क्यानोनिङकाे सम्भावना देखिएपछि स्थानीयवासी उत्साहित

पोखरा । क्यानोनिङ (छाँगावरोहण)को गाउँमा सम्भावना देखिएपछि स्याङजाको इलादीस्थित सुन्तलाबारीका स्थानीयवासीमा उत्साह थपिएको छ।

इलादीस्थित सुन्तलाबारीमा नेपाल क्यानोनिङ एसोसिएसनका पदाधिकारी बोलाएर हालै प्रशिक्षण समेत सञ्चालन गरेपछि गाउँमा क्यानोनिङको सम्भावना रहेको कुराले स्थानीयवासीमा खुसीयाली छाएको स्थानीय समाजसेवी मोहन खनाल बताउँछन्।
 क्यानोनिङको साथै यहाँ वरपरका प्राकृतिक दृश्यावलोकन, स्थानीय कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अत्यधिक सम्भावना रहेको उनको भनाइ छ। यहाँका सातवटा घरमा दुई वर्षयता होम स्टे सञ्चालन गरिएको र यसको विस्तार गरी १५ वटा घरमा होम स्टे सञ्चालन गर्न लागिएको खनालले बताए।
 सुन्तलाबारीको खाल्टे झरना करिब ६० मिटर उचाइमा रहेको छ। सो झरनाका साथै यहाँ नजिकै रहेको वसन्ती दह माथिको ३० मिटर उचाइको अर्को झरनामा समेत क्यानोनिङको सम्भावना छ। साहसिक पर्यटनलाई रुचाउने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा आकर्षित गरी आयआर्जनका विभिन्न अवसर सिर्जना गर्न सकिने स्थानीयवासीले विश्वास लिएका छन्।
 क्यानोनिङ प्रशिक्षक दवीन्द्र तामाङका अनुसार साहासिक पर्यटकीय खेलमा रमाउन चाहने जो कोही पर्यटकले अब सुन्तलाबारीमा पुगी क्यानोनिङको मज्जा लिन सक्नेछन्। वालिङ नगरपालिका–८ त्रियासीदेखि करिब सात किलोमिटरको दुरीमा रहेको सुन्तलाबारीमा एसोसिएसनले हालै स्थानीय आठजना युवालाई क्यानोनिङको तालिम दिएको थियो ।


Facebook Comment


No ads found for this position