अब देखि पर्यटकीय बसपार्क कान्तिपथबाट सोह्रखुट्टेमा

काठमाडौँ, १६ असार : तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि सोह्रखुट्टेमा सारिएको छ ।
काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सो काम भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको बताउनुहुन्छ । “दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो”, उहाँ भन्नुहुन्छ ।

हाल कान्तिपथबाट पोखरा र चितवनको सौराहाका लागि झण्डै १०० बस आवतजावत गर्दै आएका छन् भने दैनिक करीब तीन हजार यात्रु ओहोरदोहोर गर्छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपालका उपाध्यक्ष ढकनाथ काफ्ले कान्तिपथबाट पर्यटकीय बसपार्क सार्दा पर्यटकलाई समस्या हुने बताउनुहुन्छ । “सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यसरी बसपार्क सार्दा उक्त लक्ष्य पूरा हुन गाह्रो हुने देखिन्छ”, उहाँ भन्नुहुन्छ ।

सरकारले पर्यटकीय बसका लागि छुट्टै बसपार्क निर्माण नगर्दासम्म कान्तिपथबाटै सवारी सञ्चालन गर्न पाउनुपर्ने उहाँको भनाइ छ । लामो समयदेखि व्यवसायीले बसपार्कका लागि पहल गरे पनि आवश्यक जग्गा नहुँदा अहिले अस्थायी रुपमा सोह्रखुट्टेको सडकमा उक्त बसपार्क सारिएको हो ।


Facebook Comment


No ads found for this position