इलाममा साहित्य तथा पर्यटन महोत्सव हुने

इलाम । यहाँको देउमाईस्थित मंगलबारे बजारमा यहीँ चैत २३ र २४ गते दुईदिने ‘साहित्य तथा पर्यटन महोत्सव’ हुने भएको छ ।

‘समाजका लागि युवा’ नामक संस्थाले पहिलोपटक आयाेजना गर्न लागेको महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीति आदि विषयमा विमर्श हुनेछ ।

कार्यक्रमको पहिलो दिन प्राडा अभि सुवेदीको प्रवचन, त्यसपछि कुन्ता शर्मा र सीमा आभासको ‘सार्वजनिक जीवनमा महिला : कति सकस कति सुविधा’ विषयमा बहस हुनेछ । त्यस्तै, ‘थातथलो र परदेश’ विषयमा पत्रकार टीकाराम यात्रीले विश्लेषक खगेन्द्र संग्रौलासँग बहस गर्नेछन् ।

साे क्रममा देउमाई क्षेत्रका देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका प्रमुखसँग ‘देउमाई –२०९०’ विषयमा छलफल समेत हुनेछ ।

महाेत्सवकाे दोस्रो दिन ‘युवा अवसर र नेतृत्व’ विषयमा नेकपा सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौड्यालसँग पत्रकार बसन्त बस्नेतले बहस गर्नेछन् ।

त्यसैदिन ‘कविता : कला कि नारा ?’ र ‘कवितामा स्थानीय भाषाको प्रभाव’ विषयमा कवि राज माङलाक, मुनाराज शेर्मा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसँग पत्रकार समीरबाबु कट्टेलले बहस गर्नेछन् ।

कार्यक्रममा राजनीतिक विश्लेषक प्रदीप गिरीले ‘२००७ साल पछिको नेपाल’ बारे एक घण्टा प्रवचन दिनेछन् । त्यस्तै, पत्रकार नारायण वाग्ले, निर्देशक अभिनेता दयाहाङ राई र वरिष्ठ मूर्तिकार राजु पिठाकोटेले संघर्षका कथा सुनाउनेछन् ।

यसैगरी ‘देउमाई किन घुम्ने’ भन्ने विषयमा प्रदेश सभासद् राम राना र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले बोल्नेछन् ।

कार्यक्रममा प्रदेशभरका र भारत सिलिगुडीका समेत कविहरूले आआफ्ना कविता सुनाउनेछन् । नेपाल पर्यटनकाे प्रवर्द्धन रहने महाेत्वसमा नेपाल प्रज्ञा प्रतिष्ठान र देउमाइ नगरपालिका सहयोगी संस्थाको रुपमा रहने जनाइएकाे छ ।


Facebook Comment


No ads found for this position