त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौँ, १८ चैत : मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।

मर्मतको अवधि अर्थात् (१ अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ ।अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एकमात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती नहुने स्पष्ट पारे । क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अप्रिल १ अर्थात् आज रातिदेखि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सुरु हुनेछ । मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्वसम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको निर्देशक पौडेलले बताए ।

पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेसिनका साथमा राति धावनमार्ग बनाइनेछ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको हो । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर पहिलो चरणमा धावनमार्गको मर्मत गरिने बताए । धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका कामसक्ने योजना छ ।धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बर महिनामा क्यानले चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पाेरेसनसँग निर्माण सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुनसकेको छैन ।

धावनमार्ग सकेपछि ‘पार्किङ वे’ को काम सुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन सुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ ।
यसरी गरिन्छ मर्मत विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट सुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ । जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ । यो भूकम्पपछि बढी समस्या आएको छ । क्यानले धावनमार्ग मर्मतका लागि तीन जोत्ने मेसिन, तीन पेभलर मेसिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गरेको छ ।
चुनौतीपूर्ण काम धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण छ । “उपकरणको पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौँ । समस्या आउन सक्छन् किनभने पहिलो पटक यो काम गर्दैछौँ,” महानिर्देशक गौतमले भने । बारम्बार कालोपत्रे उप्किएर अवरुद्ध हुँदै आएको विमानस्थलमा अब स्थायी समाधान खोजिने भएको हो ।

विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत सुरु गरिने विमानस्थलले जनाएको छ । दिनहुँ ८० मिटर कालोपत्रे उक्काएर मर्मत गरिने छ । अहिले ३० सेन्टिमिटर गहिराइसम्मको कालोपत्रे हटाएर नयाँ कालोपत्रे हाल्ने प्राधिकरणको योजना छ ।खासगरी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन ।

विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित ३१ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । प्राधिकरणको प्रतिवेदनअनुसार देशभरका ५६ विमानस्थलमध्ये ३३ सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये ३१ विमानस्थलमा कालोपत्रे गरिएको छ । साभार काराेबार


Facebook Comment


No ads found for this position