कैलालीमा औलो रोगको समस्या

                                                                                                                                                                               धनगढी, १ भदौ । औलो रोग रोकथामका लागि प्रयास भइरहेको भएपनि जिल्लामा औलो रोगी फेला पर्ने दर अपेक्षित रुपमा घट्न सकेको छैन । औलो रोगको जोखिममा रहेको जिल्लामा पछिल्लो एक वर्षमा १९५ जनामा औलोका जीवाणु फेला परेको छ ।

maleria
शङ्कास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोका जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, औलो फाँटका प्रमुख उदयशङ्कर शाहले कामको खोजीमा भारत गएर फर्किनेमा यो रोगको सङ्क्रमण बढी देखिने गरेकाले रोकथाममा समस्या सिर्जना भइरहेको बताउनुभयो । यसबाहेक जनचेतनाको अभावको कारण पनि रोकथाममा समस्या भइरहेको छ ।

जिल्लामा आव २०७०÷७१ मा १७९ जनामा औलोका जीवाणु फेला परेकामा आव २०७१÷७२ मा यो बढेर २५५ मा यो रोगका जीवाणु फेला परेका थिए । यस्तै, गत आव २०७२÷७३ मा १९५ मा औलोका जीवाणु फेला परेकामा यीमध्ये भारतबाट फर्किएका १२२ र स्थानीयवासी ७२ जनामा रोगको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवको पहिलो महिनामा मात्रै १२ देखि १५ जना औलोका बिरामी फेला परेका छन् ।

“नेपालमा सबैभन्दा बढी औलोको जोखिमको जिल्लाका रुपमा कञ्चनपुर र कैलाली रहेका छन्”, औलो फाँटका प्रमुख शाहले भन्नुभयो ।


Facebook Comment


No ads found for this position