ओझेलमा टीएमजे पदमार्ग

छेटु शेर्पा  काठमाडौं : विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चर्चित संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तिनजुरे-मिल्के-जलजले (टीएमजे) पर्यटकीय पदमार्ग छायामा परेको छ । १ नं प्रदेशको एक मात्र उत्कृष्ट प्राकृतिक स्रोतसाधनले भरिपूर्ण टीएमजे क्षेत्र राम्रो व्यवस्थापन एवं विकास गर्न नसक्दा ओझेलमा परेको हो । गुराँसको राजधानी टीएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् ।

विश्वमा पाइने ४२ प्रजातिमध्ये नेपालमा ३२ प्रजाति छन् । यस क्षेत्रमा मात्रै २८ प्रजाति पाइनाले यसलाई गुराँसको राजधानी भनिएको हो । पर्यटकीय सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक आगमनको न्यून छ । १२ महिना अध्ययन, अवलोकन र पैदलयात्राका लागि उपयुक्त मानिने टीएमजे क्षेत्र चार हजार पाँच सय मिटर उचाइसम्म फैलिएको छ ।

वसन्त ऋतुमा लालीगुराँस ढकमक्क फुलेको हुन्छ । अन्य सिजनमा सुन्दर गुफापोखरी, खोपिङ पोखरी, भूतपोखरी, जलजला पोखरी प्रत्यक्ष हेर्न सकिन्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी यहाँका मुख्य आकर्षका क्षेत्र हुन् । हिमाली चौंरीपालन र भेडाका बथान प्रत्यक्ष रूपमा हेर्न पाइन्छ । मनास्लु, धौलागिरिजस्ता चर्चित पदयात्रा क्षेत्रभन्दा बढी भर्जिन प्राकृतिक सुन्दरता भए पनि यसको राज्यले प्रचारप्रसार र पूर्वाधार विकास गर्न चासो नदेखाएको स्थानीय अगुवा मनबहादुर लिम्बूले बताए । केही समयअघिसम्म टीएमजे क्षेत्र हुँदै गोर्जा-ताप्लेजुङ जाने ट्रेकिङ रुटसमेत बाटो अभावका कारण बन्द भएको थियो । अध्ययन र अवलोकन गर्ने विद्यार्थीका लागि यो पहिलो प्राथमिकतामा छ ।

गुराँसको राजधानी टीएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । विश्वमा पाइने ४२ प्रजातिमध्ये नेपालमा भने ३२ प्रजाति उपलब्ध छन् ।

पदमचाल, कुड्की, बिखुमा, सतुवा, ठूलोओखत, विष, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जनभन्दा बढी जडीबुटी पनि यसै क्षेत्रमा पाइन्छन् । एक सय २० प्रजातिका पुतली, लिडेमुसा, रातोपान्डा, हिउँचितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञहरूको प्रतिवेदनमा उल्लेख छ।काठमाडौं-धरान-धनकुटा-वसन्तपुरसम्मको मोटर यात्रापछि टुटे देउरालीदेखि पैदल यात्रा सुरु हुन्छ ।

शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू, तामाङ, जातिको परम्परा, संस्कृति, भेषभूषा, रहनसहन यहाँका मुख्य आकर्षण हुन् । चौकी, गुफापोखरी, मिल्के, गिद्धे, जलजले, सफापोखरी, पाँचपोखरी, माङसिङमा नुम हुँदै खादबारी पुगेर राउन्ड टीएमजे ट्रेकिङ पूरा हुन्छ । तुम्लिङटारबाट हवाई र गाडीको यात्रापछि १२ दिनको ट्रेकिङ प्याकेज पूरा हुन्छ ।यो ट्रेकिङ प्याकेजमा चार हजार पाँच सय मिटरसम्म पैदलयात्रा गर्नु पर्छ । साउन १० देखि २० गतेसम्म यस पदमार्गको स्थलगत अध्ययन र सर्वेक्षण गरिएको थियो ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले बीएमजेड/डब्ल्यूएचएचको आर्थिक सहयोगमा सञ्चालित समुदायमा आधारित जैविक विविधता व्यवस्थापन परियोजनाले पदमार्गको सर्वेक्षण सम्पन्न गरेको हो । ओझेलमा परेको पदमार्गको आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरी आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सर्वेक्षण गरेको परियोजना व्यवस्थापक कमल थापा मगरले बताए ।

पर्यटन क्षेत्रको विकासमा निजीक्षेत्रको भूमिका महत्ववपूर्ण भए पनि टीएमजेलाई निजी क्षेत्रले चासो नदेखाउँदा पदमार्गलाई एजेन्सीले प्राथमिकता नदिएको मगरको भनाइ छ । वर्षौंदेखि चर्चामा रहेको यस क्षेत्रको विकासमा स्थानीयले पनि चासो नदिँदा विकास हुन नसकेको पर्यटन व्यवसायी टिकाराम गुरुङले बताए । रारातालको परिर्वतन सम्भव भयो तर टीएमजेमा परिर्वतन नहुनु दुःखत भएको उनले उल्लेख गरे ।


Facebook Comment


No ads found for this position