२० वर्ष चीन बसेर मैले देखेको नेपाल

0

डा. राजीव झा, चिकित्सा वैज्ञानिक  

‘चाइना–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ यो उनको परिचय परिचय होइन, चीनको सियानस्थित मेडिकल युनिभर्सिटीले स्थापना गरिदिएको अनुसन्धान केन्द्र हो । धनुषा परवाहका स्थायी बासिन्दा डा. राजीवकुमार झा उक्त सेन्टरका प्रमुखका रूपमा चीनमा काम गरिरहेका छन् । अध्ययन र नोकरीका २० वर्षमा चीन रहँदा उनले चिनियाँ संस्कृति, शिक्षा र जनजीवन नजिकबाट बुझे, त्यहाँ घुलमिल भए । तर, उनको मन त्यता अडिएको छैन, त्यहाँ काम गरिरहँदा दिमागमा नेपाल आइरहन्छ ।

लामो समय विदेश बसेर हेर्दा नेपाल कस्तो देखिन्छ ? तपाईंजस्ता विज्ञहरू नेपाल बस्न किन चाहँदैनन् ? नेपालबाहिर रहेका नेपाली विज्ञलाई आकर्षित गर्ने सूत्र वा जादु केही छैन ? नेपाली चिकित्सा वैज्ञानिक डा. झा मेरो प्रश्न सुनेर गम्भीर भए । ‘पहिलो प्रश्नको उत्तर दिऊँ, म अहिले धेरै त भन्दिन, तर संसारमा स्विट्जरल्यान्डपछि सम्भावना बोकेको देश नेपाल मात्रै हो,’ केही दिनअघिको कफी गफमा डा. झाले भने, ‘पर्यटन, मेडिकल टुरिज्म, रिटायर्ड लाइफ टुरिज्म, खनिजपदार्थ नेपालमा प्रशस्त छन्, सम्भावना प्रचुर छ, यसमा अनुसन्धान नभएको मात्रै हो ।’   डा. राजीवलाई लागेको छ, हामीकहाँ तीन हजार फिटदेखि आठ हजार आठ सय ४८ मिटरसम्मका जडीबुटीमाथि अनुसन्धान भएको छैन, त्यसको उपयोग त कताकता ! ‘प्रकृतिले यति धेरै देन दिएको छ, तर हामी सतीले सरापेको देश भनिरहेका छौँ’ राजीवले निष्कर्षकै शैलीमा सुनाए, ‘हामीले सुदुपयोग गर्न नसकेका हौँ । नेपालमा शासक र प्रशासक वर्गलाई यसले छोएको छैन ।’

चीन र भारतबाट पर्यटक भिœयाउने नेपालको महत्वाकांक्षी योजनाको जानकार छन् उनी, तर योजना र अनुसन्धानविना पर्यटक ल्याएर केही हुनेवाला छैन भन्ने उनलाई लागेको छ । ‘बाहिरबाट पर्यटक एक लाख होइन, करोड ल्याऊँ न, तर के आधारमा ल्याउने ? केका लागि ल्याउने ? आफूसँग केही तयारी हुनुपरेन ?’ उनी प्रश्न गर्छन्, ‘हावाको तालमा भनिदिएर पर्यटक आउँछन् ? केही नगरी नेपाली माटोमा डलर फल्छ ?’

‘बाहिर बसेका विज्ञले आलोचना मात्रै गर्ने कि देशको हितमा विज्ञता प्रयोग पनि गर्ने ?’ प्रश्न खस्न नपाउँदै राजीवले उत्तर दिए, ‘नेपालमा योग्य र विज्ञहरूलाई राख्ने, बाहिरकालाई बोलाउने र काम दिने कहाँ योजना र स्किम छ ? राम्रो अवसर पाए को बाहिर बस्छ ?’ अनुसन्धानात्मक काम गर्ने क्षेत्र, अवधारणा र अवसर सिर्जना नभएको उनको निष्कर्ष छ र यो अवस्थामा बाहिरबाट विज्ञ आउने कुनै सम्भावना उनी देख्दैनन् । ‘बाहिरबाट आउने कुरा नगर्नुस्,’ उनले एउटा प्रसंग सुनाए, ‘मेरा काठमाडौंका साथीहरूलाई तपाईंको छोरा के गर्दै छ भनेर सोध्दा उनीहरूको जवाफ सुनिरहेको छु– अमेरिका, अस्ट्रेलिया छ वा जाने तयारी गर्दै छ । भएकाहरूलाई राख्न सक्नुहुन्न, त्यो अवसर सिर्जना गर्नुहुन्न, बाहिर बसेका मानिसलाई कहाँ ल्याउनुहुन्छ ?’

