घेरामा देउवा र प्रचण्ड

१५ साउन, काठमाडौं ।  नयाँ गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टीभित्र मन्त्री बन्ने आकांक्षीहरुका कारण दवाबमा परेका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा त सरकारका लागि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्को हानथाप नै परेको छ।

prachanda-sherbahadurसभापति शेरबहादुर देउवाका निकट नेता विमलेन्द्र निधि आफैँ सरकारमा पार्टीको नेतृत्व गर्ने लविङमा लागेका छन्। त्यसका लागि नेता निधिले सभापति देउवालाई ‘अरुलाई अहिल्यै वचन नदिन’ आग्रह गरिसकेका छन्।
‘साथीहरुको चाहना छ, मैले नै सरकारमा पार्टीको नेतृत्व गरुँ भन्ने, हेरौं के कसो हुन्छ?’ नेता निधि घुमाउरो र चलाखीपूर्ण तरिकाले आफ्नो चाहना यसरी प्रकट गर्छन्। भन्छन्, ‘पार्टीको उपसभापति भएर त सरकारमा जानेहरु हाम्रो पार्टीमा धेरै छन्।’
नेता निधिलाई सभापति देउवाले निकट भविष्यमै पार्टी उपसभापतिमा मनोनयन गर्ने निश्चितजस्तो भएकाले कांग्रेसभित्र उनले सरकार र पार्टीमा दुवैतिर रजगज गर्न नपाइने भन्ने आवाज पनि उठिरहेको छ। देउवाका नजिककै गोपालमान श्रेष्ठ र महाधिवेशनका बेला कुम जोड्न पुगेका अर्जुन नरसिंह केसीले त निधिलाई कुनै पनि हिसावमा सरकारमा पठाउन नहुने तर्क गरिरहेका छन्। यसअघि पनि पटक–पटक मन्त्री भइसकेका निधिलाई पार्टीमा स्थान दिने भएपछि आफूलाई उपप्रधानसहितको गृह मन्त्रालयमा पठाउनुपर्ने माग नेता गोपालमानको छ।
‘छलफल भइरहेको छ,’ नेपालखबरसँग नेता श्रेष्ठले धेरै कुरा गर्न चाहेनन् तर उनले देउवा निवासमा नै पुगेर आफ्ना कुरा राखिसकेको कांग्रेस स्रोतको दाबी छ। त्यसैगरी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकारमा पार्टीको नेतृत्व शेखर कोइरालाले गर्नुपर्ने लविङ गरिरहेका छन्। यसका लागि नेता कोइराला आफैँले पनि सभापति देउवालाई फकाइरहेका छन्।

उता, महाधिवेशनका बेला तत्कालीन संस्थापनको बागी बनेर देउवालाई सघाएका पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाउ पनि सरकारमा जाने छ। सिटौलालाई सरकारमा पठाउन भने देउवालाई सजिलो छैन, किनभने उनलाई साथ दिँदै आएका पुराना नेताहरु यसमा सहमत हुन गाह्रो छ। त्यसैले देउवाको भित्रि मनसाय नेता निधिलाई नै सरकारमा पठाउने रहेको उनी निकट स्रोतहरुको भनाइ छ। ‘तर त्यसका लागि सभापतिले तालमेल मिलाउन पर्छ,’ देउवा निकट एक नेता भन्छन्, ‘निधिलाई दिँदा अरु बिच्किने खतरा रहेकाले उहाँ चर्को अन्योल र दवाबमा हुनुहुन्छ।’

कांग्रेस सभापति देउवाले आइतबार आफ्नै निवासमा पुगेका केही नेताहरुलाई भने हरेक प्रदेशबाट मन्त्री रहने निर्णय आउनेछ भनेर आश्वस्त पारेका थिए। त्यसैले कांग्रेसले प्रदेशकै आधारमा मन्त्री चयन गर्ने न्यूनतम मापदण्ड बनाउने सुरसार गरेको छ। यसमा पौडेल पक्ष पनि सहमत भइसकेको छ।

नयाँ बन्ने सरकारको १३ मन्त्रालय हात पार्ने कांग्रेस सभापतिले मात्र होइन प्रधानमन्त्रीका रुपमा अघि सारिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो भागमा पर्ने आठ मन्त्रालय कसकसलाई जिम्मा दिने भन्ने विषयमा त्यत्तिकै दवाब महसुस गरिरहेका छन्।
यति हुँदाहुँदै पनि केन्द्रबाट अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्रीमा नेता कृष्णबहादुर महराको नामबारे बाक्लो चर्चा भइरहेको छ। नयाँ गठबन्धनका खास खेलाडी कांग्रेसका नेता निधि र केन्द्रका महरा मानिन्छन्। त्यसैले महराको विषयमा पार्टीभत्रि धेरै विवाद सृजना नहुने बताइन्छ। तर, यसअघि मन्त्री भएका केही आकांक्षीका कारण नाम चयनमा किचलो बढ्ने संकेत देखिएपछि केन्द्रले अहिले मन्त्री हुने मापदण्ड बनाउने सुरसार गरिरहेको छ।

ओली नेतृत्वको सरकारमा राम्रो काम गर्नेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री अग्नि सापकोटा र सामान्य प्रशासनमन्त्री रेखा शर्मा पुनः मन्त्री बन्ने सम्भावनाबारे केन्द्रका नेताहरुबीच अनौपचारिक छलफल चलिरहेको स्रोतले बताएको छ। पोखरेल केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग नजिक मानिन्छन्। तर, यसपटक उनीसँगै नजिक मानिने डीआर पौडेलले पनि मन्त्री हुने रुची देखाएपछि पोखरेलको स्थान असुरक्षित हुन सक्ने अनुमान गरिएको छ।

माओवादीबाट मन्त्री बन्ने नयाँ सम्भावित अनुहारमा राम कार्की, प्रभु साह, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गौरीशंखर चौधरी र सीता नेपालीको चर्चामा छ। ‘अहिले कुन–कुन मन्त्रालय कसरी बाँडफाँट हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन, त्यसैले कसलाई मन्त्री बनाउने भन्ने कुरा त प्रधानमन्त्री चयन भएपछि मात्र थाहा हुन्छ,’ माओवादी प्रवक्ता पम्फा भुसाल भन्छिन्।


Facebook Comment


No ads found for this position