काठमाडौं–ताप्लेजुङ हवाइ भाडा बढ्यो

ताप्लेजुङ — राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगमले काठमाडाैं–ताप्लेजुङ हवाइ भाडा १८ सय रुपैंया बढाएको छ । जेठ २३ गतेदेखि लागु हुनेगरी भाडा बृद्धि भएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए । राईका अनुसार अब हवाईभाडा ७ हजार एक सय रुपैंया भएको छ । यसअघि ५ हजार तीन सय रुपैंया थियो । पहाडी अरु विमानस्थलको पनि भाडादर बृद्धि गरेको निगमले जनाएको छ ।

जेठ ८ गतेदेखि स्थगित गरेको निगमले २३ गतेदेखि उडान सुरु गर्नेछ । ट्विनेटर जहाज मर्मतका लागि उडान स्थगित गरिएको थियो । सुकेटार विमानस्थलमा निगमले बुधबार र शुक्रबार गरी सातामा दुईदिन उडान गर्दै आएको छ । बिगतमा नियमित उडान नगरेको भन्दै आलोचना हुने निगमले चैत यताभने एउटा उडानपनि स्थगित गरेको थिएन । नियमित उडान गरेपछि यात्रुको चाप बढेको थियो । राईका अनुसार अधिकांस उडानमा यात्रु भरिएका थिए ।
विमानस्थल कालोपत्रे भएकाले यो वर्ष वर्षायाममा पनि उडान नरोकिने राईले बताए । बिगतमा असार देखि तीन महिना उडान स्थगित हुने गरेको थियो ।
सुकेटार विमानस्थलमा समिट, गोमा, तारा एयरलाइन्सले उडान गरेका थिए । पछिल्लो समय समिट एयरले चार्टर उडानमात्रै गर्दै आएको छ । भाडादर सस्तो भएकाले यात्रुहरु निगमतर्फ आकर्षित भएपछि निजी विमानले यात्रु पाउन कठिन भएको थियो । भाडा बृद्धि भएपछि भने समस्या हुने भएको छ ।


Facebook Comment


No ads found for this position