कुवेतले तोक्यो घरेलु कामदारको तलब

३१ असार, काठमाडौं । कुवेतले पहिलोपटक आफ्नो मुलुकमा कार्यरत घरेलु कामदारहरुको न्यनुतम तलव निर्धारण गरेको छ । घरभित्र काम गर्ने कामदारका लागि भन्दै न्युनतम ६० दिनार अर्थात १ सय ९८ डलर न्युनतम पारिश्रमिक तोकेको हो ।

Kuwait-Cityकुवेत सरकारले सार्बजनिक सूचना जारी गरेर रोजगारदाताहरुलाई सरकारले आफ्ना घरमा कार्यरत कामदारको न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

यो व्यवस्थाका लागि कुवेतको संसदले सन् २०१५ मा नै सरकारलाई अनुमति प्रदान गरेको थियो । न्युनतम पारिश्रमिक तोकिएपछि न्युन तलवमा काम गरिरहेका विदेशी घरेलु कामदारहरु पनि लाभान्वित हुनेछन् ।

अब नेपालबाट कुवेत पुगेका कामदारहरुलाई पनि यसले फाइदा हुनेछ । सरकारले वर्षमा ३० दिन छुट्टी दिनैपर्ने र दिनमा १२ घण्टा भन्दा बढी कामममा लगाउन नपाइने नयाँ कानुनी व्यवस्था पनि गरेको छ ।

वर्षमा अनिवार्य ३० दिनको छुट्टी दिनुपर्ने व्यवस्थाले घरेलु कामदारलाई कामबाहेक मनोरञ्जनमा पनि समय मिल्नेछ । घरेलु कामदारका रुपमा धेरैजसो महिलाहरु कार्यरत छन् ।

घरमा खाना पकाउने, बालबालिका, वृद्धवृद्धा, अशक्तहरुको हेरचाह गर्ने, घरको सरसफाइ गर्ने, बगैँचामा मालीका रुपमा काम गर्ने, मालिकको गाडी चलाउने लगायतका काममा घरेलु कामदारको प्रयोग बढी हुन्छ ।

कुवेतमा झण्डै ३७ लाख मानिसको बसोबास छ । यसमध्ये ६ लाख ६० हजार विदेशी कामदारहरु छन् । कुवेतमा दक्षिण एसियासहित, अफ्रीका र खाडी राष्ट्रका कामदारहरुको संख्या धेरै छ ।

कुवेत सरकारले गरेको नयाँ व्यवस्थाको मानवअधिकारवादी संस्थाहरुले स्वागत गरेका छन् । तर, कामदारले आफ्नो देशमा कति तलव पाउँथे भन्नु भन्दा कुवेतमा काम गरेपछि त्यहाँका स्थानीय कामदार अनुरुप नै विदेशी कामदारलाई सुविधा प्रदान गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले अझै पनि रोजगारदाताले कामदारको पासपोर्ट खोसेर राख्ने क्रम नरोकिएको भन्दै चिन्ता जनाएका छन् ।


Facebook Comment


No ads found for this position