घुमफिरको योजनामा हुनुहुन्छ ? यी हुनसक्छन् उपयुक्त गन्तव्य

देश घुमौं
पछिल्लो समय घुम्न निस्कने नेपालीहरुको संख्यामा बृद्धि भएको छ। घुम्ने मान्छेका लागि कुनै खास मौसम हुँदैन। अथवा प्रत्येक मौसममा घुम्नुको मज्जा नै बेग्लै हुन्छ। तर कुन गन्तव्य कुन मौसममा घुम्दा खोजेकै आनन्द लिन सकिन्छ भनेर थाहा भएन भने मज्जा लिन नसकिने बताउँछन् यात्रामा निस्कनेहरु।
नेपालको आन्तरिक पर्यटन आजका मितिसम्म धार्मिक स्थलहरुमा मात्र केन्द्रित रहेकोले मौसम अनुसारको गन्तव्य छनौट गरेर घुम्न निस्कनेहरुको संख्या धेरै नभएपनि पछिल्लो समय ‘चुजी’ पर्यटकहरुको ट्रेन बढ्दो रहेको छ।
अघिल्ला वर्षहरुमा विदेशी पर्यटकको रोजाइमा पर्ने पोखरा चितवन,लुम्बिनी तथा जनकपुरजस्ता गन्तव्यमा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेबाट नेपाली पनि गन्तव्य छनौटममा अग्रसर भएको पर्यटन व्यवसायीको अनुभव छ।
भदौ लागिसकेको अहिलेको मौसममा पानी कहाँ कति पर्छ भन्ने कुरा भन्दा पनि त्यस्तो मौसममा त्यहाँको ‘सिन’ कस्तो हुन्छ भन्ने कुराले फरक पार्ने भएकोले गन्तव्य छनौटमा ध्यान दिन सुझाउछन् ट्राभलरहरु।
पहाडी क्षेत्रका गन्तव्यहरुमा पूर्वको माइपोखरीदेखि पश्चिमको खप्तडसम्मका विभिन्न गन्तव्य उपयुक्त हुने पर्यटनसँग सरोकार राख्ने सरोकारवालाहरुको सुझाव छ।
कुनकुन गन्तव्य उपयुक्त हुनसक्छन्
हामीले पर्यटन क्षेत्रमा लामो अनुभव भएका केही सरोकारवालाहरुसँगको कुराकानीका आधारमा यी गन्तव्यहरु उल्लेख गरेका छौं यीसँगै अरु गन्तव्य पनि उत्तिकै उपयुक्त हुनसक्छन्।

माइपोखरी
रामशार क्षेत्रमा सुचिकृत इलामाको पाइपोखरी प्राकृतिक सौन्दर्य तथा धार्मिक हिसाबले पनि आकर्षक छ। धार्मिक,वातावरणीय तथा ऐतिहासिक कोणबाट यो क्षेत्र पनि घुमघामको उपयुक्त बिकल्प हुनसक्छ।


पाथिभरा
धार्मिक हिसाबले निकै प्रख्यात रहेको पाथिभरा देवी मन्दिर ताप्लेजुङमा पर्छ। समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको यो मन्दिरबाट विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल सहजै हेर्न सकिन्छ।

हलेसी
नेपालमा यसैपनि धार्मिक पर्यटन नै आन्तरिक पर्यटनको आधारको रुपमा रहेको छ। खोटाङमा रहेको हलेसीको गुफा जुन ६ हजार वर्ष पुरानो भएको विश्वास छ। भगवान शिवलाई पुजा गर्ने भक्तजनहरुको आकर्षण हुने यो गन्तव्य पनि घुमघामको अर्को बिकल्प हुनसक्छ।


पोखरा
पोखरा भन्ने वित्तिकै पर्यटकको पहिलो रोजाईमा पर्ने स्थान हो। यहाँ सबै खालको पर्यटकीय आकर्षण भएले पनी यो क्षेत्र पहिलो रोजाईमा परेको हो। यो क्षेत्रमा पुगेपछि आँखै अगाडि हिमाल हेर्न मात्र नभएर तालमा बोटीङ गर्न सकिन्छ। यती मात्र नभएर यहाँ गुफा हेर्न चाहनेले गुफा तथा साहसीक खेल रुचाउनेले प्याराग्लाईडीङ, अल्टा, बन्जी, जिप फलाएर जस्ता साहसीक खेलहरुको आनन्द लिन सक्छन्। यसका साथै धर्म प्रती रुची राख्ने पर्यटकहरुको विभीन्न धार्मिक महत्वका मन्दिरहरू बिन्ध्यबासीनी,बाराही मन्दिरसमेत रहेको छ। यो क्षेत्रमा एक रातदेखि ३ रातसम्म बिताउन सकिन्छ। यो सदाबहार गन्तव्य जहिले पनि उत्तिकै फलदायी हुनसक्छ।


मुक्तीनाथ
हिन्दु र बौद्ध धर्मालम्बीहरुको संयोजनको नमुनाको रुपमा रहेको मुक्तीनाथ केबल पुजापाठको लागिमात्र नभएर सुन्दर पर्ततीय अवलोकनको लागि पनि उपयुक्त हुनसक्छ। समुन्द्र सतहबाट ३ हजार ७ सय १० मिटर उचाईमा रहेको यो नेपालीको आकर्षक गन्तव्य हो।


