खप्तड क्षेत्रले देशकै पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने:प्रधानमन्त्री

मंसिर २३, २०७३, सुदूर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडको प्रधानमन्त्री पुष्पकमल दाहालले अवलोकन गरेका छन् । सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बिहीबार दिउासो खप्तड क्षेत्रको अवलोकन भ्रमण गरेका हुन् ।

दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको अनुगमन गरेर नेपाली सेनाको हेलिकप्टर मार्फत उनी खप्तड पुगेका थिए । खप्तडमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पले दिएको जानकारी अनुसार दिउँसो करिब ३ बजे प्रधानमन्त्री दाहाल खप्तड राष्ट्रिय निकुञ्जमा पुगेका थिए । त्यसपछि हेलिकप्टबाट झरेर उनले खप्तड त्रिवेणी र सेनाको ब्यारेकको अवलोकन गरेका थिए ।

झण्डै १५ मिनेट जती खप्तडको स्थलगत भ्रमण गरेका प्रधानमन्त्रीले हेलिकप्टरमार्फत आकाशबाट खप्तड क्षेत्रको अवलोकन गर्दै सुर्खेतका लागि उडेको नेपाली सेना श्रोतले बताएको छ । प्रधानमन्त्री खप्तडको दृष्यहरु अवलोकन गर्दा अत्यन्तै रोमाञ्चित भएको र यसले देश कै पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

प्रधानमन्त्रीको खप्तड भ्रमणले यस क्षेत्रको प्रर्यटन विकासमा अर्थ राख्ने यहाँका स्थानीय र पर्यटन व्यवसायीहरुले आशा व्यक्त गरेका छन् । ‘भू–स्वर्ग’ को नामले परिचित खप्तड क्षेत्र पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिमको प्रमूख गन्तव्य हो । सरकारी वेवास्ताका कारण पर्यटन प्रवद्र्धनका कार्यक्रम र पूर्वाधारहरु अझै बन्न सकेका छैनन् । यस क्षेत्रको विकासका लागी गरेका केही प्रयासहरु पनि विभिन्न खाले अनियमितताका कारण प्रभावकारी हुन नसकेका सुदूरपश्चिमका पर्यटन व्यवसायीहरु बताउँछन् ।

‘देशको कार्यकारी प्रमुखले खप्तडको भ्रमण गर्नु खुसीको कुरा हो,’ सुदूर पश्चिमका पर्यटन व्यवसायी कृष्णबहादुर महराले भने, ‘प्रधानमन्त्रीले खप्तडको अवस्था आफ्नै आँखाले हेरेर केही परिर्वतन गर्न खोजेका हुन् या खाली रमाइलो गर्नका लागी मात्र गएका हुन् । यो त पछि नै थाहा हुन्छ ।’ खप्तडमा पर्यटन पुर्वाधार विकास र निजी क्षेत्रलाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्न प्रधानमन्त्रीले चाहेमा धेरै कुरा परिर्वतन हुन सक्ने उनको भनाई छ ।

 

यस्तै प्रधानमन्त्री दाहालको भ्रमण हुनु स्वागतयोग्य कुरा भएको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । ‘राज्यको कार्यकारी प्रमूखले भ्रमण गर्नु स्वागत योग्य छ । यसले केही अपेक्षा पनि बढाएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले भ्रमण गरेर गैसके पछि यहाँको विकासको लागी ठोस योजना आउन सके यो भ्रमणले अर्थ राख्छ ।’

यता खप्तडको विकासका लागि सरकारी स्तरबाट गठित खप्तड क्षेत्र पर्यटन विकास समितिले भने भ्रमणको विषयमा आफूहरुलाई पनि जानकारी गराई दिएको भए राम्रो हुने बताएको छ । समितिका अध्यक्ष पूर्णराज जोशीले भने, ‘प्रधानमन्त्रीको खप्तड भ्रमण हुनु खुशीको कुरा हो । तर, यो विषयमा हामीलाई पनि खबर भएको भए खप्तडको अवस्थाका बारेमा पनि जानकारी गराउने थियौं ।’

खप्तडको भ्रमणपछि त्यहााको पर्यटन विकासमा प्रधानमन्त्रीमा भूमिकाको अपेक्षा रहेको बताए । उनले भने, ‘निश्चय पनि भ्रमणले उहााको चासो झल्काएको छ । त्यो चासोले यहााको विकासको मार्गरेखा कोरोस् भन्ने हाम्रो अपेक्षा हो ।’


Facebook Comment


No ads found for this position