डा. राजीवलाई नेपालमा सबैभन्दा खड्किएको विषय रहेछ, ‘डाक्टरहरू अनुसन्धानमा लागेनन् । मेडिकल क्षेत्रका धेरै मानिस अनुसन्धानमा रुचि राख्छन्, तर उनीहरू बाध्यताबस बिरामीको उपचारमा व्यस्त छन् । अनुसन्धानमा पैसा पनि छैन, प्राथमिकता पनि छैन । यहाँ बसेकाहरू कि त विज्ञता खुम्च्याइरहेका छन् कि विज्ञता सदुपयोग गर्न बाहिर गइरहेका छन् ।’
चीनले राम्रो आर्थिक र प्राज्ञिक अवसर सिर्जना गरेर बाहिर भएका चिनियाँलाई स्वदेश फर्काइरहेको देख्दा डा. राजीव झस्किन्छन् । ‘पहिला पलायन भएर विदेश गएका राम्रा मानिसलाई चीनले धमाधम घर फर्काइरहेको छ । बाहिर पाएको भन्दा बढी अवसर र पैसा पाएपछि मानिसहरू चीन फर्केर देशको सेवा गरिरहेका छन्,’ उनले देखेका छन्, ‘हन्ड्रेड ट्यालेन्ट प्लान, थाउजेन्ड ट्यालेन्ट प्लानका नाममा मानिसहरू फर्काइरहेको छ चीन । हामीकहाँ रिसर्चमा लाग्न चाहने मानिसलाई ठाउँ छैन, अनि पढेका पनि बाहिर गइरहेका छन्, बाहिरै बसेर पढेकाहरू त झन् फर्किने अवस्था नै छैन ।’ पञ्चायतका पालामा विज्ञहरू बाहिरबाट ल्याइएका दृष्टान्त दिइरहेका छन्, उनी ।

