एक बर्षमा १४ गैंडा मरे

विमल खतिवडा

१६ भदौ, चितवन । गत साउन २४ गते नारायणी नगरपालिका १ स्थित होटल मेघौली सेराईका कर्मचारीले ‘वेल्डिङ’ गर्न प्रयोग गरेको बिजुलीको तार त्यत्तिकै छोडदा करेन्ट लागेर पोथी गैंडा मर्‍यो । डुंगा बनाउने क्रममा छाडिएको बेवारिसे तारले चर्न आएको गैंडालाई करेन्ट लागेर मरेको अनुसन्धानबाट पुष्टि भयो ।

rhinoceroघट्ना गुपचुप पार्न खोजिएको भन्दै संरक्षणकर्मीले विरोध जनाए । पछि निकुञ्जले सोधपुछका लागि भन्दै होटलका ९ कर्मचारीलाई नियन्त्रणमा लियो । जिल्ला अदालतले पक्राउ मध्ये चारलाई गत साता पुर्पक्षका लागी थुनामा राख्न आदेश गर्‍यो । यो घट्ना सेलाउन नपाउँदै रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित गैंडाटारको तिलेश्वर सामुदायिक वनमा सिकारीको गोली लागेर अर्को गैंडा घाईते भयो । भदौ ३ गते शुक्रवार राती जंगलमा रहेको गैंडालाई सिकारीले ६ गोली हाने । गम्भिर घाइते उक्त गैंडालाई अहिले चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी) र जनकौली सामुदायिक वनका कर्मचारीको निगरानीका राखिएको छ । यी प्रतिनिधि घट्ना मात्र हुन् ।

०७२ साउनदेखि ०७३ असार मसान्त सम्म १४ वटा गैंडा मरेको निकुञ्जले जनाएको छ । करेन्ट लागेर २  गैंडा मरे । एउटा गैंडा मर्नुकोकारण खुल्न सकेको छैन । ०७२ असोजमा कुमरोज सामुदायिक वनमा इलेक्ट्रिक शकबाट एउटा गैंडा मर्‍यो । उता नवलपरासीको गुन्द्रे क्षेत्रमा घाईते अबस्थामा फेला परेका गैंडाको एनटिएनसीमा उपचारको क्रममा मृत्यु भयो । दुबै गैंडाको करेन्ट लागेर मृत्यु भएको हो ।
‘बाली जोगाउन स्थनीयले अबैध रुपमा राखेको विद्युतीय शकका कारण यी गैंडा मरेका हुन्,’ चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘यस्तो गर्न पाईदैन, हामीले कारबाही प्रक्रिया सुरु गरी सकेका छौं ।’

त्यस्तै निकुञ्ज भित्रकै खयरमयुर क्षेत्रमा पुरै सडेको अबस्थामा लिंग पहिचान गर्न नसकिने गरी फेला परेको गैंडाको मृत्युको बारेमा कारण खुल्न सकेन । गत माघ ५ गते नारायणी किनार क्षेत्रमा विष हालेको अन्नबाली खाएर अर्को गैंडा मर्‍यो । सामान्य लापरबाहीले गर्दा दुर्लभ गैंडा मृत्युको सिकार बन्न गरेका छन् । तस्करले मात्र नभई अन्नबाली खाएर समस्यामा पारेको भन्दै निकुञ्ज छेउछाउका स्थानीयले गैंडामाथी आक्रोश पोख्ने गरेका छन् ।

कहिले आगो लगाउने, कहिले विद्युतीय शक राख्ने र कहिले अन्नमा राखिने विषादीका कारण गैंडाको  मृत्यु हुने गरेको छ । एक बर्षको अबधीमा एउटा गैंडा मात्र बृद्ध भएर मर्‍यो । त्यस्तै बाघको आक्रमण र भाले गैंडा आपसमा जुधेर समेत गैंडा मर्ने गरेको निकुञ्जले जनायो । ‘साना त्रुटिले ठूला घट्ना घटेका छन्,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले भने, ‘यस्ता घट्नालाई निरुत्साहित गरी संरक्षणमा सबैलाई एकजुट बनाउन ब्यापक रुपमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएका छौं ।’ उनले जुन जनावरलाई देखाएर होटल खोलिन्छ, तिनै होटलको आसपसमा गैंडा मरेको बताए ।

‘होटलहरुमा बन्यजन्तु मैत्री पूर्वाधार निर्माण गरिएको छ/छैन भनेर अनुगमन गर्ने तयारीमा छौं,’ उनले भने, ‘दुर्लभ बन्यन्जन्तुको संरक्षण गर्नु सबैको दायित्व हो, त्यही भएर गैंडा देखाएर पर्यटक भित्राउन खोलिएका होटल बन्यजन्तु मैत्री हुन जरुरी छ ।’मध्यवर्ति क्षेत्रमा अहिलेसम्म सरदर ७० करोड खर्च भई सकेको छ । जुन रकम मानव र बन्यजन्तुवीचको द्धन्द्ध कम गराउन, आयआर्जन र रोजगारी, पर्यटनमुखी पूर्वाधार लगायत शीर्षकमा खर्च हुने गरेको भएपनि दुर्लभ बन्यजन्तु मर्ने क्रम रोकिएको छैन । गत बर्ष ७ करोड र १० करोडको प्रस्ताव आएको निकुञ्जले जनाएको छ ।

‘वालिनाली खायो भन्दै विद्युतीय धराप राखेर गैंडा मार्न पाईदैन,’ पूर्व संरक्षण अधिकृत रामप्रित यादव भन्छन्, ‘गैंडालाई सबैले माया गर्नु पर्छ, यो हाम्रो सम्पत्ति हो, करेन्ट लगाएर मार्नु महाअपराध हो ।’ उनले निकुञ्ज छेउछाउ निर्माण गरिएका होटलले गैंडालाई कसरी जोगाउनु पर्छ भन्नेबारे पहिला ज्ञान हुन जरुरी रहेको बताए । त्यस्तै एक बर्षको अबधीमा एउटा हात्ती, एउटा बाघ, २ वटा चितुवा,  एउटा जरायो, ३ वटा चित्तल र एक/एक वटा बंदेल र स्याल मरेको निकुञ्जको बार्षिक तथ्यांकमा छ ।


Facebook Comment


No ads found for this position