अन्नपूर्ण आधार शिविरमा हुने सेन्चुरी पर्यटन महोत्सवको तयारी पूरा

 

पोखरा, २१ असोज : अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि यही असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

तीन चरणको महोत्सव कार्यक्रमअन्तर्गत पहिलो चरणमा असोज २५ गते अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमालका आरोही फ्रान्सेली नागरिक मोरिस हर्जोगको शालिक शिलान्यासका साथै अन्य विविध कार्यक्रम गरिने महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा आउने आगन्तुकलाई लक्ष्य गरी अन्नपूर्ण पदमार्ग क्षेत्रमा परम्परागत होटल तथा व्यवसायको इतिहास झल्कने खालका अस्थायी आवास निर्माण गरिएको स्थानीय व्यवस्थापन उप समितिका संयोजक जगनरास गुरुङले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनी, सांसदहरू, मन्त्रालयका उच्च पदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति रहने महोत्सव मूल समारोह समितिका महासचिव दिलीप गुरुङले बताउनुभयो ।

महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीका अनुसार महोत्सवमा सहभागी हुन आइतबारदेखि तीन दिनको पदयात्रासहित अन्नपूर्ण आधार शिविरमा पुग्ने र सो टोली २८ गते पोखरा फर्कने कार्यक्रम छ ।


Facebook Comment


No ads found for this position