खण्डहर बन्दै चन्द्र शमशेरले बनाएका सप्तरीका कलात्मक र ऐतिहासिक भवनहरु

दिनेश शर्मा  राजविराज– राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित चन्द्रनहरको संरक्षणका लागि कर्मचारी बस्न बनाइएका सप्तरीका कलात्मक र ऐतिहासिक भवनहरु संरक्षणको अभावमा खण्डहर बनेका छन्।

कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्था डिभिजन कार्यालय–२ को स्वामित्वमा रहेका ऐतिहासिक पृष्ठभूमि बोकेका फत्तेपुरस्थित आधा दर्जन जति भवन अहिले पनि संरक्षणको पर्खाइमा छन्। जसमध्ये एउटा भवन सशस्त्र प्रहरी बल बेस क्याम्पले प्रयोगमा ल्याएको छ। यस्तै, गत साउनसम्म प्रहरी चौकीका रुपमा प्रयोग भएको एउटा भवन भने भत्काइएको छ। नहदा–चतरा (कोशी पुल) फत्तेपुर–कञ्चनपुर–रुपनगर सडक निर्माणका क्रममा सडक क्षेत्रभित्रै परेपछि उक्त घर भत्काइएको हो।

यसैगरी, फत्तेपुरदेखि बरमझियासम्म नहरकै संरक्षणका लागि बनेका ३–४ वटा भवनसमेत जीर्ण अवस्थामा पुगेको स्थानीय बासिन्दाले जनाएका छन्। सरोकारवाला निकायले चासो नदिएकै कारण कतिपय भवन जिर्णोद्वार नै गर्न नसकिने गरी खण्डहरमा परिणत भएकाले अब पनि यसबारे नसोच्ने हो भने भएका इँटा समेत विस्तारै सकिने अवस्था रहेको सप्तकोशी नगरपालिकाका वडा १ का दिनेश थापा बताउँछन्।

भवनमा लगाइएका झ्याल, ढोका र सिँढीका काठ रेखदेखको अभावमा मक्किएका छन् भने केही काठ स्थानीयले आगो बाल्न प्रयोग गरिसकेको गौतम बताउँछन्। उनी भन्छन्, ‘अब पनि हेरेर मात्र बस्ने हो भने यी संरचना कथामा मात्र सीमित हुनेछन्।’‘हुन त यसको संरक्षणमा फत्तेपुरबासीले प्रयासै नगरेका भने होइनन्। तर, कहिले सम्बन्धित निकायले हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, नचलाउँ भन्छ त कहिले सार्वजनिक सम्पत्ति संरक्षणको विषयमा स्थानियबासीमै भनाभन र कुटाकुट हुन्छ,’ समाजसेवी हेमनरसिंह कार्की भन्छन्।भवन जिर्णोद्वार र पुनर्निर्माण गरी समुदायको हितमा प्रयोग गर्छौं भन्दा समेत चासो नदिँदा भवन दिनप्रतिदिन कामै नलाग्ने अवस्थामा पुग्दै गइरहेको उनले बताए।

सम्बन्धित निकाय आफूले पनि संरक्षणमा चासो नलिने र स्थानीयलाई पनि जिम्मेवारी नदिने प्रवृत्तिले भएका ऐतिहासिक संरचना दिनदिनै जीर्ण बनेको स्थानियवासी विकास घिमिरेको गुनासो छ।

चन्द्रनहरको रित्तो भवनलाई केही वर्षअघि गेस्ट हाउसका रुपमा प्रयोग गर्न स्थानीयवासीले प्रयत्न गरे पनि चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालयले यस सम्बन्धी प्रक्रिया अगाडि नबढाइदिँदा काम हुन नसकेको गाउँलेहरुको भनाइ छ।

करिव ६ वर्षअघि स्थानियबासीले पुराना भवनहरु वरिपरिको क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाए पनि सम्बन्धित कार्यालयले चासो नदिँदा काम हुन नसकेको पर्यटकय क्षेत्र निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यले बताए। हाल उनी सप्तकोशी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष पनि हुन्।५ वर्षअघि स्थानीय मदर मेमोरियल कलेजले त्यहाँ भाडामा कक्षा सञ्चालनका लागि सिँचाइ मन्त्रालयबाट स्वीकृति लिए पनि स्थानीयवासीले सार्वजनिक सम्पत्ति व्यक्तिले प्रयोग गर्न नमिल्ने भन्दै रोकेको कलेजका कर्मचारीहरु बताउँछन्।

हालै सम्पन्न स्थानीय तह निर्वाचन मार्फत निर्वाचित नगरपालिकाका जनप्रतिनिधिको टोलीले पुस १२ मा राजविराजस्थित चन्द्र नहर सिँचाइ डिभिजन कार्यालयलाई भवनको संरक्षण गर्न वा नगरपालिकाको जिम्मामा दिन आग्रह गरेको थियो। कार्यालयले भवन जिम्मा लगाउने विषय आफ्नो क्षेत्राधिकारभित्र नरहेको र पुनर्निर्माणका लागि बजेट नभएको भन्दै फर्कादिएको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले जनाए।यसबारे चन्द्र नहर सिँचाइ व्यवस्था डिभिजन कार्यालय २ का प्रमुख प्रसुन्न मिश्रले मन्त्रालय मार्फत भवन पुनर्निर्माणका लागि बजेट नआएकाले संरक्षणमा समस्या रहेको स्विकार्दै स्थानीयलाई जिम्मा लगाउने कुरा आफ्नो क्षेत्राधिकार भित्र नपरेकाले मन्त्रालय र विभाग मार्फत नै प्रयास गर्न सुझाव दिएका थिए।साभार नेपाललाइभ


Facebook Comment


No ads found for this position