खानीडाँडामा विमानस्थलमा पुनः उडान सञ्चालन

खोटाङ, २१ साउन । हुस्सुका कारण अवरुद्ध खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा पुनः उडान सञ्चालन भएको छ । गत असार २९ गते नेपाल एअरलाइन्सको विमानले उडान भरेपछि अवरुद्ध खानीडाँडा विमानस्थलमा झन्डै महिनादिनपछि पुनः उडान सञ्चालन भएको हो । अवरुद्ध विमानस्थलमा उडान सञ्चालन भएपछि जिल्ला अस्पतालबाट अन्यत्र सारिने बिरामीलाई सबैभन्दा सहज भएको छ । उडान अवरुद्ध हुँदा अस्पतालले सारेका बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पु¥याउनुपर्ने बाध्यता रहेको रहेको थियो ।

विमानस्थल परिसरमा मौसम सफा भएपछि पुनः नियमित उडान सञ्चालन गरिएको विमानस्थल प्रमुख यादवसेन राईले बताउनुभयो । खानीडाँडा विमानस्थलमा नेपाल एअरलाइन्सको विमानले शुक्रबार, शनिबार, आइतबार र बुधबार काठमाडौँ–खानीडाँडा–काठमाडौँ र मङ्गलबार र शुक्रबार विराटनगर–खानीडाँडा–विराटनगरका लागि नियमित उडान भर्दै आएको छ ।

गत वर्ष मात्रै कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एअरलाइन्स, तारा र गोमा एअरलाइन्सले नियमित उडान भर्दै आएका छन् । हिलाम्मे र धुलाम्मे अवस्थामा उडान हुँदै आएको खानीडाँडा विमानस्थल कालोपत्र गरेपछि नियमित उडान हुनेमा जिल्लावासी हर्षित बनेका थिए ।

जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल छन् । यीमध्ये दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा पनि गत असारदेखि नै उडान अवरुद्ध छ ।


Facebook Comment


No ads found for this position