आफैं १ अर्बसम्म राखेर धरहरा बनाउने टेलिकमको प्रस्ताव

आफ्नै स्रोतबाट १ अर्बसम्म राखेर भूकम्पले भत्काएको धरहरा बनाउन नेपाल टेलिकमले सरकार समक्ष प्रस्ताव गरेको छ। धरहरा बनाउन आफू इच्छुक भएको बताउँदै टेलिकमले संस्कृति, पर्यटन तथा उड्यन मन्त्रालय र पुरातत्व विभागसमक्ष प्रस्ताव पेश गरेको टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आर्चायले  बताए।

‘मेरो धरहरा मै बनाउँछु’ अभियानको कोषमा जम्मा भएको रकममा थपेर टेलिकमले धरहरा निर्माण गर्ने प्रस्ताव गरेको हो।

‘हाम्रो प्रस्तावको विषयमा पुरातत्व विभाग लगायतका सम्बन्धित मन्त्रालयहरुसँग छलफल भइरहेको छ,’ उनले भने।

आर्चायका अनुसार भूकम्प जाने वित्तिकै भत्किएका धार्मिक र पुरातत्व संरचना बनाउन टेलिकमले १ अर्बसम्म रूपैयाँ छुट्टयाएको थियो।

‘हामीले त्यही रकम प्रयोग गरेर धरहरा बनाउने प्रस्ताव गरेका हौं,’ उनले भने।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले धरहरा बनाउने टेलिकमलाई दिने विषयमा छलफल भए पनि टुंगोमा भने पुग्न नसकेको बताए। ‘हामी छलफलकै क्रममा छौ,’ उनले भने।

पुरातत्व विभागले २ सय ४५ फिट अग्लो धरहरा बनाउन डिजाइन स्वीकृत गरेको छ।

‘बाहिरबाट हेर्दा ११ तले देखिन्छ,’ महानिर्देशक दाहालले भने, ‘भित्रबाट भने यो २२ तल्ला हुन्छ।’

नजिकै रहेको टक्सार विभाग र गोश्वारा हुलाक सहितको ४२ रोपनी जग्गा समेटेर बनाइन लागेको धरहरा क्षेत्रमा पार्क, अण्डर ग्राउण्ड पार्किङ, दुई वटा लिफ्ट, म्युजियम, थिएटर र रेष्टुरेण्ट पनि रहने छ।

संस्कृति, पर्यटन तथा उड्यन मन्त्रालयले केज कन्सल्ट प्रालिमार्फत धरहराको डिजाइन सार्वजनिक गरेको थियो। २६ लाख रुपैयाँको डिजाइन अनुसार धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सरकारले धरहराको डिजाइन सार्वजनिक गरे पनि अहिले त्यो डिजाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन अन्तिम अध्ययन भइरहेको महानिर्देशक दाहालले बताए।

नयाँ धरहराको संचालन तथा ब्यवस्थापन कसले गर्ने भन्ने पनि कुनै टुंगो लागिसकेको छैन।

टेलिकम आफूले लगानी गर्ने भए त्यसको सञ्चालन पनि आफैँले गर्नुपर्ने प्रस्ताव गरेको छ भने संस्कृति, पर्यटन तथा उड्यन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मा दिनुपर्ने मत राखेको छ।

धरहरा सञ्चालनभन्दा पनि पहिला बनाउनु नै ठूलो कुरा भएको भन्दै टेलिकम र पुरातत्व विभागले त्यस विषयमा सम्बन्धित निकाय बसेर टुंगो लगाउने जनाएको छ ।

डेढ वर्ष अघि गएको भूकम्पका कारण ९ तल्ले धरहरा भत्किएको थियो


Facebook Comment


No ads found for this position