मनकामना
गोरखामा रहेको मनकामना मन्दिरको दर्शन हिन्दु धार्मालम्बीहरुको लागि तीर्थस्थलजस्तै हो। चितवनको कुरिनटारबाट केबलकार चढेर जाने यो मन्दिरबाट मनास्लु हिमचुली तथा अन्नपुर्ण हिमश्रृखलाको सुन्दर दृष्यावलोकन पनि गर्न सकिन्छ।


रारा
मुगुमा रहेको रारा ताल अहिले आकर्षण्को केन्द्रमा रहेको छ। विशेषगरी पछिल्लो समय सडक यातायात संजालले जोडिएपछि त्यहाँ पुग्ने पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको छ। छिनछिनमा पानीको रङ परिवर्तन हुने यो तालमा तीन प्रजातीका माछाहरू पाईन्छन्। तर, स्नो ट्राउट प्रजातीको माछा यो ताल बाहेक नेपालको अन्यत्र कही पनि पाईदैन। लम्बाई ५ किलोमिट र चौडाई ३ किलोमिटर रहेको रारातालको क्षेत्रफल करिब ११ किलोमिटर रहेको छ। हिँडेरै फन्को मार्ने हो भने ५ घन्टा लाग्छ।

जुम्ला
नेपाली भाषाको उद्गमस्थल मानिने सिंजा उपत्यका जुम्लाको मुख्य आकर्षण हो । त्यस्तै चन्दननाथ मन्दिर पनि अर्को आकर्षण हो। हवाई तथा स्थलमार्गबाट पनि पुग्न सकिने जुम्ला अर्को आकर्षणको केन्द्र हो। रारा पुगेपछि जुम्ला जानुपनि नजिकै पर्ने भएकोले रारासँगै जुम्लाको घुमफिर योजना उपयुक्त हुनसक्छ।


खप्तड
सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य हो खप्तड क्षेत्र। धार्मिक तथा प्राकृतिक संयोजनको अनुमपम संयोजन मानिने यो गन्तव्यमा खप्तड बाबाको आश्रमसँगै त्यहाँको पहाडी फाँट अवलोकन पनि मुख्य आकर्षण हो। हिउँद याममा यहाँको ‘स्नोफल’को दृष्यावलोकन झनै अनुपम अवलोकन हुने व्यावसायीहरु बताउँछन्। प्रचारप्रसार पूर्वाधारको अभावमा पछाडि परेको यो गन्तव्यमा प्राय स्वदेशी पर्यटकहरु नै जान्छन्।

लोमाङथाङ
लोमाङथाङ स्वभाविक रुपमा जाडो ठाउँ हो तर यो एउटा यस्तो गन्तव्य हो जहाँ जानको लागि कुनै पनि मौसम बाधक वा साधक हुँदैन अर्थात यो सदाबहार गन्तव्य हो।

जिरी
नेपालको स्वीजरल्याण्ड भनेर परिचीत जिरी राजधानीबाट करिब दुई सय किलोमिटर टाढा रहेको छ। प्राकृतिक सुन्दरताको अवलोकनको लागि जिरी उपयुक्त गन्तव्य हुनसक्छ। वरी परी डाँडा बिचमा बजार डाँडाँभरी मनै लोभ्याउने हरियाली जंगल, अनी फाँट। जंगलको विचमा सुन्दर बस्तीका कारण यो गन्तव्य धेरै नेपालीको पनि रोजाइको गन्तव्य हो।


बन्दिपुर
एउटा ऐतिहासिक सहर जसको आफैमा महत्व त छँदैछ। कुनै समयको ब्यापारीक केन्द्र रहेको र पछि विविध कारणले किनारा लागेको जिउँदो इतिहास पनि हो बन्दिपुर। बन्दिपुको बारेमा वर्णन गरिने विभिन्न मिथकहरु आफ्नो ठाउँमा छन् तर हिउँदको समयमा खुलेको अन्नपुर्ण र धौलागिरी हिमश्रृखलाको अवलोकनका लागि उपयुक्त गन्तव्य हुनसक्छ। काठमाडौं,पोखरा बुटवल बाट धेरै टाढा पनि नभएको यो गन्तव्य एकदिने यात्राका लागि उपयुक्त घुमफिर गन्तव्य पनि हो।


स्वर्गद्वारी
प्यूठान जिल्लामा रहेको हिन्दु धार्मिक केन्द्र हो स्वर्गद्वारी। वैदिक धर्म संस्कृतिको अध्ययन अध्यापन हुने यो क्षेत्र पवित्र धार्मिक तिर्थस्थल पनि हो जहाँको घुमफिर लाभदायक पनि हुनसक्छ।
पहाडी क्षेत्रमा घाम लाग्ने र आकाश खुल्ले भएपनि अलिक जाडो हुने भएकोले घुम्न जानेहरु डाराउँछन्। तर पनि बन्दोबस्तीको तयारी गर्ने हो भने त्यस्तो गाह्रो नहुने व्यवसायीहरुको अनुभव छ।


Facebook Comment


No ads found for this position