दिक्तेलको भालुखोलामा धामीझाँक्रीको मेला

खोटाङ, ३ भदौ । खोटाङको सदरमुकाम दिक्तेल–७ स्थित भालुखोलामा श्रावण शुक्ल पूर्णिमाको अवसरमा बिहीबार धार्मिक तथा पर्यटकीयस्थल भालुखोलामा धामीझाँक्रीको ठूलो मेला लाग्यो ।

ढ्याङ्ग्रोको तालमा ‘सै राजा सै सै, सै रानी सै सै, सै सै’ बोलको गीतमा धामी र उनीहरुका ढोलेको नाचगानका कारण भालुखोला जिल्लामै चर्चित छ । साउनको सुरुदेखि धामीका गुरु र देवीदेवता गुप्तबास बसेपछि श्रावण शुक्ल पूर्णिमाको दिनदेखि भालुखोलाको धारामा नुहाइधुवाइ गरेपछि आफ्ना देवीदेवता चल्ने मान्यता रहिआएको छ ।

सोही मान्यताअनुसार जिल्लाका विभिन्न ठाउँका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन भालुखोला पुग्ने गरेका छन् । ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

विभिन्न मनोकाङ्क्षा लिएर भालुखोलामा विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरे रोगकष्ट निको हुने विश्वास रहिआएको छ ।


Facebook Comment


No ads found for this position