अब रत्नपार्कभित्रै खाजा घरको पनि सुविधा !

पार्कभित्र छिर्नासाथ वाइफाइको पासवर्ड उपहार

,                           काठमाडौं  ,   अहिले रत्नपार्कभित्र प्रवेश गरेपछि भोक लाग्यो भने खाजा खान बाहिर आउनुको विकल्प छैन । २५ रुपैयाँको टिकट काटेर छिर्दा दिनभर बस्न पाइने रत्नपार्कभित्र खाजाघर नहुँदा पटक-पटक टिकट काटेर प्रवेश गर्नुपर्ने बाध्यता छ ।

यही समस्यालाई समाधान गर्न काठमाडौं महानगरपालिकाले अब रत्नपार्कभित्रै खाजाघर सञ्चालनको तयारी गरेको छ ।यसका लागि बोलपत्र आह्वान भएर सञ्चालक छनौटको अन्तिम तयारी भइरहेको रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीले  जानकारी दिए । अबको एकमहिनाभित्र रत्नपार्कभित्रै आफूलाई मनपरेको खाजा खान पाइनेछ । यसले आगन्तुकलाई निकै सुविधा हुने अपेक्षा गरिएको छ ।

‘भित्र पसेका पर्यटकलाई खाजा खान बाहिर जानैपर्ने र फेरि छिर्न अर्को टिकेट काट्नुपर्ने समस्या देखेपछि यसो गरिएको हो’ केसीले भने,’खाजाघर सञ्चालनमा आएपछि फास्टफुड, तातो तथा चिसो पेय पदार्थ र खाजाका लागि बाहिर जानुपर्दैन ।’
रत्नपार्कको दक्षिण-पश्चिम क्षेत्रमा खाजा घरका लागि भवन तयार गरिसकिएको छ । रत्नपार्कभित्र आउने आगन्तुकका लागि व्यवस्थित शौचालय निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

फ्री वाइफाइको आकर्षण

पछिल्लो समयमा रत्नपार्कभित्र फ्री वाइफाइको सुविधा दिइएकाले घुम्न जानेको संख्या निकै बढेको छ । रत्नपार्कलाई मर्मत सम्भार गरेर व्यवस्थितरुपमा सञ्चालन गरेपछि इन्टरनेट चलाएर बस्न मिल्ने शान्त ठाउँ बनेको छ ।

२५ रुपैयाँको टिकट काटेर रत्नपार्कभित्र  छिर्नासाथ फ्री वाइफाइको पासवर्ड उपहार स्वरुप पाइन्छ । यस्तै शान्त वातावरणमा अध्ययन गर्न चहानेहरुले पनि रत्नपार्कलाई रुचाएका छन् । पार्कभित्र बसेर इमेल गर्नेदेखि च्याटिङ, इन्टरनेट ब्राउजिङ, फोटो तथा भिडियो अप्लोलोडिङ, डाउनलोडिङलगायत गर्न पाइने भएपछि आगन्तुकको आकर्षण बढेको हो ।

रत्नपार्कमा बिदाको दिनबाहेक २ एमबीपीएसको इन्टरनेट चलाउन सकिन्छ । शनिबार र सार्वजनिक बिदाको दिन भने ४ एमबीपीएसको इन्टरनेट छ । यहाँ २ सय ४० जनाले एकै पटक प|mी वाइफाइको सुविधाका उपयोग गर्न सक्छन् ।

‘विभिन्न सुविधा थपेपछि आगन्तुकहरु पनि तानिएका छन्’ एकाइ प्रमुख केसीले भने, ‘अब खाजा घर पनि भएपछि रत्नपार्कभित्र पस्न र बस्न कुनै पनि किसिमका समस्याहरु हुनेछैन ।’

सुटिङ गर्नेको रोजाइ

रत्नपार्क पछिल्लो समयमा सुटिङको गन्तब्य पनि बनेको छ । यसबाट महानगरपालिकाले राम्रो आम्दानी गरिरहेको छ । पछिल्लो समयमा रत्नपार्कभित्र म्युजिक भिडियो सुटिङ हुने क्रम निकै बढेको केसीले बताए ।

यसैगरी टेलिचलचित्र र चलचित्रको सुटिङ पनि रत्नपार्कभित्र भएका छन् । महानगरपालिकाले रत्नर्पाभित्र म्युजिक भिडियो सुटिङका लागि ४ हजार, टेली चलचित्रका लागि ५ हजार, चलचित्रका लागि ७ हजार र विदेशी चलचित्रका लागि १० हजार रुपैयाा शुलक तोकेको छ ।

पछिल्लोपटक तीज गीतका थुप्रै गीत रत्नपार्कभित्र छायांकन भएको केसीले बताए । यसबाट रत्नपार्कको आम्दानी पनि बढेको छ ।

अघिल्लो वर्ष साउनमा रत्नपार्क एकाइले ६ लाख आम्दानी गरेको थियो भने अहिले महिना नमर्दै १० लाख रुपैयाँभन्दा बढी संकलन गरिसकेको छ ।

काठमाडौंमा भएको सार्क शिखर सम्मेलनपछि स्तरोन्नति गरिएको रत्नपार्कमा अझै सुविधा थप्दै लैजाने महानगरपालिकाको योजना छ ।

गत आर्थिक वर्षमा रत्नपार्कको आम्दानी ८५ लाख २१ हजार ६ सय ६७ रुपैयाँ थियो । एक वर्षका अवधिमा तीन लाख २९ हजार ६ सय २३ जनाले रत्नपार्कको अवलोकन गरेका थिए ।


Facebook Comment


No ads found for this position