टानमा व्यावसायिक नेतृत्व जरुरी

 

काठमाडौँ, १० कात्तिक : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका दुई समूहले आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्व महासचिवद्वय मोहन लम्साल र नवराज दाहालको समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी व्यावसायिक एजेण्डा प्रस्तुत गरेका हुन् ।

निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गरेका उनीहरूले चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । दुवै समूहले व्यवसायिक भेला, छलफल र पत्रकार सम्मेलन गरी माहोल आफ्नो पक्षमा पार्न लागिपरेका हुन् ।

यसैसन्दर्भमा मोहन लम्साल समूहले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै टानको संस्थागत सुदृढीकरण, पर्यटन प्रवद्र्धन र व्यावसायिक हक, हितमा लागिपर्ने जनाएको छ ।

अध्यक्षका प्रत्यासी लम्सालले स्वच्छ प्रतिस्पर्धाबाट व्यावसायिक नेतृत्वले टानको नेतृत्व लिई नेपाली पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न अभियान चलाइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले व्यवसायी भ्याट र स्थानीय करको मर्कामा परेको भन्दै आफू निर्वाचित भएमा सो समस्या समाधान गर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी सागर पाण्डे, केशव पाण्डेलगायतले टानको छविलाई उचो बनाउन लम्सालको नेतृत्व आउन जरुरी भएको उल्लेख गर्नुभयो ।

अध्यक्षका अर्का प्रत्यासी नवराज दाहालले पदयात्रा पर्यटन व्यवसायमा सशक्त र अनुभवी समूह भएकाले आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

लम्साललाई लोकतान्त्रिक समूह र दाहाललाई वामपन्थी पर्यटन व्यवसायी समूहको समर्थन रहेको छ ।

एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।


Facebook Comment


No ads found for this position