त्रिशूलीमा बसपार्क निर्माण

त्रिशूली (नुवाकोट), १७ साउन । सबैभन्दा पुरानो बजार त्रिशूलीमा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ । साँघुरो बजारको अव्यवस्थित पार्किङलाई व्यवस्थित गराउन त्रिशूली बहुमुखी क्याम्पस पछाडिको खाली जग्गामा बसपार्क निर्माण गरिएको हो ।

विदुर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीयको सक्रियमा बसपार्क निर्माण गरिएको हो । त्रिभुवन त्रिशूली उच्च माविले उपलब्ध गराएको सात र थप एक गरी आठ रोपनी क्षेत्रफलको जग्गामा एकैपटक २५ बससहित ४० वटा यातायातका साधन अट्ने क्षमताको बसपार्क रु ८० लाखमा निर्माण गरिएको विदुर नपाका कार्यकारी अधिकृत प्रेमकुमार रसाइलीले बताउनुभयो ।

खर्च भएकामध्ये ७० प्रतिशत विदुर नपा कार्यालय र ३० प्रतिशत स्थानीय उपभोक्ता समितिबाट जुटाएर निर्माण गरिएको हो । बसपार्क सञ्चालन भएपछि सोही स्थानबाट बस तथा अन्य यातायातका साधन काठमाडौँ, धुन्चे, गल्छी, चितवनलगायत स्थानीय बजारका लागि छुट्न थालेका छन् ।

त्रिशूलीमा बसपार्क निर्माणअघि त्रिशूली जलविद्युत् केन्द्रको मूल ढोका अगाडि यातायातका साधन पार्किङ गर्दा बजारको सौन्दर्य गुम्नुका साथै अव्यवस्थित हुँदै आएको थियो । बसपार्क सञ्चालनले नगरको विकासमा महत्वपूर्ण फड्को मारेको स्थानीयवासी मोहनबहादुर श्रेष्ठले बताउनुभयो ।

बसपार्क निर्माण पनि बजारमा सवारी साधनको जाम हट्ने र सहजरुपमा व्यावसायिक गतिविधि अघि बढ्ने स्थानीयले विश्वास लिएका छन् ।


Facebook Comment


No ads found for this position