‘आजदेखि इन्धन सहज ‘

राजेश बर्मा  काठमाडौंः पछिल्लो एक सातादेखि देशभर देखिएको इन्धनको अभाव आइतबारदेखि पूर्णरूपमा हट्ने नेपाल आयल निगमले दाबी गरेको छ । सार्वजनिक बिदाका दिन शनिबार तीन लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको निगमले अभाव हटाउन आइतबार झन्डै दोब्बर परिमाणमा पेट्रोल वितरण गर्ने तयारी गरेको छ ।

निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले मागभन्दा बढी परिमाणमा इन्धन वितरण गर्ने योजना कार्यान्वयनमा आएपछि बजारमा इन्धन अभाव हट्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘तराई बन्द हुने हल्ला चलेपछि आम उपभोक्ताले घरमा इन्धन जम्मा (होल्डिङ) गर्दा बजारमा अभाव भएको हो । अभाव हटाउन शुक्रबारदेखि नै मागभन्दा दोब्बर परिमाणमा पेट्रोल वितरण गर्ने व्यवस्था मिलाएका छौं । आइतबारदेखि इन्धनको सहज हुन्छ ।’

निगमले शनिबारदेखि नै पम्पमा पेट्रोल लिने उपभोक्ताको लाइन हटेको दाबी गरेको छ । निगमले उपत्यकामा इन्धन अभाव हटाउन शुक्रबारदेखि नै भैरहवा डिपोबाट दैनिक ६० हजार र अमलेखगन्जबाट दुई लाख लिटर पेट्रोल राजधानी भित्र्याइरहेको छ ।

निगमले शनिबारदेखि नै पम्पमा पेट्रोल लिने उपभोक्ताको लाइन हटेको दाबी गरेको छ ।

उपत्यकामा पेट्रोलको दैनिक माग चार लाख ५० हजार लिटर भए पनि बिहीबार पाँच लाख लिटर, शुक्रबार सात लाख लिटर, शनिबार तीन लाख ५० हजार लिटर पेट्रोल वितरण गरेको थियो । आइतबार आठ लाख लिटर वितरण गर्दैछ । निगममले बन्दको हल्लाका कारण सर्वसाधारणले बढी परिमाणमा घरमा इन्धन भण्डारण गर्न थालेका कारण बजारमा इन्धनको अभाव भएको दाबी गरे पनि वास्तवमा भण्डारण क्षमताअनुसार इन्धन आयात गरी भण्डारण नगर्दा दुई दिनको सरकारी बिदामा पनि देशभर इन्धनको चरम अभाव हुने गरेको छ ।

पछिल्लो पटक वैशाख १ र २ गते सार्वजनिक बिदाका कारण निगमले इन्धन आयात नगर्दा त्यसको प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नु परेको हो । सार्वजनिक बिदाका कारण उक्त दुई दिन निगमले भारतबाट इन्धन पनि आयात गरेन । बजारमा पनि इन्धन पठाएन । यस कारण इन्धनको चरम अभावको अवस्था सिर्जना भयो । निगमले सार्वजनिक बिदासँगै शनिबार र भारतमा आइतबार सार्वजनिक बिदापर्ने भएकाले इन्धन आयात गर्दैन ।
यसका साथै निगमले प्राविधिक नोक्सानीको नाममा कुल भण्डारण क्षमताको ४० प्रतिशतको हाराहारीमा मात्रै इन्धन भण्डारण गर्दा बेलामौकामा सानो अवरोध हुँदा पनि लामो दिनसम्म इन्धनको अभाव हुने गरेको छ ।

निगमसँग हाल १० स्थानमा करिब १५ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर (सात करोड १५ लाख ५८ हजार लिटर) क्षमताको भण्डारण गृह छ । निगमसँग अहिले पेट्रोल पाँच हजार एक सय ३५, डिजेल ४१ हजार ६ सय १०, मट्टीतेल १६ हजार तीन सय १४ र हवाई इन्धन (एटीएफ) आठ हजार चार सय ९९ किलोलिटर मौज्दात गर्ने क्षमता छ । वर्तमान भण्डारणलाई पूर्णक्षमतामा सञ्चालन गर्ने हो भने डिजेल १५ दिन र पेट्रोल तीन दिन मात्रै पुग्छ ।

निगमले दुई प्रकारका नोक्सानी समग्रमा प्राविधिक नोक्सानीअन्तर्गत गणना गरेको छ । यसअनुसार इन्धन लोड र अनलोड गर्दा फरकपर्ने स्थानको तापक्रम घटबढबाट हुने नोक्सानी (टेम्परेचर लस) र अर्को काम गर्ने क्रममा हुने कार्यगत नोक्सानी (वर्किङ लस) लाई प्राविधिक नोक्सानीमा समावेश गरिएको छ । प्राविधिक नोक्सानीअन्तर्गत प्रतिलिटर पेट्रोलमा ६७ मिलिलिटर, डिजेलतर्फ ३६ मिलिलिटर, आन्तरिक हवाई इन्धन र मट्टीतेलतर्फ ३४ मिलिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिलिटरमा ३२ मिलिलिटर इन्धन नोक्सान हुने गर्छ ।


Facebook Comment


No ads found for this position