कैलाश मानसरोबर यात्रामा अलपत्र तीर्थयात्रीको उद्धार जारी, मानसरोबर गएका ८ जनाको मृत्यु

२० असार, काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएर अलपत्र परेका केही भारतीय तीर्थयात्रीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मौसमका कारण ३ दिनदेखि हवाई उडान प्रभावित भएपछि उनीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

१६० जनालाई उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ भने २५० तीर्थयात्रीलाई हिल्साबाट सिमकोट ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै १६० जना तीर्थयात्रीलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइएको जानकारी दिएका छन् । २५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ ।

उनका अनुसार हिल्सामा अझै ७०० तीर्थयात्री छन् । मन्त्री अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई मेन्सन गरेर उनीहरुको आज हेलिकोप्टरमार्फत उद्धार हुने जानकारी दिएका छन् ।

यसअघि भारत सरकारले तीर्थयात्रीहरुलाई खाने, बस्ने व्यवस्था मिलाइदिन र जतिसक्यो छिटो सैनिक हेलिकोप्टर प्रयोग गरेर भए पनि उद्धार गरिदिन नेपाल सरकारलाई भनेको थियो ।

मानसरोबर गएका ८ जनाको मृत्यु

अविरल वर्षा भएपछि कैलाश मानसरोवरको यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका थिए । ५२५ तीर्थयात्री सिमिकोट र ५५० हिल्सामा रोकिएका थिए ।

सोमबार भारतको केरला निवासी ५६ वर्षीय नारायणम लिलाको हुम्ला सिमिकोटस्थित एक होटलमा र आन्” प्रदेशकी सत्यलक्ष्मीको आइतबार नै तिब्बतको ताक्लाकोटमा मृत्यु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए ।

यो वर्ष मानसरोवर आएका भारतीय पर्यटकहरुमध्ये ८ जनाको मृत्यु भइसकेको छ । उनीहरुको लेक लागेर मृत्यु हुने गरेको छ ।


Facebook Comment


No ads found for this position