पर्शुराम काफ्ले

डा. राजीवले नजिकबाट देखेका छन्– चीनले रिसर्च सेन्टरका लागि जग्गा दिएको छ, भवन बनाइदिएको छ । ‘ब्रेन मात्रै बाहिरबाट आउँछ, सबै कुरा सरकारले उपलब्ध गराइदिन्छ,’ उनी यहाँको सन्दर्भमा तिक्तता पोख्छन्, ‘हामीकहाँ कुरा मात्रै ठूला हुन्छन्, रिसर्चमा केही काम भएको छैन । विज्ञान प्रविधिमा यो गर्ने, औद्योगिक क्षेत्रमा यो गर्ने, मेडिकल क्षेत्रमा यो गर्ने भन्ने कुनै योनजा छैन ।’ संसारमा अहिले अनुसन्धान र अन्वेषणमा ठूलो लगानी भइरहेको सन्दर्भ नेपालले कहिले थाहा पाउला ? डा. राजीव यकिनसाथ भन्न सक्दैनन् । तर, उनलाई लागेको छ, ‘नेपाल यसरी अघि बढ्न सक्दैन ।’
०००
‘अनुसन्धान र अन्वेषणमा काम नहुनुमा सरकार मात्रै दोषी हो त ? राजनीतिक वातावरण मात्रै नभएको हो ? अनुसन्धान गर्छौं भन्नेहरू इमानदार छन् ?’  डा. राजीव अलिकति नरम भए । भने, ‘यहाँ कुन निकायले कति रिसर्च गर्‍यो ? मेडिकल सेन्टरबाट अन्तर्राष्ट्रिय जर्नलमा कति रिसर्च आर्टिकल प्रकाशित भए भन्ने कुरा अनुगमन हुँदो रहेनछ । एउटा व्यापारीले कर तिर्दैन भन्ने कुराको हामी खोजीनिती गर्छौं । तर, रिसर्च किन भएन भनेर हामी खोजीनिती गर्दैनौँ । हामी पनि दोषी छौँ ।’ राजीवको अनुभवमा नेपालमा एनजिओ र आइएनजिओ रिसर्चका नाममा खर्च गरिरहेका छन्, तर सिन्को भाँचिएको छैन ।  ‘एनजिओवालाहरू गाउँमा गएर एड्स दिवसमा कन्डम बाँडिरहेका छन् । यही हो त रिसर्च ?’ डा. राजीव प्रश्न गर्छन्, ‘क्यान्सर रिसर्चका नाममा मानिसहरू गाउँ जान्छन्, तर काम होइन, एड्भोकेसी गर्छन् । त्यस्तालाई सरकारले ठाउँ दिइरहेको छ, अनि देश सप्रिन्छ ?’
०००
डा. राजीवको नजरमा विदेशमा बसेर पलाएन भएका, अर्कै देशको नागरिक भएका र नेपाली नागरिकका हैसियतमा काम गरिरहेकालाई एउटै चस्माबाट हेर्नु न्यायोचित हुँदैन । ‘विदेशी राहदानी लिएकाहरूको निराशाको कुरा नगरौँ । हाम्रा मानिसका बारेमा चिन्ता गरौँ,’ उनको सुझाब छ, ‘बाहिर बसेका नेपाली नागरिकलाई बोलाऊँ, विज्ञताको सम्भाव्यता अध्ययन गरौँ । अनुसन्धाता र वैज्ञानिकलाई विशेष प्राथमिकता दिऊँ । प्राथमिकता र सम्मान गरौँ ।’ तर, यसमा उनको अर्को प्रश्न छ, ‘बाहिर बसेका विज्ञलाई हाइस्कुलको शिक्षकको तहमा पनि राख्दैनौँ अनि किन आउँछ विज्ञ ? नेपालमा पिएचडी एसोसिएसनको कार्यक्रममा उच्चपदस्थ भनिएका मानिस जाँदैनन् किन ?’ यसको उत्तर कसले देला, थाहा छैन ।
‘सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर छ भने समुद्री सतह जिरो मिटर । नेपालमा अपवादलाई छाड्ने हो भने राजनीतिक नेता र विज्ञको दूरी सगरमाथाको उचाइजत्तिकै छ,’ नेता र विज्ञको दूरी नाप्न थाले डा. राजीव, ‘हामीहरू नेतालाई जिरो तहमा हेर्छौं, नेताहरूले हामीलाई त्यही रूपमा हेर्नुहुन्छ । दुई शब्द बोल्न नसक्नेहरू केका नेता भन्ने हामीलाई लाग्छ । देश चलाउने हामी, यी विज्ञको के हैसियत छ भन्ने नेताहरू ठान्छन् ।’ अरूझैँ नेतालाई आलोचना गर्न उनले बाँकी राखेनन् । ‘सरुवा, बढुवा, ठेक्का नियुक्ति, सदरबदरमा सीमित छन् नेताहरू । सीमित विज्ञहरू छन्, जो दलका कार्यकर्ता भइरहेका छन्,’ नेपाली विज्ञप्रति डा. राजीवले तीर हाने, ‘विज्ञहरूमा देश र अनुसन्धानभन्दा पनि पार्टीप्रति निष्ठा धेरै पाउँछु । नभए डाक्टर भनाउँदाहरू शासनमा पुग्दा विज्ञान र अनुसन्धानमा केही गर्न सक्नुहुन्थ्यो नि ! विज्ञहरू पनि राजनीतिज्ञ भइदिएका छन् नेपालमा । मैले बडो विडम्बनाका रूपमा यो देखिरहेको छु ।’ उनको निष्कर्ष छ कि, विज्ञहरू दबाब र अभावमा बाटो बिराइरहेका छन् । नेताहरूको पनि हालत यही छ ।
०००
एक घण्टाको कफीगफको अन्तिममा मैले सोधेँ, ‘विज्ञहरूको सोचचाहिँ सही छ त ? ‘बिल्कुलै छैन,’ उनले बिट मार्न खोजे, ‘हामीकहाँ चारजना मानिस बसेर चिया खाएको ठाउँमा राजनीतिको मात्रै गफ हुन्छ, कुनै काम गर्दा पारि रिसाउँछ भनिन्छ । वारि र पारि भनेको म बुझ्दिनँ । हामीमा के कमजोरी छ ? हामी आफैँसँग किन कुन्ठित ? कसको हामीले के बिगारेका छौँ ? वारि र पारिको भूतले गर्दा हाम्रो विकास हुन सकेको छैन ।’

डा. राजीव रोकिएनन् । ‘संसारमा जेजस्तो राजनीति भए पनि नेपालमा त्यसले काम गर्दैन । मलाई चिनियाँ साथीहरू भन्छन्, नेपालमा राजनीति गर्ने मानिसले संसार हाँक्न सक्छ, किनभने नेपालको राजनीति बडो जटिल छ,’ उनको भनाइ थियो, ‘तर यथार्थमा हामी घेराबन्दीमा छौँ, हामी नियन्त्रित मानसिकतामा छौँ । यहाँका नदीनाला, सगरमाथा यहीँ थिए, मानिस मात्रै बाहिरबाट आएको वा जन्मेको हो । यसमाथि राजनीति नगरौँ । सबैको समान अधिकार स्थापित छ, यसमा काहीँ, कतै समस्या छैन ।’  ‘यो पनि सुन्नुस्,’ एकछिन रोकेर उनले भने, ‘मेरो अनुभवमा चीनले नेपालमा भारतलाई प्रतिस्पर्धी ठान्दैन, बरु अमेरिकालाई त्यो ठान्छ । तर, भारतीयहरू चीनलाई होइन, नेपाललाई नै प्रतिस्पर्धी ठान्दा रहेछन् । हामी त्यही चंगुलमा फसिरहेका छौँ । नेपाल सिरिया र इथियोपिया नहोस् है !’साभार नयाँपत्रिका

Comments