जथाभावी सडक निर्माणले पदमार्ग मासियो

तेह्रथुम,  फागुन  : एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ ।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्ग मासेर सडक निर्माण गरिएको छ । यसले गर्दा पदमार्ग भएर आउने पर्यटक प्रभावित भएका छन् । सडक विस्तारसँगै पर्यटकीय यो क्षेत्र ओझेलमा पर्न थालेको छ ।

नेपाल पर्यटन बोर्डले नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्येमा सूचीकृत गरेको यो क्षेत्र यति बेला सडक विस्तारका कारण क्षतविक्षत भएको छ । गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टीएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिएको छ ।

यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन प्रभावित बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो । वर्षको छ महिना कुमारी रहने टीएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरुप बनेको उहाँको भनाइ छ । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् ।

एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण संकटमा परेको पदमार्गमा रहेको चौकीबजारका होटल व्यवसायी उदकुमार लोले बताउनुभयो  । यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारी सञ्चालन हुन थालेका छन् ।


Facebook Comment


No ads found for this position