चितवनकाे मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय

रत्ननगर, चितवन, ३० असार : चितवन रत्ननगर नगरपालिका–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट वनले वार्षिक कार्य योजना पास गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको उक्त सामुदायिक वनमा पर्या–पर्यटन विकास र संरक्षणका लागि शुल्क लिने निर्णय गरेको अध्यक्ष ईश्वरी लामिछानेले जानकारी दिनुभयो ।

वनले आफ्नो सेवा क्षेत्रभित्र प्रवेश गर्ने जीप, कार, भ्यान र अन्य गाडीलाई एकपटक प्रवेश गर्दा रु पाँच सय रुपैयाँ र प्रतिव्यक्ति नेपाली पर्यटकलाई रु २५ तथा विदेशीलाई रु २०० तोकेको छ । पर्यटन शुल्क आगामी साउन १ गतेबाट लागू हुने उहाँको भनाइ छ ।

जैविक मार्गक्षेत्रमा पर्ने टिकौली वनको भित्री भागमा विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल रहेको छ । गैंँडा तथा विभिन्न प्रजातिका वन्यजन्तु, चरा, गोही हेर्न तथा प्राकृतिक रमणीय वातावरणमा रमाउन यहाँ पर्यटक पुग्छन् । उक्त तालमा टिकौली वन हुँदै जानुपर्छ ।

महत्वपूर्ण संरक्षित क्षेत्र भएको र पर्यटकीय गतिविधिसमेत बढेकाले दिगो संरक्षण र व्यवस्थापन गर्न शुल्क लिने निर्णय गरिएको सामुदायिक वनले जनाएको छ । संरक्षण व्यवस्थापनका लागि शुल्क उठाउने निर्णयलाई सहज रुपमा लिन सबै पर्यटन व्यवसायीलाई वनका अध्यक्ष लामिछानेले आग्रह गर्नुभएको छ ।

वन क्षेत्रमा पर्ने टिकौली ताल, चेपाङ ताल, ठूली घोल, आमसोती घोलमा लोपोन्मुख रहेका विभिन्न प्रजातिका चराको मुख्य वासस्थानसमेत रहेको वनका कार्यालय सचिव कृष्ण आचार्यले बताउनुभयो ।

विभिन्न मठमन्दिर, ईको कल्चर पार्क, चेपाङ र थारु बस्ती समेत यहाँ रहेको छ । यहाँको वन क्षेत्रमा दुर्लभ एक सिङ्गे गँैडा र पाटे बाघसँगै अन्य वन्यजन्तुसमेत देख्न सकिन्छ । अध्यक्ष लामिछानेले लागू हुने शुल्कबाट उठेको १० प्रतिशत रकम वीसहजारी ताल संरक्षण समितिलाई उपलब्ध गराउने जानकारी दिनुभयो ।

यहाँको मध्यवर्ती क्षेत्र हेर्ने मृगकुञ्ज उपभोक्ता समितिका उपाध्यक्ष बुद्धि विक भने यसरी शुल्क लिनु सान्दर्भिक नहुने तर्क गर्नुहुन्छ ।


Facebook Comment


No ads found for this position