दक्षिणकाली – कुलेखानी सडक खण्ड एक वर्षमा दुई लेनको बन्दै

उत्तम काप्री

सरकारले आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी एक लेनको दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडकलाई फराकिलो बनाउँदै २ लेनको बनाउने भएको छ। सडक विभाग २ नम्बर डिभिजन कार्यालय टेकुका प्रमुख कर्णबहादुर रानाभाटका अनुसार अहिले ट्रयाक खोल्ने काम तिब्रताको साथ अगाडि बढिरहेको छ। अबको एक वर्षमा पुरै २० किलोमिटर सडकमा ग्राभेलको काम समेत सम्पन्न हुनेछ।एक लेनमा रहेको दक्षिणकाली–कुलेखानी सडक खण्ड अबको १ वर्षभित्र दुई लेनको बन्ने भएको छ। देशभर सञ्चालनमा रहेका सडकको विस्तार, मर्मत र चौडा बनाउने कार्य तिब्रताको साथ अगाडि बढिरहेका बेला २० किलोमिटर दुरीको दक्षिणकाली–कुलेखानी सडक २०७३÷७४को अन्त्यसम्म सकिने छ। पहिलो चरणमा सडक चौडाको लागि ट्रयाक खोल्ने र त्यसपछि ग्राभेलको काम सम्पन्न हुने आयोजनाले जनाएको छ। सो सडकमा कालोपत्रेको काम भने एकवर्ष पछि हुनेछ।

 सडक विभाग २ नम्बर डिभिजन कार्यालय टेकुका प्रमुख कर्णबहादुर रानाभाटका अनुसार आग्रामी असोज कात्तिकसम्म दक्षिणकाली–छैमेले–सिस्नेरी–कुलेखानी सडक अन्तर्गतको २० किलो मिटर सडको ट्र¥याक निर्माण सम्पन्न हुनेछ। त्यसपछि ग्राभेलको काम सुरु भई आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न भइसक्ने उनले बताए।सडकको ट्रयाक खोल्ने काममा अवरोध नहोस् भन्दै आफूहरुले बिहान १० वजेदेखि बेलुका पाँच बजेसम्म यो रुटमा सवारी चल्न पनि रोक लगाएको उनले बताए। ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै सवारी साधनमा लगाएको रोक पनि खुल्ला हुने बताइएको छ।
यो रुटबाट साना ठूला गरी दैनिक ३ हजारको हाराहारीमा सवारी साधन गुड्ने गरेका छन्। ‘अहिलेसम्म निर्माण भएका सडकमध्ये उपत्यकाबाट तराई जोड्ने सबैभन्दा छोटो रुटको यो सडक हो’, रानाभाटले भने,  ‘हामीले पनि उच्च प्राथमिकता राखेर काम तीव्रताको साथ अघि बढाएकाले समयमै काम सम्पन्न हुनेमा आशावादी छौँ।’
पहिले सडक निर्माण गर्दा ५ मिटरको चौडाईमा बनाइएको थियो। अब भने १० मिटरको हुनेछ। हाल सवारी साधनलाई यो रुट हुँदै आवतजावत गर्दा उपत्यकाबाट हेटौंडासम्मको ८० किलोमिटर दुरी पार गर्न ३ देखि ४ घण्टा लाग्ने गरेको छ।
यो सडक चौडा भएसँगै एक घण्टाको समय बचत हुने छ। यो सडक साँघुरो भएकाले अहिले कलंकी–नारायणगढ हुँदै हेटौंडा पुग्ने सडक बढी प्रयोगमा आउने गरेको छ। यो सडकको दुरी २ सय १७ किलोमिटर रहेकाले आवतजावत गर्दा सरदर ७ घण्टा लाग्ने गरेको छ। त्यसमा पनि मुंग्लिङ–नारायणगढ सडकमा जाने पहिरोले समस्या आइरहँदा यात्रुहरुले लामो समयसम्म हैरानी खेप्न परेको अवस्था पनि छ। यो सडक चौडा भएपछि छोटो अवधिमै आवतजावत गर्न सकिने छ भने यात्रा पनि सहज हुनेछ। ‘गत वर्षको साउनदेखि नै काम सुरु भए पनि स्थानीयहरुको अवरोधका कारणले भनेअनुसार कामले गति लिन सकेको थिएन’ रानाभाटले भने ‘अब भने सहमति भइसकेकोले समयमै काम सम्पन्न हुनेछ।’
स्थानीयहरु पनि मुद्दा हारेपछि सडक विस्तारमा सकारात्मक हुँदै आएका छन्। स्थानीयले यस वर्षको खेती उठाएपछि मात्रै बाँकी रहेको ठाउँमा सडक चौडाको काम सुरु गर्दै ट्रयाक निर्माण सम्पन्न उनले बताए।
सडक चौडाको लागि विभागले अर्थमन्त्रालयमा केही वर्ष अगाडि प्रस्ताव राखेकोमा मन्त्रालयले गत वर्षबाट काम गर्नेगरी २४ करोड रुपैयाँ विनियोजन गरेको थियो। बजेट विनियोजन भएलगत्तै आफूहरुले बहुवर्षीय योजना अन्तर्गत टेन्डर गर्दै काम अगाडि बढाएको उनले बताए।
 सडक चौडाको कामको लागि बिनियोजित रकममध्ये टेन्डरमा ३५ प्रतिशत कम रकमको आवेदन आएपछि पुनः दोस्रो चरणमा ५ किलोमिटर सडक थप्दै कुलेखानीसम्म निर्माण गर्ने गरी काम अगाडि बढाइएको उनले बताए।
पहिलो चरणमा दक्षिणकालीबाट सिस्नेरीसम्मको १५ किलोमिटर मात्र चौडा गर्ने तयारी भएको थियो। त्यसलाई विस्तार गर्दै पछि दोस्रो चरणमा ५ किलोमिटर थप भएको हो। आगामी आर्थिक वर्षसम्म ट्रयाक खोल्दै ग्राभेल सम्पन्न गर्ने र पुनः अहिले विनियोजन भएको रकमबाट अर्को वर्षदेखि कालोपत्रे गर्ने गरी टेन्डर गरिने उनले बताए।
सडक चौडा र पिचसँगसँगै प्रत्येक १ किलोमिटर दुरीमा सवारी मर्मत तथा पार्किङ गर्न मिल्ने ठाउँ राखिने बताइएको छ। सडकको दुबैपट्टि हरियाली बनाउने तयारी समेत भएको रानाभाटले सेतोपाटीसँग बताए। कविन्द्र र अनक कस्ट्रक्सन प्रालिले तिव्रताको साथ अघि बढाएको सडक असोजसम्ममा ८० प्रतिशत ट्रयाक सम्पन्न भई ग्राभेल सुरु हुने उनले बताए।


Facebook Comment


No ads found for this position