अफसिजनमै उल्लेख्य पर्यटक, जुनमा कुन क्षेत्रबाट कति पर्यटक ?

२८ वैशाखमा दुईदिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको अवसरमा नेपालका महत्वपूर्ण धार्मिक गन्तव्यको पर्याप्त प्रचार भयो । भारतीय सञ्चारमाध्यममा जनकपुरदेखि पशुपतिनाथ हुँदै मुक्तिनाथसम्मका धार्मिक गन्तव्यका फोटो र भिडियो छाए ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको प्रभाव नेपालको पर्यटनमा देखिन थालेको छ । जुलाई २०१८ (असार–साउन)मा भारतबाट हवाईमार्ग हुँदै आउने पर्यटकको संख्या ८० प्रतिशतले बढेको छ । यस महिनामा १८ हजार ३ सय ८५ भारतीय पर्यटक नेपाल भ्रमणका लागि भित्रिएको तथ्यांक छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१७ को जुलाईमा १० हजार १ सय ९३ भारतीय पर्यटक नेपाल आएका थिए ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले सकारात्मक प्रचार हुँदा पर्यटक आगमन बढेको नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी बताउँछन् । ‘हामीले विगत दुई वर्षदेखि अफसिजनलाई केन्द्रित बनाएर गरिरहेको प्रवद्र्धनको योगदान छँदै छ,’ उनी भन्छन्, ‘त्यसमाथि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको सकारात्मक प्रभाव भारतीय पर्यटकमा देखिन्छ ।’

अफसिजनमै उल्लेख्य पर्यटक
जुलाई (असार–साउन), नेपालमा पर्यटक आगमनका दृष्टिकोणबाट अफसिजन मानिन्छ । तर, यस महिनामा मात्र ७३ हजार २ सय ८५ पर्यटक नेपाल भित्रिए । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७३.५ प्रतिशत बढी हो । जुलाई २०१७ मा ४२ हजार २ सय ४० पर्यटकले नेपाल भम्रण गरेका थिए । यस महिनामा भारतबाट १८ हजार ३ सय ८५ र चीनबाट १३ हजार १ सय २३ पर्यटक नेपाल आए । भारत र चीनकेन्द्रित बजारीकरण, अफसिजनकेन्द्रित पर्यटकीय प्याकेज र भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीको चीन भ्रमणले पर्यटक बढाउन ठूलो भूमिका खेलेको सिइओ जोशीले बताए ।

सन् २०१८ जुनमा कुन क्षेत्रबाट कति पर्यटक ?
-सार्क : २१६४९ (६६.१ प्रतिशत वृद्धि)
-एसिया (सार्कबाहेक) : २००८२ (८६.२ प्रतिशत वृद्धि)
-युरोप : १४६८९ (५४.१ प्रतिशत वृद्धि)
-ओसियाना : १९४६ (१०९ प्रतिशत वृद्धि)
-अमेरिकी राष्ट्र : ७८७८ (७८.८ प्रतिशत वृद्धि)
-अन्य : ७०४१ (९८.४ प्रतिशत कमी)
-कुल : ७३२८५ (७३.५ प्रतिशत वृद्धि)


Facebook Comment


No ads found for this position