‘अतिथि देवो भव’ अभियानको सान्दर्भिकता

कृष्ण अधिकारी ,पूर्वीय संस्कृतिमा अतिथिलाई भगवान्को रूप मानिन्छ । त्यसैले नेपालमा अतिथिको सत्कार गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ । नेपालको पर्यटनको आधार पनि यही हो । यसै मान्यतालाई आत्मसात् गर्दै गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘अतिथि देवो भव’ अभियान सुरु गरेको छ ।

नेपाल प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक रूपमा धनी छ । साहसिक र धार्मिक पर्यटनका हिसाबले पनि विश्वमै मुख्य गन्तव्य हो । तर, पर्यटन पूर्वाधार विकास नहुनु, राजनीतिक सङ्क्रमण लम्बिनु, गत वर्ष गएको भूकम्पका कारण सांस्कृतिक र पर्यटकीय पूर्वाधारमा क्षति पुग्नुजस्ता कारणले पर्यटन आगमन, बसाइ र उनीहरूले गर्ने खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । यस्तो अवस्थामा अभियानले नेपालका पर्यटकीय क्षेत्रको पहिचान गरेर प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकीय गतिविधि बढाउन मद्दत गर्नेछ ।

नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु आवश्यक छ । नेपालभित्र राष्ट्रिय स्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरूकता ल्याई एनआरएनका ७५ देशका एनसीसी अध्यक्षलाई ‘गुडविल एम्बास्डर’ बनाई अभियान चलाउन आँटिएको छ ।

नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउन र अरूलाई पनि भ्रमणका लागि सिफारिस गर्न प्रेरित गर्न आवश्यक छ । विदेशमा बस्ने एउटा नेपालीले तीन जना विदेशीलाई नेपाल जान प्रेरित गर्ने हो भने पर्यटकको संख्या उल्लेख्य बढ्नेछ ।

हाल करिब ४० लाख नेपाली विश्वका विभिन्न देशमा बसोबास गर्छन् । तीमध्ये २ लाखले मात्रै तीन जनाको दरले पर्यटक नेपाल पठाए भने ६ लाख थप पर्यटक भित्रिने अवस्था छ । एनआरएनले विभिन्न देशमा नेपाल फेस्टिबल, बुद्ध नेपाल र सगरमाथा दिवस मनाएर यो लक्ष्यमा सहयोग पु-याउने नीति लिएको छ ।

यस अभियानमार्फत नेपाल आउने पर्यटकको पहिचानका लागि ‘अतिथि देवो भव’ अंकित विशेष लोगो (प्रतीक चिह्न) लगाएर पठाइने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० भाषामा अनुवादन हुने आइप्याड राखेर भाषागत कठिनाइको समाधान गर्ने तयारी छ । विमानस्थलदेखि होटल, पदयात्रा मार्ग, सम्पदा क्षेत्र तथा किनमेल केन्द्रहरूमा समेत पर्यटकप्रति सकारात्मक व्यवहार गर्ने तथा मुस्कानसहितको सेवा दिनु जरुरी छ ।

चौधौँ योजनामा पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसरमा वृद्धि गरी गरिबी न्यूनीकरण गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउन पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको छ । छिमेकी मुलुकहरूको मध्यम आय भएको ठूलो जनसङ्ख्या र उच्च आर्थिक वृद्धिबाट सिर्जित अवसरबाट लाभ प्राप्त गरी नेपालमा पर्यटन आगमन द्रुततर रूपमा वृद्धि हुने राम्रो सम्भावना छ ।

विगतमा सरकारले पर्यटन क्षेत्रको विकासका लागि गरेको प्रयासस्वरूप पर्यटन आगमन सङ्ख्या आव ०७२÷७३ मा ७ लाख १० हजार र पर्यटकको बसाइ अवधि करिब १२.४ दिन र विदेशी मुद्रा आर्जन वार्षिक ४९.८ करोड अमेरिकी डलर पुगेको छ ।

यो पृष्ठभूमिमा ‘अतिथि देवो भव’ अभियानअन्तर्गत तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडौँ, पोखरा र लुम्बिनीमा एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको छ ।

विदेशबाट पर्यटक पठाएर मात्रै हुँदैन, उनीहरूलाई राम्रो आतिथ्य दिनुपर्छ । स्वागत सत्कार राम्रो भयो भने मात्र पर्यटक दोहो¥याएर आउँछन् ।नेपालबाट फर्केर आफ्नो देश जाँदा उनीहरूले आफन्तजन, साथीभाइलाई पनि सकारात्मक सन्देश दिने भएकाले भविष्यमा पर्यटकको संख्या बढाउन सकिन्छ । पछिल्लो समयमा नेपालमा भूकम्पअघि जस्तै पर्यटकको आगमन छ ।

सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरिसकेको छ । सो वर्ष १० लाख पर्यटक भित्राउन सरकारको लक्ष्यलाई पूरा गर्न पनि अतिथि देवो भव अभियानमार्फत अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धनात्मक कार्यक्रमका साथ लैजानुपर्ने हुन्छ ।

सन् २०१५ मा नेपालमा हवाई मार्गबाट ५ लाख ८५ हजार ९ सय ६४ जना पर्यटकको आगमन भएको थियो । यो सन् २०१४ को दाँजोमा थोरै कम हो । २०१४ मा ५ लाख ८५ हजार ९ सय ८१ विदेशी पर्यटक हवाई रुटबाट नेपाल आएका थिए ।

सरकारले पर्यटन उद्योगलाई कृषि र जलविद्युत्पछि तेस्रो तहमा राखे पनि अत्यन्त न्यून बजेट विनियोजन गरेको छ । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सहकार्यमा प्रवद्र्धन नगरेसम्म सरकारी प्रयासले मात्र यो मुख्य क्षेत्र बन्न सम्भव छैन । निजी क्षेत्रले नेपालको पर्यटनलाई जस्तोसुकै अवस्थामा पनि धान्दै आएको छ ।

विनाशकारी भूकम्प तथा त्यसपछिका परकम्पबाट क्षतिग्रस्त पर्यटकीय गन्तव्य तथा पुरात्विक सम्पदाहरूलाई पुनर्निर्माण गरी पहिलेको अवस्थामा पुनःस्थापन गर्दै पर्यटन क्षेत्रलाई पूर्वावस्थामा फर्काउनु जरुरी छ ।

भूकम्प तथा आपूर्ति अवरोधबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई प्रवद्र्धन तथा बजारीकरणका माध्यमबाट निराकरण गर्न पनि यस अभियानले सहयोग पुग्छ ।

नेपालको नेचर, कल्चर र एड्भेन्चरको परिचय दिँदै अतिथि देवो भव भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियानको सान्दर्भिकता रहेको छ । पर्यटकीय सम्पदाले मात्र होइन, सत्कारमा पनि नेपाल अगाडि छ भनेर देखाउन तथा आफ्नो संस्कृतिका रूपमा रहेको अतिथि देवो भवलाई बाह्य देशमा चरितार्थ गर्न पनि अभियानको महत्व रहेको छ ।


Facebook Comment


No ads found for this position