अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान दोब्बर

अच्युत पुरी , काठमाडौं, भदौ   |  अन्तर्राष्ट्रिय उडानतर्फ पछिल्लो तीन वर्षमा नेपाल एयरलाइन्स चढ्ने यात्रुको संख्या झन्डै दोब्बर बढेको छ । नेपाल वायुसेवा निगमको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३÷७४ मा नेपाल एयरलाइन्स चढ्ने यात्रुको संख्या ४ लाख २१ हजार ९ सय २७ जना पुगेका छन् । निगमका अनुसार आव ०७१÷७२ मा २ लाख १९ हजार ९ सय ७६ जना यात्रुले निगममार्फत सेवा लिएका थिए । निगमले माघ ०७१ मा एउटा र वैशाख ०७२ मा दोस्रो एयरबस ३२० जहाज थप्नुअगाडि केवल दुईवटा बोइङ जहाजबाट मात्र सेवा दिइरहेको थियो । एकै आवमा दुई जहाजमार्फत ३ सय १६ वटा सिट थपिएपछि निगमको यात्रु संख्यामा गुणात्मक वृद्धि देखिएको निगमका अधिकारीहरू बताउँछन् ।

दैनिक ११५६ यात्रुले चढे नेवानि
आव ०७३-७४ मा औसत दैनिक १ हजार १ सय ५६ जना यात्रुले अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल वायुसेवा निगम चढेको तथ्यांक छ । तीन वर्षअगाडि दैनिक ६ सय २ जना यात्रुले मात्र दैनिक नेवानि चढ्ने गरेको तथ्यांक छ ।

कमजोर आन्तरिक उडान
निगमस“ग अन्तर्राष्ट्रिय उडानको तुलनामा आन्तरिकतर्फ बढी जहाज छन् । तर, त्यसको प्रदर्शन भने निराशाजनक देखिएको छ । तथ्यांकअनुसार निगमले आव ०७३-७४ मा ६९ हजार ६ सय ७८ जना यात्रु बोकेको छ । यसअनुसार दैनिक औसत केवल १ सय ९१ जना यात्रुले मात्र निगमको जहाज चढेका छन् ।

पुनः खुम्चियो निगमको उडान
गत आवमा उत्साहजनक रूपमा बढेको निगमको यात्रु संख्या आव ०७४-७५ मा भने सोही रफ्तारमा जान नसकेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार स्वीकार गर्छन् । निगमले विगत एक महिनायता अन्तर्राष्ट्रिय उडानमा दुईवटा एयरबस ३२० जहाज मात्र उडाइरहेको छ ।

निगमले लिलामी प्रक्रियामा लगेको एउटा बोइङ ७५७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको डेढ वर्ष पुगिसकेको छ भने अर्को बोइङ ७५७ नियमित मर्मत–सम्भारका क्रममा अहिले सिंगापुरमा छ । बोइङ मर्मतमा पठाउनुअघि भुटान एयरको जहाज भाडामा लिएर पूर्वनिर्धारित गन्तव्यमा उडाउने योजना कानुनी प्रक्रियाका कारण असफल भएपछि निगमले उडान कटौती गरी सेवा खुम्च्याएको छ ।

मर्मतमा लगेको जहाज २२ भदौमा फर्काइने
१ साउनअगाडि नै सी–चेक (बृहत् मर्मत)का सिलसिलामा सिंगापुर लगिएको जहाज भदौ दोस्रो साता फिर्ता गरिसक्ने योजना थियो । तर, मर्मतमा केही समय लाग्ने भएपछि अझ ढिला मात्र जहाज काठमाडौं फिर्ता हुने महाप्रबन्धक कंसाकारले बताए । उनका अनुसार पछिल्लो योजनाअनुसार ७ सेप्टेम्बर (२२ भदौ)मा मात्र उक्त जहाज मर्मत सकेर स्वदेश फर्काइनेछ ।


Facebook Comment


No ads found for this position