुगल हिमाल हाम्रो गाउँपालिकाको पहिचान हो। गाउँपालिका सम्बृद्धिको आधार पनि हो जुगल हिमाल। त्यसैले ठूलो प्रयत्न गरेर पहिलो पटक जुगल हिमाल आरोहण सफल गरायौँ। यसपछि जुगल हेर्न र चढ्न आन्तरिक तथा बाह्रय पर्यटक आउँछन् भन्ने विश्वास छ। त्यसैले लाङटाङ खोलादेखि बेसम्याम्प ने–पेमासालसम्म केबलकार पु-याउने योजना छ। यसका लागि प्रारम्भिक प्राविधिक सर्वेको काम थालिसकेका छौँ। बेसक्याम्पसम्म पुग्ने बाटा–घाटा राम्रा बनाउँदै छौँ। आवश्यक पूर्वाधार बनाउने कार्यक्रम पनि ल्याएका छौँ।

‘आरोहण तालिम केन्द्र बन्छ’
मिलन लामा, प्रथम जुगल आरोही

जुगल हिमाल राजधानीबाट सबैभन्दा नजिक छ। दुई–तीन दिनको आरामदायी र सस्तो यात्रामै बेसक्याम्प ने–पेमासाल पुग्न सक्छौँ। काठमाडौँबाट सबैभन्दा नजिक यस्तो अवसर अन्यत्र छैन। बेसक्याम्पमै आधा दर्जनभन्दा बढी हिमाल छन्। त्यसैले आरोहणलाई प्रोत्साहन गर्दै ने–पेमासाललाई हिमाल आरोहणको तालिम केन्द्र बनाउनु पर्छ। त्यो सम्भव छ। प्रथम जुगल आरोहीका नाताले हामी तालिम केन्द्रका लागि प्रयास गर्ने छौँ। हिमालले मात्र होइन, प्राकृतिक सुन्दरता र धार्मिक महत्वले पनि योस्थान महत्वपूर्ण छ। जुगल बेसक्याम्प ने–पेमासाल एक पटक पुग्नै पर्ने गन्तव्य हो। साभार नागरीक
















 


Facebook Comment


No ads found for this position