दश महिनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौँ, साउन : सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा अघि बढेको छ, ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।”

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याई व्यवस्थापकीय पक्ष सुधारेपछि अहिले हवाई ट्राफिक व्यवस्थापन धेरै गुणा प्रभावकारी भएको मन्त्री अधिकारीको भनाइ थियो । “म पूरै परिवर्तन भयो त भन्दिन तर अध्ययनले पनि देखाएको छ विमानस्थलको प्रभावकारी व्यवस्थापनकै कारण अहिले अन्तर्राष्ट्रिय उडान अपवादबाहेक कुनै पनि होल्डमा बस्नुपर्दैन र केही अन्तर्राष्ट्रिय उडान थपिने क्रममा छन्,” , उहाँले भन्नुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य साकार तुल्याउन महत्वपूर्ण पूर्वाधार विमानस्थल निर्माणलाई बजेट तथा नीति कार्यक्रममा समेटेको छ । पर्यटनमन्त्री अधिकारीले भन्नुभयो, “पर्यटकको संख्या बढाउने हो भने विमानस्थल बढाउनैपर्छ, त्रिभुवन विमानस्थल साँघुरो भएको छ । त्यसैले विमानस्थल विस्तारको कार्यलाई अघि बढाएका छौँ । एक वर्षभित्र अहिलेको क्षमतामा ४० प्रतिशत वृद्धि गर्ने गरी पार्किङ बेलगायतका काम भइरहेको छ ।”

आन्तरिक उडान व्यवस्थापनमा सुधार गरी अबदेखि विहान ६ बजेदेखि उडान सञ्चालन गर्ने र धेरै यात्रु जाने गन्तव्यमा वैज्ञानिक ढंगले समय व्यवस्थापन गरी उड्डयनलाई प्रभावकारी बनाउन लागिएको उहाँको भनाइ थियो । राष्ट्रिय गौरवको गौतमबुद्ध विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्रभावकारी बनाइनाका साथै दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउने सरकारको योजना छ ।
आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । विमानस्थल निर्माणको बाँकी ४५ प्रतिशत काम समानान्तर ढंगले अघि बढ्ने हुँदा सन् २०१८ को अन्त्यसम्ममा विमानस्थलको प्रमुख काम सकिने र त्यसको चार महिनापछि सेवा सञ्चालनमा आउने विमानस्थल आयोजना प्रमुख ओम शर्माले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले धावनमार्गको वेसको काम सकिएको छ । वर्षा सकिनासाथ धावनमार्ग कालोपत्रे शुरु गरी चारदेखि छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । टर्मिनल भवन र जहाज पार्किङ क्षेत्रको ढलान सकिने चरणमा छ । विमानस्थलको सबै काम पूरा गरी सन् २०१९ जूनसम्ममा सञ्चालनमा ल्याउने अवस्था रहेको प्रमुख शर्माको भनाइ छ ।

एशियाली विकास बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणको करीब रु सात अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिइएको छ ।
सरकारले सन् २०३० सम्म करीब ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने कार्यक्रम तय गरेको छ । सन् २०१७ मा करीब दश लाख पर्यटक नेपाल आएका थिए । सन् २०१८ को छ महिनामा पाँच लाख २५ हजार पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको दुई वाइड बडी विमानबाट पनि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । निगमको सेवा थप प्रभावकारी बनाई अन्तर्राष्ट्रिय गन्तव्य विस्तारलाई तीव्रता दिने पर्यटनमन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।
उहाँले ग्रामीण पर्यटनको विकासले नै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले घरबास कार्यक्रमसेवालाई गुणस्तरीय बनाई नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न सरकारले प्रोत्साहनको नीति लिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारे पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य साकार तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गरी सञ्चालनमा ल्याइनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपालका अध्यक्ष नवराज दाहालले २० लाख पर्यटक पु¥याउने सरकारको योजनालाई सफल बनाउन समग्र पर्यटन व्यवसायी एकताबद्ध ढंगले लागिपर्ने बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने औंँल्याउनुभयो । प्रा डा प्रेम शर्माले शहर केन्द्रित पर्यटनलाई गाउँसम्म पु¥याएर प्रभावकारी प्रवद्र्धनात्मक अभियान चलाइनुपर्ने बताउनुभयो ।

भिटोफका अध्यक्ष कमल सापकोटाले गाउँ पर्यटनलाई गुणस्तरीय र प्रभावकारी बनाउन ‘होमस्टे ट्रेकिङ ट्रेल’ निर्माण, घरबास तालीम तथा नयाँ गन्तव्य प्रवद्र्धनको कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । सो अवसरमा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने नवीन काफ्ले, कुमार चौलागाईँ, लोकेन्द्र शाह र जनार्दन शर्मालाई जनही रु पाँच हजारसहित पुरस्कृत गरिनाका साथै उत्कृष्ट पर्यटकीय गाउँ कास्कीको कालाबान घरेडीलाई रु ११ हजारसहित पुरस्कृत गरियो ।


Facebook Comment


No ads found for this position