चिडियाखानालाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने

काठमाडौँ, २८ असार । पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ ।

चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका लागि छुटृै नीति बनाउन र शैक्षिक संस्थाको रुपमा विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभएको हो ।

चिडियाखानामा हाल झन्डै ४०० बालबालिका यहाँको गतिविधिमा सहभागी रहेकाले शैक्षिक संस्थाका रुपमा विकास गर्न सकिने बताउनुभएको हो ।

नीति नहुँदा सञ्चालन गर्न समस्या हुने भएकाले सरकारले नीति निर्माण गरे व्यवस्थापन गर्न सहज हुने प्रमुख ज्ञवालीको भनाइ छ । बालबालिकालाई नियमितरुपमा यस्ता स्थानको अवलोकन गराउँदा उनीहरुले जीव जनावरप्रति गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आउने छ ।

झन्डै ४०० बालबालिका चिडियाखानामा रहेका जीव जनावरलाई खाना खुवाउने, सरसफाइलगायतको काममा सहभागी हुँदै आएको व्यवस्थापनले बताएको छ ।

वार्षिकरुपमा कुल बजेट रु आठ करोड रहेको चिडियाखानामा वार्षिक १० लाख सर्वसाधारणले अवलोकन गर्दै आएका छन् । वार्षिक रुपमा रु एक करोड ५० लाख जीव जनावरलाई खाना खुवाउनको लागि खर्च हँुदै आएको छ । बाघलाई दैनिक १० किलो भैँसीको मासु र हात्तीको लागि आठ किलो धान, फर्सी, गाँजरलगायत खाना खुवाउने गरिएको छ ।

जम्मा ६ हेक्टर क्षेत्रफलमा रहेको सदर चिडियाखानामा झन्डै ९०० जीव जनावर तथा चरा रहेका छन् । उक्त सङ्ख्यालाई हेर्ने हो भने उक्त स्थान अत्यन्तै साँघुरो भएको छ । चिडियाखानालाई भक्तपुरको सूर्यविनायकमा सार्ने तयारीका कामहरु पनि भइरहेको बताइएको छ ।

विसं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेरले निजी रुपमा खोल्नुभएको चिडियाखाना विसं २०११ देखि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।


Facebook Comment


No ads found for this position