दशैंमा लागि विमानको ९० प्रतिशतभन्दा बढी बुकिङ

भदौ,काठमाडौं। दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् ।

दशैंमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् ।

एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका प्रवक्ता घनश्याम आचार्यका अनुसार दशैँका लागि ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको छ । लामो गन्तव्यका बुद्ध, यति, तारा, सौर्य, श्रीलगायत एयरलाइन्सको अधिकांश टिकट सकिएको छ ।
“दशैँका लागि गाडीजस्तो विमानको अग्रिम बुकिङ हुँदैन, जुनसुकै समयमा टिकट बुकिङ हुनेहुँदा चाडैँ टिकट सकिएको हो । सेवाग्राहीको मागअनुसार वायुसेवा कम्पनीले दशैँमा उडान थप गर्नेछन्”–उनले भने ।

सामान्य अवस्थामा १०० वटा उडान हुने गर्थे भने दशैँमा १५ देखि २० प्रतिशत उडान थपिने प्रवक्ता आचार्यको भनाइ छ । उनले दशैँमा यात्रु चाप बढी हुने भए पनि एकतर्फी मात्रै यात्रु भरिने हुँदा विमान कम्पनीले थोेरै मात्र उडान थप्ने गरेको बताए ।

विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएका यति एयरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका व्यवस्थापक भीमराज राईले दशैँका लागि करिब करिब टिकट बुकिङ सकिएको र मागअनुसार उडान थप्ने योजना रहेको बताए । यतिले एक एटीआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ ।


Facebook Comment


No ads found for this position