तीन कोइरालाले भने– नेतृत्व सुस्त भयो

कुलचन्द्र न्यौपाने

कांग्रेस नेतृत्वको सुस्त कार्यशैली र गुटबन्दीका कारण पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रिय राजनीतिमा क्रियाशील कोइराला परिवारका तीन नेताले बुधबार एकै स्वरमा पार्टी संगठन एक बनाउने अभियान सुरु गर्ने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री सशांक कोइराला निवास टोखामा उनीसहित केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाबीच भएको भेटघाटमा यस्तो उद्घोष गरिएको हो ।पारिवारिक भेटघाट भनिएपनि राजनीति र पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर लामो छलफल भएको थियो । तीन कोइरालाले सम्पन्न दुई चरणको स्थानीय तहको चुनावमा कांग्रेस दोस्रो हुनुमा पार्टी नेतृत्वको अलोकप्रिय निर्णय र गुटबन्दीका आधारमा टिकट वितरणलाई मुख्य कारक भएको निष्कर्ष निकालेका थिए ।

वीपी पुत्र संशाक, नोना पुत्र शेखर र गिरिजाप्रसाद पुत्री सुजाताबीच वैचारिक रुपमा एक रहेको सन्देश दिनसमेत यस्तो भेटघाट गरिएको केन्द्रीय सदस्य शेखर कोइरालाले बताए । ‘पार्टी एक बनाउने र कोइराला परिवार एक छन् भन्ने सन्देश दिन पनि यो पारिवारिक भेटघाट गरिएको हो,’ शेखरले भने, ‘गुटभित्र अर्को गुट जन्माउने योजना पटक्कै होइन ।’

पार्टी संगठन चलायमान हुन नसकेको भन्दै पार्टीमा जस्तै सरकारमा पनि प्रधानमन्त्री शेरवहादुर देउवाको शैली सुस्त रहेको निष्कर्ष उनीहरुले निकालेका थिए । नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआउँदा पार्टी संगठनलाई कमजोर बनाउने भन्दै शेखर र सुजाताले पार्टी नेतृत्वमा रहेका देउवालाई झकझकाउन महामन्त्री सशांक कोइरालाको ध्यानाकर्षण गराएका थिए ।

महामन्त्रीमा रहेर पनि क्रियाशील भूमिकामा नरहेको भन्दै त्यसलाई सुधार गर्नपनि सशांकलाई दुई कोइरालाले सुझाव दिएका थिए । ‘मैले सभापतिलाई धेरैपटक पार्टी एक बनाएर क्रियाशीलताका साथ अघि बढ्न आग्रह गर्दै आएको छु’ सशांकको भनाइ थियो,‘तर सभापतिको भनाइ धेरै काट्न नमिल्ने भएकाले समस्या आएको छ ।’ उनले समूहका नाममा हुने छलफल र गुटबन्दीप्रति पनि आफूलाई चित्त नबुझेको बताएका थिए ।

बैठकमा पार्टी नेतृत्वमा आएको १५ महिना बित्दा पनि देउवाले पदाधिकारी नियुक्ति गर्न नसकेको, केन्द्रीय कार्यसमिति, विभाग र समितिहरुलाई पूर्णता नदिएकामा तीनै कोइरालाले असन्तुष्ट पोखेका थिए । त्यही शैली सरकारमा देखिन थालेपछि त्यसको असर समेत पार्टी संगठनमा पर्ने भन्दै महामन्त्रीतहबाटै नेतृत्वलाई बारम्बार सुधारउन्मुख हुन दबाव दिनुपर्नेमा जोड दिएका थिए ।

शेखरले असोज २ मा हुने प्रदेश नम्वर २ को चुनावमा कोइराला परिवारका तीन सदस्य नै अगल/अलग ठाउँमा खटिएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने बताए । आगामी १४ औं महाधिवेशनमा पार्टी नेतृत्व लिनेसम्मका कुराकानी भएको हो भन्ने प्रश्नमा शेखरले भने, ‘त्यो त त्यतिबेलाकै परिस्थितीबाट थाहा हुने कुरा भयो । अहिल्यै त्यस विषयमा छलफल भएको छैन । पार्टीलाई गुटबन्दीबाट मुक्त राखेर एक बनाउने अभियान नै हाम्रो मुख्य जोड हो ।’

शेखर गुटबन्दीको विरोध गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाउने बैठकमा समेत अनुपस्थित रहँदै आएका छन् ।

http://bit.ly/2tpJ7GE


Facebook Comment


No ads found for this position