ऐतिहासिक कलात्मक पधेरा, नौला लोप हुँदै

डडेल्धुरा, १४ साउन । केही वर्ष अगाडिसम्म चलनचल्तीमा रहेका कलात्मक धार्मिक पधेरा लोप भएका छन् । हिन्दू संस्कृति र परम्परा बोकेका ऐतिहासिक पधेरा तथा नौला सरक्षंण र संवद्र्धनका अभावमा लोप भएको स्थानीयबासी बताउँछन् । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँ बस्तीमा आधुनिक खानेपानीका धारा निर्माण भएपछि पुराना धारा तथा नौला जीर्ण बनेका रुपाल–८ का लोकराज भट्टले बताउनुभयो ।

प्राचीनकालमा निर्माण भएका पधेराको प्रयोग नहुँदा जीर्ण भई लोप हुने अवस्थामा पुगेको अजयमेरु–७ स्थित समैजी प्रावि हाटका शिक्षक तेजबहादुर रावतले बताउनुभयो । कुन समयमा कसले निर्माण ग¥यो भन्ने एकीन नभएता पनि धेरै पहिले निर्माण भएको हुन सक्ने र बाबु बाजेले पनि तीनै पधेराबाट पानी पिउने गरेको सदाशिव प्रावि रुपालका प्रअ टङ्कप्रसाद जोशी बताउनुहुन्छ ।

विभिन्न स्थानमा रहेका कतिपय पुराना पधेरा तथा नौलाको मुहार फेरि आधुनिक किसिमले निर्माण गरिएको छ भने केही भने सरंक्षण को अभावमा जीर्ण भई लोप भइसकेका छन ।

धार्मिक मान्यताअनुुसार पनि डडेल्धुरालगायत सुदूरपश्चिममा गौरा पर्वका बेला नौला तथा पधेराको पूजा गरिने प्रचलन रहेको अमरगढी–७ पोखराका पण्डित धर्मराज जोशीले बताउनुभयो । हिन्दू संस्कृतिमा विवाहको दिनमा पनि नौलाको पूजा गरिने हुँदा यस्ता ऐतिहासिक वस्तुको सरंक्षण गरिनुपर्ने पण्डित जोशीको भनाइ छ ।

मौसमअनुसार नौला तथा पधेरामा पानीको तामक्रम पनि परिवर्तन हुने हुँदा गर्मी समयमा चिसो र हिउँदमा तातो पानी हुने जनविश्वास रहेको छ ।

जीर्ण बन्दै गएका पधेरा तथा नौलाको संरक्षण नगर्ने हो भने कथामा मात्रै सीमित रहने सर्वसाधारणको भनाइ छ । हालसम्म जिल्लामा यस्ता पुराना तथा ऐतिहासिक पधेरा तथा नौलाको गणना नभएको जिविसले जनाएको छ ।

 


Facebook Comment


No ads found for this position